काठमाडौं। फूलको पर्व भनेर चिनिने हिन्दुहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै छ। अन्य समयभन्दा तिहारमा ठूलो परिमाणमा फूलको कारोबार हुने गरेको छ।
फूलको कारोबार बढी हुने भएकाले तिहार आउनुअघि नै बजारमा यसको चहलपहल सुरु भइसकेको छ। फूलको व्यापार राम्रो हुने भएकाले नेपालमा लामो समयदेखि यसको व्यावसायिक खेती भइरहेको छ।
तथापि, यसमा आत्मनिर्भर बन्न नसक्दा नेपालमा आयातित र प्लास्टिकजन्य फूल प्रयोग पनि ठूलो मात्रामा हुने गरेको छ।
नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य वस्तुको मात्रा हेर्दा पनि नेपाल यसमा आत्मनिर्भर बन्न नसकेको देखिन्छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालमा ३३ करोड ६ लाख ४८ हजार रुपैयाँबराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको थियो।
यस्तै २०७८/७९ मा ३६ करोड ५३ लाख ५ हजार र २०७७/७८ मा ४० करोड ७२ लाख ३४ हजारबराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकमा छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार हाल नेपालमा औपचारिकरूपमा वार्षिक करिब ३ अर्ब रुपैयाँबराबरको फूलको कारोबार हुने गरेको छ।
तथ्यांकअनुसार २०७५/७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँको थियो। २०७६/७७ र २०७७/७८ मा कोरोना महामारीका कारण कारोबारमा कमी आई १ अर्ब ६३ करोडमा सीमित भएको देखिन्छ।
त्यसपछि २०७८/७९ मा २ अर्ब ३० करोड र २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँबराबर कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) को तथ्यांकमा उल्लेख छ।
वार्षिक कारोबार ३ अर्बमात्रै हो?
तर, औपचारिकरूपमा हुने फूल कारोबार ३ अर्बहाराहारी देखिए पनि समग्र कारोबार भने ६ अर्बभन्दा बढीको हुने आँकलन रहेको फ्यान अध्यक्ष मिनबहादुर गुरुङ बताउँछन्।
‘हामीले वार्षिक भएको कारोबार निकाल्दा भन्सार तथ्यांक र टिइपिसीको तथ्यांक आधार बनाएर निकालेका हुन्छौं। यद्यपि, हाम्रो खुला भन्सार नाकाका कारण ट्रकका ट्रक फूल र बिरुवा अवैधानिकरूपमा नेपालमा भित्रिने गरेका छन्,’ गुरुङ भन्छन्, ‘यसले गर्दा हाम्रो तथ्यांकले ३ अर्ब ७ करोडको कारोबार भएको देखिए पनि योभन्दा दोब्बर कारोबार हुने हाम्रो अनुमान छ।’
उनले नेपाल निरन्तर फूलमा आत्मनिर्भरतर्फ अगाडि बढेको बताउँदै यसका लागि लगानीको वातावरण बनाउन आवश्यक भएको बताए।
‘फूलमा आत्मनिर्भर बन्न सबैभन्दा पहिला सरकारले लगानीको वातावरण बनाइदिनुपर्छ,’ गुरुङ भन्छन्, ‘सरकारले भ्याट लगाएर हामी व्यवसायीलाई केही अप्ठ्यारोमा पारेको छ। फूलमा मात्रै नभएर कृषिजन्य उत्पादनमा थ्रेसहोल्डको व्यवस्था पनि हटाइनुपर्छ।’
यसो त नेपालमा फूल आयातमात्रै नहुने भएर यहाँबाट निर्यात पनि हुने गरेको छ। फ्यानका अनुसार पछिल्लो चार वर्षमा नेपालबाट २ करोड ७९ लाख रुपैयाँको फूल निर्यात भएको छ।
२०७९/८० मा ६८ लाख, २०७८/७९ मा ९८ लाख, २०७७/७८ मा ५३ लाख र २०७६/७७ मा ६० लाख रुपैयाँको फूल नेपालबाट निर्यात भएको देखिन्छ।
आयातित र प्लास्टिकका फूल नेपाली व्यवसायीलाई चुनौती
विगतका वर्षदेखि नै आयातित र प्लास्टिकजन्य फूलले नेपाली बजारमा ठूलो हिस्सा ओगट्दै आएको छ। यो वर्ष पनि बजारमा प्लास्टिकजन्य फूल देखिन सुरु गरिसकेका छन्। यो नेपाली पुष्प व्यवसायीका लागि चुनौती बनेको छ।
यसर्थ, अनियन्त्रित र अवैधानिक आयात हुने पुष्प र पुष्पजन्य वस्तुलाई सरकारले रोक्नुपर्ने अध्यक्ष गुरुङ बताउँछन्।
‘प्लास्टिकजन्य फूलका सन्दर्भमा गत वर्ष साउन १२ बाट सरकारले यस्ता फूल आयात, उत्पादन, बिक्री, वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ,’ गुरुङ भन्छन्, ‘तर, बजारमा खुलारूपमा अहिले यस्ता प्लास्टिकका फूल बिक्री वितरण भइरहेको छ।’
उनले अवैधानिक आयात हुने फूल रोक्न गृह मन्त्रालयसँग पनि छलफल गरिसकेको जानकारी दिए।
यो वर्ष तिहारमा भारतबाट ५० लाख रुपैयाँबराबरका २ लाखथान सयपत्री फूलको माला र अन्य देशबाट २० लाख रुपैयाँको माला आयात हुने फ्यानको अनुमान छ।
यसपालि तिहारमा करिब २१ लाख माला खपत हुने र त्यसमा १७ लाख सयपत्रीको हुनेछ। बाँकी माला भने मखमलीलगायत फूलको हुनेछ।
पुष्प व्यवसायमा ४४ हजार बढी रोजगारी
फ्यानका अनुसार नेपालमा पुष्प व्यवसायबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजारभन्दा बढीले रोजगारी पाएका छन्।
२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको थियो। यसपछि २०४९ मा पुग्दा करिब ८० को संख्यामा नर्सरी व्यवसायीले व्यावसायिक फूलखेती गरेका थिए। उक्त समयबाट भने नेपालमा पुष्प व्यवसायले गति लिएको देखिन्छ। यसमा करिब ८ अर्बबराबर लगानी भइसकको छ।
फ्यानका अनुसार हरेक वर्ष पुष्प व्यवसायको वृद्धिदर १० देखि १५ प्रतिशतहाराहारी रहेको देखिन्छ। नेपालमा हाल ४८ जिल्लामा लगभग २ सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ।
१ हजार १ सय १६ भन्दा बढी (नर्सरी–५०५, कट फ्लावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी– १३७, पुष्प थोक व्यवसायी–४, इनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक–३६५) पुष्प व्यवसायमा संलग्न छन्।
आर्थिक वर्ष २०७९/८० मा सिजनल फूल बिरुवातर्फ २७ करोड, आलंकारिक बोटबिरुवातर्फ ९५ करोड, कट फ्लावरतर्फ ५० करोड, ल्यान्डस्केप तथा गार्डेनिङतर्फ २८ करोड, र खुला फूलतर्फ १२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
यस्तै सयपत्री तथा मखमली मालातर्फ ६१ करोड, सामग्री आपूर्तितर्फ २० करोड र अन्य (कार्पेट ग्रास, बल्ब, राइजम ट्युबर टिस्युकल्चर आदि) तर्फ १० करोडको कारोबार भएको छ।