काठमाडौं। ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। बैंकको आईतबार बसेको सञ्चालक समिति बैठकले पोखरेललाई डिसिइओबनाएको हो।
यसअघि पोखरेल आइएमई ग्रुपको भाइसप्रेसिडेन्ट थिए। दुई वर्षअघि बैंकका सञ्चालकसमेत रहेका पोखरेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए।
त्यसपछि उनी आइएमईको ग्रुप सिइओ हुँदै भाइस प्रेसिडेन्ट थिए। १२ वर्ष आइएमईको सिइओ भएर काम गरेका पोखरेल २०७८ चैतदेखि भाइस प्रेसिडेन्ट बनेका हुन्।
डिसिइओ पोखरेलले एभरेष्ट बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन्। पोखरेलसँग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ। उनले व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन्।
पोखरेलको वित्तीय, रेमिट्यान्स, ऊर्जा, हस्पिटालिटी, प्रविधि, अटोमोटिभ, रिटेल, लजिस्टिक्सलगायत आधा दर्जनभन्दा धेरै व्यवसायको मातृ संस्था आईएमई ग्रुप अफ कम्पनीजको नेतृत्व गरेको अनुभव छ।
वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकको रुपमा पोखरेल स्थापित भएका छन्।
उनैले नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमईको सिइओ रहि उक्त कम्पनीलाई थप उचाईमा पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका छन्।
नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पूनः आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भुमिका रहने बताए।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३ सय ५० शाखा, ३ सय ६९ एटीएम, ३ सय २२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ।