काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकाे कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आग्रह गरेका छन्।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को संयुक्त आयोजनामा आयोजित ३७ औँ क्यासी सम्मेलनमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन्।
‘नेपाली विद्युत बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु’, उनले भने।
राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरे।
‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो। साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको केन्द्र हुन्। तिनीले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्’, पौडेलले भेन, ‘द्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार पनि हो।’
उनले व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको पनि बताए। ‘यसले आर्थिक वृद्धिलाई मात्र होइन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न उर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भने, ‘व्यवसाय क्षेत्रका संगठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाहरूको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन्। यी गतिविधि कारोबार मात्र होइनन्, यिनले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्दछन्। फलस्वरूप पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान गर्नेछ।’