लन्डन,एएफपी। र्यान एयरले भाडा दर र उच्च कारोबारका कारण पहिलो छ महिनामा खुद नाफा ७२ प्रतिशतले बढेको छ। राम्रो नाफा कमाएपपछि कम्पनीले सेयरधनीलाई नियमित लाभांश दिने घोषणा गरेको छ।
सस्तो सेवाका लागि नाम चलेको आयरल्याण्डको एयरलाइन्स, र्यान एयरले एक वक्तव्यजारी गर्दै भनेको छ, “सेप्टेम्बरको अन्त्यसम्मको छ महिनामा करपछिको नाफा २.२ अर्ब युरो (२.४ अर्ब डलर) पुगेको छ।”
डब्लिनमा मुख्यालय रहेको विमान सेवाले आफ्नो इतिहासमा पहिलो पटक नियमित लाभांश भुक्तानी सुरु गर्ने जनाएको छ।
कोभिड–१९ महामारीका कारण विश्वव्यापी रुपमा उडान बन्द भएको दशकको सुरुमा ठूलो नोक्सानी व्यहोरेको उड्डयन क्षेत्रले बलियो पुनरुत्थानको आनन्द लिइरहेको बेला यो कदम चालिएको हो।
र्यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले भने, “हामी ती सेयरधनीहरूलाई धन्यवाद दिन चाहन्छौं, जसले कोभिडको कठिन समयमा सहयोग गरेका छन्।”
क्यारियरले अर्को वर्षको फेब्रुअरी र सेप्टेम्बरमा दुई समान भुक्तानीमा फैलिएको ‘४० लाख यूरोको पहिलो साधारण लाभांश’ घोषणा गरेको छ।
आगामी वर्षहरूमा र्यान एयरले खुद नाफाको करिब २५ प्रतिशत लाभांश बाँड्ने अपेक्षा गरिएको छ।
धेरै प्रतिकुलताको बावजुद उच्च वार्षिक नाफाको अपेक्षाको साथ लाभांश घोषणा भएका छन्। यसले डब्लिनमा र्यान एयरको सेयर मूल्य १६.१२ यूरो अर्थात् छ प्रतिशत वृद्धि गर्न मद्दत गरेको छ।
र्यान एयरले यसअघि सन् २०२० सम्मको १२ वर्षको अवधिमा ६ अर्ब ७४ करोड यूरो बराबरको सेयर पुनःखरीद र तदर्थ लाभांश भुक्तानी गरिसकेको कम्पनीले एएफपीसँग बताएको छ।
ओलेरीले भने, “विमान कम्पनीको पूर्ण–वर्ष परिणाम अहिले र मार्चको अन्त्यसम्म यूक्रेन वा गाजा आक्रमणजस्ता ‘कुनै अप्रत्याशित प्रतिकूल घटनाहरूको अनुपस्थितिमा अत्यधिक निर्भर रहन्छ।”