काठमाडौं । वाणिज्य बैंकहरूको कुल प्रतिसेयर आम्दानी (इपिएस) २ सय ३५ रुपैयाँ १३ पैसाले घटेको छ।
गत आर्थिक वर्ष पहिलो त्रैमासको तुलनामा चालू आव सोही अवधिमा बैंकहरूको कुल इपिएस ४४.४५ प्रतिशतले घटेर २ सय ९३ रुपैयाँ ८५ पैसा कायम भएको हो। गत आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल इपिएस ५ सय २८ रुपैयाँ ९८ पैसा कायम थियो।
गत आव पहिलो त्रैमाससम्म वाणिज्य बैंक संख्या २७ थियो। एक वर्षमा ७ घटेर २० कायम भएका छन्। यसबीच मर्जर तथा प्राप्तिमा सहभागी भएर अस्तित्वमा नरहेका वाणिज्य बैंक घटाएर कुल इपिएसलाई तुलना गर्ने हो भने समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कुल इपिएस १ सय ६० रुपैयाँ ३३ पैसाले घटेको देखिन्छ।
२० वाणिज्य बैंकको इपिएसलाई गत आव पहिलो त्रैमास र चालू आव पहिलो त्रैमाससँग तुलना गर्दा इपिएस ३५.३० प्रतिशतले घटेको देखिन्छ।
गत आव पहिलो त्रैमासमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको औसात इपिएस १९ रुपैयाँ ५९ पैसा थियो। चालू आव सोही अवधिमा २० वाणिज्य बैंकको औसात इपिएस १४ रुपैयाँ ६९ पैसा कायम छ। यी २० वाणिज्य बैंकको मात्रै औसत इपिएस गत आव पहिलो त्रैमासमा २२ रुपैयाँ ७१ पैसा थियो।
गत वर्ष पहिलो त्रैमासमा कायम इपिएसमा चालू आव पहिलो त्रैमासमा १४ वाणिज्य बैंकको १९.६९ प्रतिशतदेखि १ सय ८१.५० प्रतिशतसम्म घटेको छ। तर, उक्त अवधिमा ६ वाणिज्य बैंकको इपिएस २ देखि १ सय ८६.३६ प्रतिशतसम्मले बढेको छ।
कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ र त्यो कम्पनीको प्रतिसेयर आम्दानी कति छ भन्ने हेरेरमात्र लगानी गर्नुपर्ने हुन्छ।
लगानी गरिने कम्पनीको प्रतिसेयर आम्दानीको मूल्यांकन नै नगरी लगानीके उचित प्रतिफल पाइदैन। कम्पनीको मूल्यांकन नै नगरी लगानीकर्ताले सेयरमा लगानी गर्दा थोरै प्रतिसेयर आम्दानी भएका कम्पनीको समेत बजारमा धेरै मूल्य पुगिसकेको हुन्छ। यसले गर्दा लगानीकर्ताले लगानीअनुसार प्रतिफल नपाउने जानकार बताउँछन्।
कुन बैंकको इपिएस कतिले बढ्यो वा घट्यो?
गत आर्थिक वर्षको तुलनामा चालू आवमा १४ वाणिज्य बैंकको इपिएस २ देखि ३३ रुपैयाँ ६ पैसासम्मले घट्दा ६ बैंकको ६९ पैसादेखि ११ रुपैयाँ ६१ पैसासम्मले बढेको छ। जसमा सबैभन्दा बढी कृषि विकास बैंक र सबैभन्दा कम लक्ष्मी बैंकको इपिएस घटेको छ।
उक्त अवधिमा इपिएस बढाउने बैंकहरूमा भने सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंक छ।