काठमाडौं। चौधरी फाउन्डेसनले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य जारी राखेको छ।
फाउन्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावश्यक राहत सामाग्री वितरण गरिरहेको छ। फाउन्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको हो। फाउन्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको छ।
फाउन्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवश्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ।
तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहिन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’हरूको अत्यन्तै खाँचो छ।
भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहिन भएका भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्याउनु आवश्यक छ।
यो अवस्थालाई मध्यनजर गर्दै फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको छ। स्थानीय प्रशासन/स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन्।
यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तिय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ। स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन्। यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउन्डेसनको छ।
फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले भने– ‘भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ। उहाँहरूको पीडामा मल्हम लगाउने काममा हामीले कत्ति पनि विलम्ब गर्नु हुदैन।
यहि मर्मलाई आत्मसाथ गर्दै तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिन भएकालाई चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको छ। यस जिम्मेवारी वहनका लागि फाउन्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ ।’
पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौरजहारी नगरपालिकाबाट गर्ने सहमति भईसकेको फाउन्डेसनले जनाएको छ। कात्तिक २१ गते विहान चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको छ।
चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिव तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरेको थियो। साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो। क्षेत्रबाट साथ र समर्थन प्राप्त हुने विश्वास पनि हामीले लिएको फाउन्डेसनले जनाएको छ।