काठमाडौं। भारतीय इलेक्ट्रिक स्कुटर ‘एथर’ नेपाली बजार भित्रिएको छ। एथरका लागि नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले एथरलाई नेपाली बजार ल्याएको हो।
कम्पनीले आफ्नो पहिलो शोरुम काठमाडौं गैह्रीधारामा सञ्चालनमा ल्याएको हो। शोरुमको वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यान्स वैद्यले उद्याटन गरे।
भारतमा आक्रामक बजार विस्तार गरिरहेको एथरले अन्तर्राष्ट्रिय बजारका रूपमा पहिलोपटक नेपाली बजार ‘डेब्यु’ गरेको हो।
कम्पनीले पहिलो चरणमा ‘एथर ४५० एक्स’ का दुई भेरिएन्ट नेपाली बजार ल्याएको हो।
२.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको भेरिएन्टले फुल चार्जमा १ सय ११ किलोमिटर रेन्ज दिन्छ भने यसको फुल स्पिड ९० किलोमिटर प्रतिघन्टा छ। यो ३.३ सेकेन्डमा शून्य देखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ।
त्यस्तै ३.७ किलोवाट आवर ब्याट्री क्षमता भएको भेरिएन्टले फुल चार्जमा १ सय ५० किलोमिटर रेन्ज दिन्छ। ९० किलोमिटर प्रतिघन्टा टप स्पिड भएको यो स्कुटर ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ।
अत्याधुनिक डिजिटल सिस्टममा बनाइएका यी स्कुटरमा ७ इन्चको टच स्क्रिन डिस्प्ले छ। यसको मद्दतमा चालकले सजिलैसँग फोन कल गर्न, गीत सुन्न, गुगल म्याप प्रयोगलगायत काम गर्न सक्छन्।
त्यस्तै यसमा हिल होल्ड एसिस्ट, रिभर्स गियरलगायत फिचर छन्। ग्राहक सुविधाका लागि वैद्य इनर्जीले देशका विभिन्न स्थानमा फास्ट चार्जिङ स्टेसन बनाउने तयारी गरेको छ। कम्पनीले स्कुटरको मूल्य ३ लाख ८५ हजार र ४ लाख २० हजार रुपैयाँ तोकेको छ।