काठमाडौं। शनिबार बिहान ८ नबज्दै प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पपीडिको उद्धारमा स्वास्थ्यकर्मीसहित जाजरकोट पुगे। प्रधानमन्त्री दाहाल जाजरकोटमा भूकम्पपीडितको उद्धार र राहतमा जुटिरहँदा उनलाई साथ दिन सिंगो मुलुक नै तयार भइसकेको थियो।
खासगरी आर्थिक मन्दीका कारण आफैं संकटमा परिरहेको निजी क्षेत्रले दिल खोलेर भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोगको घोषणा गरिरहेको छ।
२०७२ सालमा गएको महाभूकम्पका बेला राहत, उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारलाई ठूलो सहयोग गरेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत निजी क्षेत्रले त्यो बेला गरेको साथ र सहयोग सह्रानीय थियो।
त्यही झल्को दिने गरी अहिले पनि पहिलाजस्तै निजी क्षेत्र भूकम्पपीडितलाई सहयोग गर्न जुटेक छ। चौधरी ग्रुपले चौधरी फाउन्डेसनमार्फत भूकम्पपीडित क्षेत्रका लागि आवश्यक राहत सामाग्री त्यस क्षेत्रमा पठाइसकेको छ।
स्थानीय प्रशासनसँग समन्वय गरी भूकम्पपीडितलाई प्रभावकारीरूपमा सहयोग गर्ने घोषणा डलर अर्बपति विनोद चौधरीले गरिसकेका छन्।
एमआइटी ग्रुप फाउन्डेसन संस्थापक अध्यक्ष तथा अर्बपति व्यापारी डा. शेष घलेले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन। अस्ट्रेलियाको धनीको सूचीमा रहेका गैरआवासीय नेपाली घलेले एमआइटी ग्रुप फाउन्डेसनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आँकलन गर्ने जनाएका छन्।
निजी क्षेत्रले स्वघोषितरूपमा अहिले भूकम्पपीडितको राहत, उद्धार र पुनर्स्थापनाका लागि सहयोग घोषणा गरिरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघले सबै सदस्य उद्योग वाणिज्य संघ, उद्यमी-व्यवसायी र व्यावसायिक संघसंस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ।
मुलुककै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दिने घोषणा गरेको छ। भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले यतिबेला राज्यलाई ठूलो सहयोगको आवश्यकता परेको बताउँदै सहयोगको घोषणा गरेका हुन्।
आन्तरिक उडानमा अग्रणी बुद्ध एयरले पनि सरकारलाई १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। भूकम्पपीडितलाई राहत तथा उद्धारका लागि आवश्यक उडान सेवासमेत दिने घोषणा बुद्धको छ।
बहुराष्ट्रिय मोबाइल सेवाप्रदायक एनसेल आजियाटा लिमिटेडले ५० लाख रुपैयाँ दिने भएको छ। योसँगै एनसेलले ग्राहकलाई आफ्ना प्रियजसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ ब्यालेन्सबराबरको सेवा निःशुल्क उपलब्ध गराइने जनाएको छ।
नेपाल टेलिकमले भूकम्पपीडित क्षेत्रका स्थानीयलाई लक्ष्यित गरी ५ दिनसम्म नि:शुल्क फोन, इन्टरनेट र एसएमएस सेवा दिएको छ।
सिटिजन्स बैंकले २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले भूकम्पपीडित क्षेत्रमा आफ्ना सदस्यलाई उद्धार तथा पुनर्स्थापनाका लागि उपकरणसहित खटाएको छ।
नेपाल आयल निगमले घाइतेको उद्धार तथा राहतका लागि प्रयोग भएका जहाज र हेलिकोप्टरमा प्रयोग हुने हवाई इन्धनको सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरेको छ। निगमले सामाजिक उत्तरदायित्वअन्तरर्गत इन्धनको खर्च बेहोर्ने घोषणा गरेका हु।
