काठमाडौं। गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न अधिकांश वाणिज्य बैंकहरु प्रकृयाको पाइपलाइनमा छन्। पछिल्लो सातामात्रै नबिल बैंक, प्रभु बैंक, एनएमबी बैंक र नेपाल एसबिआई बैंकले लाभांश घोषणाको प्रकृया पूरा गर्न नेपाल राष्ट्र बैंकमा वित्तीय विवरणको प्रारम्भिक स्वीकृति (प्रिलिमनरी अप्रुभल ) को लागि पुगेका छन्।
राष्ट्र बैंकमा लाभांश वितरणको प्रकृयामा हालसम्म १३ वटा वाणिज्य बैंकले वित्तीय विवरण पेश गरेका हुन्। जसमध्ये हालसम्म ६ वाणिज्य बैंकले अन्तिम स्वीकृति पाएका छन्। बाँकी ३ वटाले प्रारम्भिक स्वीकृति पाएर अन्तिम स्वीकृति लिने प्रकृयामा छन्। बाँकी ४ वटा वाणिज्य बैंकले प्रारम्भिक स्वीकृतिको पाइपलाइनमा रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए।
‘प्रिलिमनरीका लागि ४ बैंक गत साता आएका हुन्, उनीहरुले तिहार अगावै स्वीकृति पाउने सम्भावना छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘प्रिलिमनरी पाउन बाँकी नबिल, प्रभु, एनएमबी र एसबिआई बैंक हुन्।’
राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले यी बैंकहरुले पेस गरेको वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति दिएपछि सम्बन्धित बैंकको सञ्चालक समितिले निर्णय गरी आ–आफ्नो क्षमताअनुसार गत वर्षको नाफाबाट सेयरधनीमा प्रतिफल वितरण गर्नेछन्।
कुनै पनि कम्पनी तथा संघ–संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सो आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसक्नु पर्छ।
बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक साधारणसभा सम्पन्न गर्न राष्ट्र बैंकमा सम्बन्धित आर्थिक वर्षकोे वित्तीय विवरण पेश गरी पारित गर्नुपर्ने व्यवस्था छ। केन्द्रीय बैंकको सम्बन्धित सुपरीवेक्षणले निरीक्षण गरी प्रारम्भिक स्वीकृत दिन्छ। उक्त स्वीकृत पाएमा मात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न पाउँछन्।
घोषित लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र साधारणसभाको मिति तय गरी लगानीकर्तालाई वितरण हुन्छ। यी बैंकहरुले राष्ट्र बैंकबाट पारित भएको वित्तीय विवरणको क्षमताअनुसार नै लाभांश घोषणा गर्ने/नगर्ने भन्ने सम्बन्धित बैंकमा भर पर्छ। क्षमताअनुसार लाभांश वितरण नगरेर रिजर्भमा समेत बैंकहरुले वितरणयोग्य नाफाको पैसा राख्छन्।
राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएर साधारणसभा सम्पन्न गरी सेयरधनीको खातामा माछापुच्छे्र बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, एनआएसी एसिया बैंक र एभरेष्ट बैंकले लाभांश पठाएका हुन्। सिद्धार्थ बैंकले मंसिर ५ गते २२औं वार्षिक साधारणसभा बोलाएको छ।
बैंकले साधारणसभामार्फत ४.२१ प्रतिशत नगद लाभांश पारित गरी सेयरधनीलाई वितरण गर्नेछ। राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति पाएर अन्तिम स्वीकृति पाउन बाँकी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), स्ट्यान्डर्ड चाटर्ड बैंक र ग्लोबल आइएमई बैंक छन्।
लाभांश घोषणा गर्न बाँकी ४ बैंकको क्षमता
राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पेश गरी प्रारम्भिक स्वीकृतको लागि पाइपलाइनमा नबिल, प्रभु, एनएमबी र नेपाल एसबीआइ छन्। यी बैंकहरुले पेश गरेको वित्तीय विवरणमा राष्ट्र बैंक सुपरीवेक्षण विभागले प्रारम्भिक स्वीकृति तिहार बिदा सुरु हुन अगावै दिने सम्भावना छ। प्रारम्भिक स्वीकति पछि यी बैंकहरुले घोषणा गर्ने लाभांश क्षमता तल उल्लेख गरिएको छ।
नबिल बैंकः बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.६४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
नेपाल एसबिआई बैंकः बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख रुपैयाँ हो। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
एनएमबी बैंकः बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
प्रभु बैंकः बैंकले गत आर्थिक वर्षमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ०.६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
घोषित लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र साधारणसभाको मिति तय गरि लगानीकर्तालाई वितरण हुन्छ। यी बैंकहरुले राष्ट्र बैंकबाट पारित भएको वित्तीय विवरणको क्षमताअनुसार नै लाभांश घोषणा गर्ने÷नगर्ने सम्बन्धित बैंकमा भर पर्छ। क्षमताअनुसार लाभांश वितरण नगरेर रिजर्भमा बैंकहरुले वितरणयोग्य नाफा राख्छन्।