काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अगाडि बढेको बताएका छन्।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को एक कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन्। अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अगाडि बढेको छ। यसका लागि बलियो आत्मविश्वास, सकारात्मक धारणा आवश्यक भएको अर्थमन्त्री महतको भनाई छ।
सकारात्मक कुराको प्रवाह नभए अर्थतन्त्र चलयमान हुन सक्दैन। हाम्रोमा समस्या नै छैन भन्ने होइन। हरेक मुलुकका आफ्नो आफ्नो समस्या हुन्छ। जुन हाम्रोमा पनि एक किसिमको समस्या रहेको उनले बताए।
उनले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरे। अर्थतन्त्रमा देखिएको समस्या एकाएक आएको नभइ यो थपिदै थपिदै गएको उनको भनाई थियो।
उनले हिजोको दिनमा हाम्रोमा घरजग्गा कारोबार पनि आवश्यकता भन्दा बढी भएको बताउदै सरकारले केही नियन्त्रण गरेको बताए। तर, अहिले घरजग्गा कारोबार पनि सकारात्मक अवस्थामा अगाडि बढेको उनको भनाइ छ।
अर्थमन्त्री महतले नेपालमा वैदेशिक लगानी बढाउन र लगानीमैत्री वातावरण तयार गर्न हामीले पहल गरिरहेको बताए। उनले अब अर्थतन्त्रका विषयमा सकारात्मक कुराहरु प्रसारण गर्दै अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे।
जलविद्युत, सूचना प्रविधि, पर्यटन लगायतको विकास र विस्तार गर्नतर्फ हामी लागेका छौं। आगामी बजेट पनि यी क्षेत्रको विकासमा विशेष जोड दिनेगरी आउने छ महतले भने, यस्ता हाम्रो अर्थतन्त्र विकासका महत्त्वपूर्ण आधार विकासमा हामी लागि परेका छौं।
उनले पछिल्लो समय खर्च नभएको गुनासो आएको भन्दै खर्च बढाउन र पूर्वाधार निर्माणको काम अघि बढाउन सरकार प्रतिबद्ध भएको बताए। सरकारी ढिलासुस्ती, नितिगत कठिनाई सुधारका लागि पनि निरन्तर पहल गरेको उनको भनाइ छ।