काठमाडौं। निजी लगानीमा स्थापना भएको टाइम्स इनर्जी प्रालिले बुढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री (पिपिए) गर्न नेपाल विद्युत प्राधिकरण पुगेको छ।
टाइम्सले ३ सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलाशय आयोजना बनाउँदै छ। आयोजना बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ। पिपिएका लागि विद्युत प्राधिकरणमा निवेदन दिएको टाइम्सका अध्यक्ष दीपक मल्होत्राले क्यापिटल नेपाललाई बताए।
उनले पिपिए भएपछि आयोजना बनाउन लगानी जुटाउने काम अघि बढ्ने जानकारी दिए। उनले विभिन्न बैंकहरूसँग लगानीका लागि छलफल भइरहेको बताए। उनले अहिले नै लिड बैंक निश्चित भइनसकेको जानकारी दिए।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाइमा आयोजनामा ऋण लगानी हुने सम्भावना देखिएको छ। यद्यपि, निश्चित भइसकेको छैन। यस्तै स्वपुँजी (इक्विटी) लगानीका लागि विभिन्न कर्पोरेट हाउससँग छलफल भइरहेको अध्यक्ष मल्होत्राले सुनाए।
प्राधिकरणले पिपिए गर्न जलविद्युत लगानीकर्तालाई बोलाएपछि टाइम्सले प्रक्रिया अघि बढाएको हो। विद्युत प्राधिकरणले नदी प्रवाही जलविद्युत (आरओआर) र अर्धजलाशय (पिआरओआर) आयोजनाका प्रवद्र्धकलाई पिपिए गर्न बोलाएको छ।
पिपिए निरन्तरता दिन प्राधिकरण सञ्चालक समितिले आरओआरको माथिल्लो सीमा ६ हजार ७ सय ५० मेगावाट र पिआरओआरको ४ हजार ५ सय मेगावाट तोकेको छ। उक्त परिमाण नपुगेसम्म पिपिए खुला गर्ने प्राधिकरणले जानकारी दिएको छ।
विद्युत जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भएको मिति आधार मानी रोलक्रमअनुसार पिपिए गर्ने जानकारी प्राधिकरणले दिएको छ।
आयोजनाहरूको पिपिए लिऊ वा तिर (टेक अर पे) का आधारमा हुनेछ। आयोजनाहरूको विद्युत सुक्खायाम (मंसिर १६ देखि जेठ १५) र वर्षायाम (जेठ १६ देखि मंसिर १५) सम्मका लागि हाल कायम रहेको दर क्रमश ८.४० र ४.८० रुपैयाँ प्रतियुनिटमा खरिद हुनेछ।
यस्तै पिआरओआर आयोजनाको पिकिङ क्षमताका आधारमा न्यूनतम ८.४० देखि अधिकतम १०.४५ रुपैयाँ पिपिए दर तोकिएको छ। टाइम्सको बुढीगण्डकी आयोजना दैनिक ५ घन्टा पिकिङ हुने भएकाले प्रतियुनिट १०.४५ रुपैयाँमा पिपिए हुनेछ।
टाइम्सलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ।
आयोजनाबाट आगामी २०८५ देखि विद्युत उत्पादन प्रस्ताव गरिएको छ। अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
आयोजनाको डिजाइन बहाब १ सय घनमिटर प्रतिसेकेन्ड छ। कुल हेड ३ सय ९८ मिटर रहने टाइम्सले जनाएको छ।
सुक्खायाममा पनि आयोजना दैनिक ५ घन्टा पूर्णक्षमतामा सञ्चालन गर्न सकिने छ। दैनिक ५ घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको छ।
आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। बुढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ मुख्य संरचनाबाट भूमिगत सुरुङमा लगिने छ।
बिजुली उत्पादनका लागि बनाइने बाँधको लम्बाइ ५४ मिटर हुनेछ। बाँधमा १७ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ। बाँधको उचाइ ३८ मिटर हुनेछ।
विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ। आयोजनाबाट उत्पादन हुने बिजुली २ सय २० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हनेछ। यो सबस्टेसन ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) ले बनाउन लागेको हो।
आयोजना गण्डकी प्रदेश गोरखा जिल्ला चुमनब्री र धार्चे गाउँपालिकामा पर्छ। टाइम्स इनर्जी २०६७ मा स्थापना भएको थियो।