काठमाडौं। बैंकरहरूले निष्क्रिय कर्जा थप नबढ्ने बताएका छन्। नेपाल बैकर्स संघले आयोजना गरेको छलफलमा अध्यक्ष सुनिल केसीले अब बैंकहरूको निष्क्रिय कर्जा नबढ्ने बताएका हुन्।
बैकर्स संघ अध्यक्ष केसीले अघिल्लो वर्षको तुलनामा पहिलोपटक बैंकहरूको नाफा घटेको बताए। उनका अनुसार निजी क्षेत्र सुस्ताउनुको प्रभाव बैंकिङमा परेको छ। केसीले बैंकहरूको निष्क्रिय कर्जा बढेर उच्च बिन्दुमा पुगेको र अब बिस्तारै व्यवस्थापन हुने बताए।
‘बैंकिङ क्षेत्रमा अघिल्लो वर्षको तुलनामा पहिलोपटक नाफा घटेको छ, खुद ब्याज आम्दानी बढेको छैन,’ केसीले भने, ‘अन्य शुल्क तथा आम्दानी करिब १ अर्ब रुपैयाँ बढेको छ।’ चालू आर्थिक वर्ष कात्तिक १७ सम्म वाणिज्य बैंकमा रहेको कुल निक्षेप १ खर्ब २० अर्ब तथा कर्जा प्रवाह ८४ अर्ब रुपैयाँ बढेको छ।
समग्र निजी क्षेत्रको व्यवसाय सुस्ताउँदा त्यसको प्रभाव बैंकमा देखिएको हो। वित्तीय विवरणअनुसार बैंकहरूको खराब कर्जाको हिस्सा ४.६१ प्रतिशत पुगेको छ।
‘खराब कर्जा बढ्नुको पृष्ठभूमि कोभिडको समय हो। हामीले कर्जालाई पुनर्संरचना गरेर ल्याएका थियौं, अब भने सजग भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ,’ केसीले भने।
उनका अनुसार बैंकहरूको लगानीमा विविधिकरण छ। पोर्टफोलियो डाइभर्सिफाइड हुँदा अहिले केही कर्जा डिफल्ट भए पनि खराब कर्जा नै हुने सम्भावना कम छ। ‘डिफल्ट कर्जामा अहिले प्रोभिजन गरेर जाँदा भोलि रिकभरीसँगै राइटब्याक हुनेछ,’ अध्यक्ष केसीले भने।
अर्थतन्त्र सुस्ताउनुको प्रभाव साना व्यावसायमा परेको भन्दै केसीले अहिलको निष्क्रिय कर्जाको समस्या व्यवस्थापन गर्न सकिने किसिमको रहेको बताए। उनले भने, ‘विस्तारै व्यवस्थापन गर्दै जाने हो।’
अन्य देशमा पनि ब्याजदर अहिले उच्च रहेको भन्दै केसीले ब्याजदर अब थप नबढ्ने बरू उल्टै घट्नै दाबी गरे। ‘असोजको भारित औसत ब्याजदर ९.९४ मा झरेको छ, तीन महिनाको औसत पनि १०.०९ मा आएको छ,’ केसीले भने।
अर्को प्रसंगमा केसीले जाजरकोट भूकम्पपीडितका लागि नेपाल बैंकर्स संघको आग्रहमा ५ करोड रुपैयाँभन्दा बढीको सहयोग गर्ने प्रतिबद्धता आइसकेको र थप आउने क्रममा रहेको जानकारी दिए।
यसैबीच नेपालमा पहिलोपल्ट एसियन बैंकिङ कन्फ्रेन्स आयोजना हुने भएको छ। एसियन बैंकर्स एसोसिएसनको आयोजनामा कात्तिक २३ र २४ मा सम्मेलन आयोजना हुन लागेको हो। ‘रोडम्याप, रिकभरी एन्ड सस्टेनेबल ग्रोथ’ थिममा कन्फ्रेन्स आयोजना हुन लागेको हो।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नेपालको अर्थतन्त्र दबाबमा रहेको बताए। सोहीकारण नेपाल राष्ट्र बैंक र बैंकहरूले कर्जा प्रवाहमा कडाइ गरेको उनको भनाइ छ। ‘बैंकहरूले जुन स्तरको लोन लस प्रोभिजन गरेका छन् र जुन स्तरको पुँजी कोष कायम गरेका छन्, त्यसले बैंकिङ क्षेत्र स्वस्थ नै रहेको संकेत गर्छ,’ राणाले भने।
आगामी दिनमा ब्याजदर स्थिर हुने तथा बढ्ने जोखिम नरहेको उनको भनाइ छ। निष्क्रिय कर्जाबारे उनले भने, ‘जति बढ्ने थियो बढ्यो, अब म्यानेज भएर जान्छ।’