अर्ना बियर उत्पादन गर्दै आएको यती ब्रुअरीले २५ लाख रुपैयाँ दिने भएको छ। यस्तै कैलाश हेलिकोप्टरले १० लाख रुपैयाँ दिने भएको छ।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवंम ट्रिप ईन्न होटेल समूह (जर्मनी) का अध्यक्ष जीवा लामिछानेले भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतकालागि तर्फबाट २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मातहतका सम्पूर्ण निकायलाई भूकम्पपीडितलाई सहयोग गर्न आग्रह गरेसँगै कैलाशले १० लाख दिने घोषणा गरेको हो। नेपाल क्रिकेट संघले आइतबार हुने खेलबाट उठ्ने टिकटको ५० प्रतिशत रकम दिने भएको छ।
एनआरएनएको सहयोगमा प्रतिस्पर्धा
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोगको घोषणा गरेको छ। संघ अध्यक्ष डा. बद्री केसीको नेतृत्वकाे टाेली १ करोड रुपैयाँभन्दा बढीको राहत सामाग्री लिएर भूकम्पपीडित क्षेत्रमा लागेको छ।
तत्कालिन अवस्थामा राहतका सामान सहयोग गर्ने र स्थलगत अध्ययनपछि थप सहयोगको घोषणा गरेको संघले जनाएको छ। योसँगै पहिलो चरणमा सरकारलाई १० लाख रुपैयाँ दिने भएको छ।
विडम्बना अहिले एनआरएनए तीनवटा भएको छ। समानान्तर समिति बनाएको आरके शर्मा समूहले पनि भूकम्पपीडितलाई तत्कालीन अवस्थामा २१ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
शर्मा समूहले पनि स्थलगत अध्ययनपछि के कस्तो सहयोग आवश्यक पर्छ त्यहीअनुसार गर्ने प्रतिबद्धता जनाएको छ। शेष घले समूहका अध्यक्ष विनोद कुँवरले पनि भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्।
राजनीतिक दल एक ठाउँमा, आर्थिक सहयोगदेखि कार्यकर्ता परिचालन
मुलुकमा कुनै पनि विपत आइपरे एकै ठाउँमा नेपालका राजनीतिक दल उभिने गरेका छन्। अहिले पनि भूकम्पपीडितलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल एक भएका छन्। अहिले नेपाली काग्रेसले पहिलो चरणमा ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ।
योसँगै भूकम्पपीडित क्षेत्र गएर राहत, उद्धार र पुनर्स्थापनका लागि आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएर परिचालनसमेत गरिसकेको छ। नेपाल विद्यार्थी संघले ७ लाख ११ हजार रुपैयाँ दिने घोषणा गरेको छ।
नेकपा एमालेले आफ्ना कार्यकर्तालाई भूकम्पपीडित क्षेत्र पठाइसकेको छ भने आर्थिक सहयोगका लागि छलफल अगाडि बढाएको छ। नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता भूकम्पपीडित क्षेत्रमा खटिरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्यकर्मीसहित शनिबार बिहानदेखि नै भूकम्पपीडित क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन गरिरहेको छ।
पार्टी सभापति रवि लामिछानेसहित नेता तथा कार्यकर्ता भूकम्पपीडित क्षेत्रमा खटिइरहेका छन्। राप्रपा नेपालसहित अन्य दल पनि भूकम्पपीडित क्षेत्रमा खटिरहेका छन्।
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमात्र हाेइन, छिमेकी भारत, चीनसहित अमेरिका, रूसलगायतले समेत भूकम्पपीडितका लागि सहयोग गर्ने घोषणा गरेका छन्।
प्रदेश सरकारको करोडौं सहयोग
यस्तै प्रदेश सरकारहरूले पनि भूकम्पपीडितलाई सहयोग घोषणा गरेका छन्। लुम्बिनी सरकारले १ करोड ५० लाख, बागमतीले १ करोड ५० लाख र कोसीले १ करोड दिने घोषणा गरेका छन्। यस्तै पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग घोषणा गरेकाे छ।