काठमाडौं। १ सय ७० किलोमिटर दुरीकाे 'मञ्जुश्री ट्रेल रेस' कात्तिक २४ देखि २६ सम्म आयोजना हुने भएको छ। सात वर्षअघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो।
२४ गते बिहान ६ बजे काठमाडौं दहचोकस्थित कालु पाँडेबाट १ सय ७० किलोमिटर दुरीकाे दौड सुरू हुनेछ। यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको दाबी छ।
मञ्जुश्री ट्रेल रेसअन्तर्गत नै लामो दुरीमा सहभागी हुन अनुकूल नहुने सहभागीका लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीनवटा रेस हुनेछ। सबै दौड दहचोकस्थित कालु पाँडे स्मारकमै पुगेर सकिनेछन्।
गैरनाफामूलक संस्था मञ्जुश्री ट्रेल रेसले ट्रेलमान्डुकाे सहकार्यमा कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए। कार्यक्रम व्यवस्थापनमा आयोजक समितिका पदाधिकारीसहित ५० स्वयंसेवक खटिने छन्।
आयोजकका अनुसार १ सय ७० किलोमिटर दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्यान्डमा आयोजना हुने अल्ट्रा टुर मोन्टा रेस (युटिएमआर) मा सहभागी हुने अवसर पाउनेछन्। त्यसबेला उनीहरूको अर्थिकलगायत सम्पूर्ण व्यवस्थापन संयाेजन मञ्जुश्री ट्रेल रेसले गर्ने छ।
स्विजरल्यान्डमा आयोजना हुने युटिएमआर अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तराष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापा बताउँछन्।
विजेताले नगद र प्रमाणपत्रसहित एडभेन्चर गियर पुरस्कारस्वरूप प्राप्त गर्ने आयोजकले जनाएको छ।
रेसको गत वर्ष संस्करणमा ४२ नेपाली र ३१ विदेशी सहभागी थिए। त्यसबेला नेपालका अर्जुन राईले ३१ घन्टा १० मिनेट ५७ सेकेन्डमा रेस पूरा गरेर प्रथम भएका थिए।
कसरी सहभागी हुने?
आयोजकले दौडका लागि आह्वान सुरू गरिसकेको छ। अनलाइनमार्फत नेपाली एवं विदेशी धावकले आफूलाई इच्छा लागेको दौडका लागि आवेदन दिन सक्नेछन्। जसका लागि आयोजक संस्थाको आधिकारिक वेबसाइट (www.manjushreetrailrace.com) मार्फत आगामी बिहीबारसम्म आवेदन दिन सकिन्छ।
मञ्जुश्री ट्रेल रेसको इतिहास र विषेशता
विश्वचर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए। त्यसपछि उनीहरूले १०१६ मा यो रुट छिचोले। जिमी, राज प्रधान, नारायण आचार्यलगायतले पटक-पटक गरी ट्रेलको वैकल्पिक रुटसहित नक्साङ्कन गरेका थिए।
विभिन्न चरणमा विभिन्न व्यक्तित्वत्वको संलग्नतामा १ सय ७० किलोमिटर दुरीको यो रुट पूर्णरूपमा निर्धारण गर्न करिब तीन वर्ष लागेको थियो।
फ्रान्सस्थित विश्वभरिका ट्रेल रेस आयोजकको छाता संगठन इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापीरूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था युटिएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रियस्तरमा महत्वसाथ हेरिन्छ।
आइटिआरएको मापदण्डअनुसार मञ्जुश्री ट्रेल रेस पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ।
यसअघि केही सहभागीले २ दिनमा र केहीले ३ दिनमा दौड पूरा गर्ने गरेको थापाले जानकारी दिए। सुविधा सम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रुट अन्य मुलुकमा सायदै भएको आयोजकको भनाइ छ।
ट्रेल रेसको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मन्जुश्री ट्रेल रेस प्रतिष्ठित मानिन्छ। मञ्जुश्री काठमाडौंको ऐतिहासिकतासँग जोडिएको नाम हो। पहिले काठमाडौं उपत्यकामा रहेको पानीलाई मञ्जुश्रीले बगाएर बस्न योग्य बनाएको किम्वदन्ती छ।
मन्जुश्री ट्रेल रेसको रुट काठमाडौं उपत्यकालाई घेरेका पहाडहरूको डाँडैडाँडा भएर अगाडि बढ्छ।
चोभार डाँडा काटेर मन्जुश्रीले काठमाडौं उपत्यका बनाउनअघि अवलोकन गर्दा हिँडेको बाटो अझ भनौं मन्जुश्रीको पदचाप पछ्याउँदै ट्रेल रेसको रुट बनाइएको छ।
आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट हुन्छन्। कालु पाँडे स्मारकबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिपले, गोर्जे भञ्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भञ्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाँडे स्मारकमा नै पुगेर पूरा हुन्छ।
मनमोहक दृश्यावलोकन, उपत्यकाका ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी साहसिक खेल पर्यटकका लागि आकर्षण बनेको छ। हिमालय शृङ्खला, काठमाडौं उपत्यका, जंगल, पहाड, गोरेटोका दृश्यावलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीमाझ लोकप्रिय बन्दै गएको छ।