काठमाडौं। आठौं रियल इस्टेट एक्स्पो २०२३ आयोजना हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आउँदो पुस १२ देखि १५ गते सम्म एक्स्पो हुने भएको हो।
नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले यो रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो। संघले विगतमा सातवटा रियल इस्टेट एक्स्पो आयोजना गरेको थियो।
विगतमा प्रदर्शक, विज्ञापनदाता, आगन्तुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति र सहभागिताका कारण उत्साहित भएर यस प्रकारको एक्स्पो बारम्बार आयोजना गर्न प्रेरित भएको संघले जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह आयोजनामा र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालीको व्यवस्थापनमा यो आठौं एक्स्पो आयोजना हुन लागेको हो।
एक्स्पोमा करिब १ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ। नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको तथ्यलाई ध्यानमा राख्दै घरजग्गा विकासकर्ताहरूले सरकारको नीति तथा प्रचलित कानून बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास र जग्गा विकासको माध्यमबाट योजनाबद्ध सहरीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको संघले जनाएको छ।
यो आठौं रियल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुने आयोजकले जनाएको छ।
एक्स्पोमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्नेछन् र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरु बारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् भन्ने संघको विश्वास छ।
नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भएता पनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र जस्तै व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बिमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुने आयोजकले जनाएको छ।
एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश हुने छन्। एक्स्पोमा इच्छुक उद्यमीहरुको चाहना बमोजिमका सेवाहरु पनि उपलब्ध गराइनेछ।
मुख्यतः यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरीदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलीकरण तथा पुनः निर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरुका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिसियन तथा लाईटिङ व्यवसायीहरु र अन्य सेवा प्रदायकहरूका लागि साझा मन्च हुने आयोजक विश्वास छ।
यसैगरी एक्स्पोले सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह र नियामक निकायका सरकारी प्रतिनिधिहरुका साथै रियल इस्टेट क्षेत्रका महत्वपूर्ण सरोकारवालाहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।
त्यसैगरी यस एक्स्पोमा उपभोक्ताले आफ्नो छनोटअनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त हुनुका साथै घरजग्गालाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन यो एक्स्पो निकै उपयोगी हुने आयोजकले जनाएको छ।
साथै यस एक्स्पोले व्यवस्थित आवास तथा जग्गा विकासको प्रवर्धनका लागि उत्प्रेरित गर्दै आधुनिक, दिगो एवं व्यवस्थित मानव बस्ती र सहरीकरणको विकासमा थप योगदान पुर्याउने आयोजकको विश्वास छ।