काठमाडौं। एसियन ट्रेक्सका अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा क्षेत्रमा थप ५ वटा लक्जरी होटल निर्माण गर्ने भएका छन्।
बढ्दो पर्यटक संख्या मध्यनजर गरी साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) का लागि आउनेलाई लक्जरी सुविधा दिने उद्देश्यसाथ थप ५ होटल बनाउन लागिएको शेर्पाले जानकारी दिए।
होटल तथा रिसोर्टमा भने शेर्पाले एस्ट्रिक ग्रुपमार्फत लगानी विस्तार गरिरहेका छन्। एस्ट्रिकमार्फत सञ्चालित र सञ्चालनमा आउने सबै होटल तथा रिसोर्ट उनका छोरा दावास्टेभनले सम्हालिरहेका छन्।
पछिल्लो समय नेपाल भ्रमण गर्न आउने पर्यटकले लक्जरी होटल तथा रिसोर्ट खोजी गर्ने क्रम बढेकाले उनीहरूकै सुविधाका लागि ती होटल निर्माण गर्न लागिएकाे अध्यक्ष शेर्पाले जानकारी दिए।
शेर्पाले खुम्बु क्षेत्रमा मात्र अहिले ५ होटल सञ्चालन गरिरहेका छन्। ती होटलको पनि स्तरोन्नति गरेर एकै प्रकृतिको बनाउने काम समेत सुरु भइसकेको छ। ३० वर्षअघि नै निर्माण भएर सञ्चालनमा रहेका ती होटल पनि खुम्बु क्षेत्रका सबैभन्दा उत्कष्ट हुन्।
शेर्पाको प्रमुख लगानी रहेको ललितपुर लाकुरीभञ्ज्याङस्थित द टेरेसेस रिसोर्ट लक्जरी ब्रान्ड हो। यही प्रकृतिको सुविधासम्पन्न होटल खुम्बु क्षेत्रमा जाने पर्यटकलाई उपलब्ध गराउन भन्दै शेर्पाले केही वर्ष अघिदेखि नै तेङ्बोचे र फाक्दिङमा होटल निर्माण गरिरहेका छन्।
दुवै ठाउँको होटल एक वर्षभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउने हिसाबमा काम अगाडि बढिरहेको शेर्पाले बताए। ती दुवै होटल प्रत्येकमा २८ कोठा हुनेछ।
सुरुमा हिमालयन इको चेन होटलका नाममा सञ्चालित होटलहरूका नामसमेत परिवर्तन गरी अहिले ‘हिमालय इको होटल’ बनाइ सञ्चालन तथा निर्माण भइरहेका छन्।
अझै पनि सगरमाथा क्षेत्र जाने पर्यटकलाई सुविधासम्पन्न होटल सुविधा दिन नसकिरहेको शेर्पा बताउँछन्। सगरमाथा आधार शिविरदेखि गोक्यो तालसम्म तीन नयाँ होटल निर्माण गर्ने तयारीमा आफू लागेको अध्यक्ष शेर्पाको भनाइ छ। ती तीन होटल भने ५ वर्षभित्र निर्माण सक्ने गरी सञ्चालन गर्ने योजना उनले बुनेका छन्।
‘जग्गा तयारी अवस्थामा छ, बैंकिङ प्रक्रिया पूरा भएपछि काम सुरु हुनेछ,’ अध्यक्ष शेर्पाले भने, ‘चेन होटलका रूपमा सबै ठाउँमा एकै किसिमको सुविधा दिने उद्देश्य हामीले लिएका छौं।’
उनका अनुसार जग्गासहित एउटा होटल निर्माणका लागि करिब १ अर्बहाराहारी लगानी हुनेछ। हिमाली क्षेत्रमा होटल खोल्नका लागि धेरै महँगो र दुःख हुने उनको अनुभव छ। ‘अहिले निर्माण भएका संरचना भविष्यमा बढाउन मिल्ने गरी बनाइएको छ,’ उनले भने, 'हामी लगानीकर्ता पनि खाेजिरहेका छाैं।'
शेर्पाको लगानीमा काठमाडौं चाबहिलमा आमादब्लम होटलसमेत सञ्चालनमा छ। योसहित निर्माण चरणमा रहेका दुई गरी पाँच वर्षभित्र १३ होटल शेर्पाको स्वामित्वमा हुनेछ।