काठमाडौं। घट्टेकुलोस्थित अधिकारी मसला उद्योगका सञ्चालक विवेक अधिकारीलाई तिहारको चटारो सुरु भइसक्यो।
तिहारमा ‘भाइ मसला’ को अत्यधिक माग हुने भएकाले उनले थोक (होलसेल) बाट सामान झार्न थालिसके।
यो तिहारलाई उनी काजु, किस्मिस, बदाम, ओखरलगायत भाइमसलाको मूल्यबाट सन्तुष्ट छन्। गत वर्षको तुलनामा यसपालि भाउ खासै नबढेको उनको भनाइ छ।
‘केहीमा थोरै बढेको छ भने केहीमा घटेको पनि छ। समग्रमा हेर्दा यसलाई धेरै बढेको भन्न मिल्दैन,’ उनले भने। यसपालि मूल्यमा खासै वृद्धि नभएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए।
‘पोहोर किलोको ६ हजार परेको सुकुमेल यसपालि २८ सय छ। काजुलगायत केही मसलामा थोरै बढेको छ,’ उनले भने, ‘त्यसकारण यसपालि मसलाको मूल्य बढ्यो भन्न मिल्दैन।’
सामान्यतया तिहारको मसला महँगै हुने भएकाले सस्तो पायो भन्दैमा किन्न नहुने तुलाधरको सुझाव छ। ‘कतिपय सिजनेबल व्यापारीले अखाद्य वस्तुलाई पनि प्याकिङ गरेर बेचेको पाइयो। ग्राहकले पनि सस्तो पायो भन्दैमा किन्नु हुँदैन,’ उनले भने, ‘यदि शंका लागे सम्बन्धित ठाउँमा उजुरी दिनुपर्छ।’
व्यवसायीसँग पर्याप्त मसला भएकाले तिहारमा मसला अभाव नहुने खुद्रा व्यापार संघ अध्यक्ष पवित्र बज्राचार्यले बताए।
‘अहिले काजु, किसमिस, बदाम सामान्य भइसक्यो। तिहारबाहेक अरू समयमा पनि यसको माग उच्च छ। तिहारमा यसको धेरै माग हुने भएकाले व्यापारीले त्यहीअनुसार आयात गरिसके,’ उनले भने, ‘त्यसकारण तिहारमा मसला अभाव हुने सम्भावना निकै कम छ।’
भाइमसलामा प्रयोग हुने मसला करिब ९५ प्रतिशत आयात हुने उनले जानकारी दिए। व्यवसायीले मूल्य नबढेको भने पनि सामान्य उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्।
‘ल्वाङदेखि दालचिनीसम्मको भाउ बढेको छ। केही चिजको मूल्य ठिकै भए पनि धेरै आइटमको बढेको छ,’ उनले भने।
सरकारले विभिन्न आइटममा लगाएको आयात प्रतिबन्धका कारण पनि मूल्य बढेको उनले बताए। त्यस्तै चाडपर्वका समयमा केही व्यापारीले पुराना स्टक सामान कटाउने चलखेल गरिरहेको उनको आरोप छ।
‘यो समयमा नबिकेका सामान कोल्ड स्टोरमा राखेर खानेकुरा प्याकेजिङ गरी बिक्री वितरण गरेको पनि भेटियो,’ उनले भने, ‘यसले उपभोक्ता अधिकार हनन भएको छ। यो समस्या हटाउन सरकारले अनुगमन र नियमनमा ध्यान दिन जरुरी छ।’