काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब व्यवसायिक शिथिलतालाई सुधार गर्न ध्यान दिनुपर्ने बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
‘विश्व परिवेशलाई हेर्ने हो भने हाम्रोमा केही अन्यौलको अवस्था सिर्जना हुँदै आएको छ। यद्यपि हाम्रोमा केही राम्रो कुराहरू पनि छन्, जुन कुराहरु बाहिर आउन सकेको छैन’,गभर्नर अधिकारीले भने, ‘नकारात्मक कुराहरू बढी बाहिर आउने गरेका छन्।’
उनले १२.७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा रहेको बताउदै मुद्रा र बैंकिङको क्षेत्रमा पनि धेरै नकारात्मक अवस्थामा नरहेको उनले स्पष्टपारे।
‘हाम्रो मुद्रास्फितिको अवस्था हामीले अपेक्षा गरेभन्दा केही बढी भएपछि त्यसमा केही कडाइ गर्नु स्वभाविक हो’, उनले भने, ‘बैंकिङ क्षेत्रको कुरा गर्दा यो वर्ष विश्वमा धेरै उथलपुथल आए। केही बैंक डुबे तर हामीले बैंकिङ क्षेत्रमा लिएको लामो समयको नीतिले बैंक डुब्ने अवस्था छैन।’
यद्यपि, व्यवसायिक शिथिलतालाई सुधार गर्नुपर्ने लगायतका कामहरु भने गर्न आवश्यक भएको उनको भनाइ छ।
‘हामीले खासगरी हाम्रा आयोजनाहरु अगाडि बढाउन आवश्यक छ। जति छिटो योजना पूरा गरेर कार्यान्वयनमा लगेर नयाँ योजना ल्याउछौं त्यसले अर्थतन्त्र चलयमान बनाउँछ,’ गभर्नर अधिकारीले भने, ‘गत वर्ष घटेको राजस्वको असर यो वर्ष पनि देखिएको छ। हाम्रो दसैंमा भएको बिक्री, आयातको अवस्था हेर्दा हाम्रो बजार पनि चलयमान हुँदै गएको देखिन्छ।
हाम्रोमा रेमिट्यान्स पनि एकपछि अर्को गर्दै राम्रो हुँदै गएको छ।’ उनले समग्र अर्थतन्त्रको सबै निर्धारक तत्वलाई केलाउदा हाम्रो अर्थतन्त्र नकारात्मक अवस्थामा नरहेको बताए।