काठमाडौं। जीवन बिमा व्यवसाय गर्ने बिमकहरूले असोजमा मात्रै २१ करोड बढीको कुल लघु बिमा शुल्क आर्जन गरेका छन्।
नेपाल बिमा प्राधिकरणका अनुसार जीवन बिमा व्यवसाय सञ्चालन गर्ने ठूला बिमा कम्पनी र लघु बिमा कम्पनीले असोजमा २१ करोड ६ लाख रुपैयाँबराबरको लघु बिमा शुल्क आर्जन गरेका हुन्।
प्राधिकरणको तथ्यांकअनुसार एक महिनामा नेसनल लाइफले सबैभन्दा बढी ८ करोड ५२ लाखबराबर लघु बिमा शुल्क आर्जन गरेको छ।
यस अवधिमा सिटिजन लाइफले ३ करोड २० लाख, सानिमा रिलायन्स ३ करोड ८ लाख, सूर्यज्योति लाइफ २ करोड ८८ लाख, प्रभु महालक्ष्मी लाइफ १ करोड ४८ लाख र मेट लाइफले १ करोड १० लाखबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
यस्तै सन् नेपाल लाइफले ४३ लाख, रिलायबल नेपाल लाइफ ७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ५ लाख, नेपाल लाइफ इन्स्यारेन्स कम्पनी ३ लाख र एसियन लाइफले ९४ हजारबराबरको बिमा शुल्क आर्जन गरेका छन्। असोजमा हिमालयन लाइफले भने कुनै पनि लघु बिमा शुल्क आर्जन गर्न सकेको छैन।
यो अवधिमा लघु बिमा कारोबार अनुमति पाएका गार्डियन माइक्रो लाइफले ८ लाख ९३ हजारबराबरको लघु बिमा शुल्क आर्जन गरेको छ भने क्रेस्ट माइक्रो लाइफले ८ लाख ३२ हजारबराबरको लघु बिमा शुल्क आर्जन गरेको छ।
प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउनदेखि असोज) मा भने सबै जीवन बिमकले कुल ४८ करोड ६९ लाखबराबरको बिमा शुल्क आर्जन गर्न सफल भएका छन्।
तीन महिनामा जीवन बिमकद्वारा ४० अर्ब कुल बिमा शुल्क आर्जन
बिमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा जीवन बिमकले ४० अर्ब ८० करोडबराबरको कुल बिमा शुल्क आर्जन गरेका छन्।
यस अवधिमा बिमकहरूले १ करोड ३८ लाख ६४ हजार ८ सय ५० बिमालेख बिक्री गरी कुल ४० अर्ब ८० करोड रुपैयाँबराबर कुल बीमा शुल्क आर्जन गरेका हुन्।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब ९५ करोडबराबरको कुल बिमा शुल्क आर्जन गरेको छ भने दोस्रोमा रहेको एलआइसी नेपालले ४ अर्ब ५० करोडबराबरको कुल बिमा शुल्क आर्जन गरेको छ।
तीन महिनामा हिमालयन लाइफले ४ अर्ब ३८ करोड, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ४ अर्ब १९ करोड, राष्ट्रिय बिमा संस्थान ४ अर्ब ५ करोड, सूर्यज्योति लाइफ २ अर्ब ३० करोड, एसियन लाइफ १ अर्ब ८६ करोड र सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँबराबर कुल बीमा शुल्क आर्जन गरेका छन्।
यस्तै सिटिजन लाइफले १ अर्ब ५० करोड, मेट लाइफ इन्स्योरेन्स १ अर्ब ३६ करोड, प्रभु महालक्ष्मी लाइफ १ अर्ब १५ करोड, आइएमई लाइफ १ अर्ब १० करोड, रिलायबल नेपाल लाइफ १ अर्ब १ करोड र सन् नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँबराबर कुल बिमा शुल्क आर्जन गरेका छन्।