पोखरा। पोखराको लेकसाइड क्षेत्र २४ सैं घण्टा खुल्ला राख्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ। योसँगै अब त्यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरु २४ सैं घण्टा खोल्न बाटो खुलेको छ।
बुधबार मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले अन्तरिम आदेशसमेतको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर निवेदन दिएकी थिइन।
अदालतले यसमा के कसो भएको हो? निवेदकको मागअनुसारको आदेश किन जारी हुनु नपर्ने हो? निवेदकको निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीका नाममा आदेश जारी गरेको छ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए। निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको हो।