काठमाडौं । बैंकहरुले निष्कासन गर्ने ऋणपत्र (डिवेन्चर) मा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । चालु आर्थिक वर्ष सुरु भएयता विभिन्न ४ वाणिज्य बैंकहरुले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ८५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकोमा ती सबै बिक्री भइसकेको छन् । तर, गत वर्ष वाणिज्य बैंकहरुले निष्कासन गरेको ऋणपत्र बिक्री भएका थिएनन ।
क्रेडिट क्रञ्च समस्या बढ्दै गएपनि वाणिज्य बैंकहरुको ऋणपत्र बिक्री भएको थिएन । यसपटक भने क्रेडिट क्रञ्चको समस्या देखिएको छैन । मुद्दती निक्षेपको भन्दा ऋणपत्रमा लगानी सुरक्षित हुने तथा ब्याज पनि बढी पाइन थालेपछि लगानीकर्ताहरु यस तर्फ आकर्षित भएको बैंकरहरु बताउछन ।
साउनयता सिद्धार्थ बैंक, प्रभु बैंक, लक्ष्मी बैंक र सनराइज बैंक जारी गरेको ऋणपत्र सतप्रतिशत बिक्री भएका छन् ।
पछिल्लो समयमा सनराइजले निष्काशन गरेको ३ अर्ब रुपैयाँको ऋणपत्र सबै बिक्री भयो । कात्तिक २० देखि गत बिहीबारसम्म बैंकले सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ ऋणपत्र निष्काशन गरेको थियो । बैंकले १०.२५ प्रतिशत व्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो । कुल निष्कासनको ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई सुरक्षित गरिएको छ । बैंकले केहि समय अगाडि पनि १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो । यो सँगै अब बैंकको ऋणपत्र ४ अर्ब रुपैयाँको पुगेकोे छ ।
सनराइजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जनक शर्मा पौडेलले पहिलेको तुलनामा अहिले ऋणपत्रमा आकर्षण बढेको बताउछन । नबिल बैंक खुल्दा सर्बसाधारणलाई सेयरको मूल्यका बिषयमा पनि जानकारी थिएन । तर, पछि बंैकले लाभांस दिन थालेपछि विश्वास बढ्दै गयो । यसैगरी अहिले ऋणपत्रमा पनि विस्तारै आकर्षण बढेको उनको भनाई छ । ऋणपत्रले दिने प्रतिफल स्थिर हुने भएकाले सेयर बजार भन्दा ऋणपत्रमा हुने लगानी सुरक्षित भएको उनको जिकिर छ ।
अहिलेसम्म सिद्धार्थले २ अर्ब ५० करोड, लक्ष्मीले २ अर्ब, प्रभुले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरिसकेका छन् । निष्कासन गरिएका ऋणपत्रको अवधि ७ देखि १० वर्षसम्म छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा प्राथमिक पूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र निष्काशन गर्नु पर्ने व्यवस्था गरेको छ । सोहि कारण बैंकहरुले धमाधम ऋणपत्र निष्काशन गरिरहेका छन् ।
ऋणपत्रबाट केही हदसम्म भएपनि तरलताको समस्या समाधान हुने बैंकरहरु बताउछन् । बैंकहरुले निस्काशन गरेको ऋणपत्र बिक्री भएपछि अन्य बैंकहरु पनि ऋणपत्र बेच्न हौसिन थालेका छन् । नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारीले ऋणपत्रको भविष्य राम्रो भएको बताए । ‘अहिले सरसर्ती हेर्दा डिवेञ्चरका लागि वातावरण अलि राम्रो हो कि जस्तो लागेको छ ’ उनले भने ।
१२ अर्ब ९५ करोडको ऋणपत्र अनुमतिको पर्खाइमा
यस आर्थिक वर्षमा ७ ओटा बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ९५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पर्खेर बसेका छन । यी बैंकहरुकोे आवेदनको अध्ययन बोर्डले गरिरहेको छ । यो वर्ष गुडविल फाइनान्स लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडले पनि ऋणपत्र निष्कासन गर्न लागेका छन् ।
गुडविलले २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता र आइसीएफसीले २० करोड रुपैयाँको २ लाख कित्ता निष्कासन गर्न लागेका हुन । दुबै फाइनान्सले ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेका हुन । गुडवीलले वार्षिक १२.७ र आईसीएफसीले १२ प्रतिशत ब्याज दिने प्रस्ताव गरेका छन । बैंकहरुले १० देखि १०.५ प्रतिशतसम्म वार्षिक ब्याज दिने प्रस्ताव गरेका छन । तर वित्त कम्पनीहरुले बढी ब्याज प्रस्ताव गरेका हुन ।
कृषि विकास बैंकले वार्षिक १०.३५ प्रतिशत ब्याज दिने गरी ७ वर्षका लागि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । ऋणपत्र २०८३ मा परिपक्व हुने छ । सिटिजन्स बैंकले पनि १०.२५ प्रतिशत ब्याज दिने गरी २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । ऋणपत्रको अवधि १० वर्षको छ ।
नविल बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गर्दै छ । ६ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको अवधि ६ वर्षको हुने छ । नेपाल एसबीआई बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । ऋणपत्रको अवधि १० वर्षको छ । कुमारी बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्कासन गर्न लागेको छ । ऋणपत्रको अवधि १० वर्षको छ ।