काठमाडौं। चालू आर्थिक वर्ष पहिलो त्रैमास वाणिज्य बैंकहरूले निष्क्रिय कर्जामा १० अर्ब रुपैयाँभन्दा बढी ‘प्रोभिजन’ गरेका छन्।ऋणीले समयमै ऋण नतिर्दा तीन महिनामै बैंकहरूले १० अर्ब ३५ करोड रुपैयाँभन्दा बढी नतिरेको कर्जामा खर्च गर्नुपरेको हो।
ऋणीले कर्जा सम्झौताअनुसार तोकिएको समयमा ऋणको साँवा–ब्याज भुक्तानी नगर्दा चालू आर्थिक वर्ष वाणिज्य बैंकहरूको निष्क्रिय कर्जासमेत औसतमा ३.४० प्रतिशत पुगेको छ।
गत आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात १.६६ प्रतिशत थियो। यसबीच वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अनुपात १.७३ प्रतिशत बिन्दुले वृद्धि भएको हो।
बैंकहरूको खराब कर्जा बढेसँगै यस्तो कर्जामा जोखिम व्यवस्थापनवापत छट्ट्याउनुपर्ने इम्पेरिमेन्ट चार्ज अर्थात निष्क्रिय कर्जाको प्रोभिजनसमेत ८१.१७ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्ष पहिलो त्रैमासमा ५ अर्ब ७१ करोड ८१ लाख प्रोभिजन गरेका थिए। जुन चालू आव सोही अवधिमा ४ अर्ब ६४ करोड १३ लाखले थप भएको हो।
चालू आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूलाई ऋणीले कर्जाको साँवा–ब्याज भुक्तानी नगरेपछि बैंकहरूले उक्त कर्जालाई राष्ट्र बैंकको खराब कर्जाको वर्गीकरणअनुसार प्रोभिजन गर्दा नाफा प्रभावित भएको हो।
गत असोज मसान्तसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ९८ अर्ब २७ करोड कर्जा प्रवाह गरेका थिए। जसको ३.४० प्रतिशत अर्थात १ खर्ब ४९ करोड रूपैयाँ नै निष्क्रिय कर्जामा परिणत भएको छ।
ऋणीले कर्जा सम्झौताअनुसार साँवा–ब्याज भुक्तानी नगरेपछि बैंकहरूले त्यस्तो कर्जामा १.३० प्रतिशतदेखि सतप्रतिशत नै प्रोभिजन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। सोही व्यवस्था कार्यान्वयन गर्दै वाणिज्य बैंकहरूले तीन महिनामै १० अर्ब ३५ करोड ९५ लाखभन्दा बढी कर्जामा प्रोभिजन गरेका हुन्।
प्रवाहित कर्जा ऋणीले समयमै भुक्तानी नगरे उक्त कर्जामा बैंकहरूले नाफाअघि नै जोखिम व्यवस्थापनका लागि पैसा छुट्ट्याउनुपर्छ।
समग्र अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको प्रभावमा बैंकबाट ऋण लिनेले तोकिएको समयमा कर्जाको साँवा–ब्याज नतिर्दा बैंकहरूको कर्जा खर्च बढेर नाफा घटेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन्।
‘अहिले अर्थतन्त्रमा देखिएको मन्दीको असरमा बैंकका ऋणीहरूले समयमै साँवा–ब्याज भुक्तानी गर्न सकेनन्, जसले गर्दा बैंकहरूको निष्क्रिय कर्जा बढेसँगै उक्त कर्जामा गर्नुपर्ने प्रोभिजनसमेत बढेको छ,’ दाहालले क्यापिटल नेपालसँग भने, ‘ऋणीले साँवा–ब्याज भुक्तानी गर्न नसक्दा नै प्रोभिजन बढेर बैंकको नाफा प्रभावित भएको हो।’
बैंकहरूले ऋणीबाट समयमै साँवा–ब्याज उठाउन नसक्दा खुद ब्याज आम्दानी, सञ्चालन आम्दानीसमेत घट्ने र खुद नाफासँगै सेयरधनीले पाउने वितरणयोग्य नाफासमेत प्रभावित हुने उनले बताए।
४ वाणिज्य बैंकको नाफा बढाउन कर्जा असुली सहयोगी
बैंकहरूमा निष्क्रिय कर्जा बढ्दा त्यसको खर्चसमेत बढ्छ र नाफामा प्रभाव पर्छ। जसमा बैंकहरूले इम्पेरिमेन्ट चार्ज शीर्षकमा त्यस्तो कर्जामा प्रोभिजन गर्नुपर्छ। प्रोभिजन भएको कर्जाको साँवा–ब्याज पुनः नियमित हुँदा आए वा कर्जा असुल भए निष्क्रिय कर्जाको प्रोभिजन फिर्ता भएर नाफा बढ्छ। जुन बैंकको इम्पेरिमेन्ट चार्ज रिभर्स भएको छ, ती बैंकको पुरानो कर्जा असुली राम्रो भएको प्रष्ट हुन्छ।
चालू आव पहिलो तीन महिनामा ४ वाणिज्य बैंकको इम्पेरिमेन्ट चार्ज रिभर्स भएको छ। यी बैंकले पुरानो निष्क्रिय कर्जामा गरेको प्रोभिजन फिर्ता हुँदा नाफा वृद्धिमा सहयोग पुगेको प्रष्ट हुन्छ।
उक्त अवधिमा लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, सिटिजन्स र प्रभु बैंकको इम्पेरिमेन्ट चार्ज रिभर्स भएको छ। चालू आव पहिलो तीन महिनामा लक्ष्मी सनराइजको ९१ करोड ५६ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा ६४ करोड ६ लाख, सिटिजन्स ४२ करोड ६४ लाख र प्रभुको ७ करोड ९४ लाख इम्पेरिमेन्ट चार्ज रिभर्स भएको हो।
तीन महिनामा बैंकको निष्क्रिय कर्जा खर्च : सबैभन्दा बढी कुमारीको हुँदा माछापुच्छ्रेको थोरै
चालू आर्थिक वर्ष १६ वाणिज्य बैंकले १ करोड रुपैयाँदेखि २ अर्ब १८ करोड ३१ लाखसम्म इम्पेरिमेन्ट चार्ज अर्थात कर्जामा प्रोभिजन गरेका छन्। जसमा सबैभन्दा बढी कुमारी बैंकले र सबैभन्दा कम माछापुच्छ्रे बैंकले प्रोभिजन गरेको हो।
कर्जामा प्रोभिजन गर्ने बैंकमा कुमारीले २ अर्ब १८ करोड ३१ लाख, कृषि विकास २ अर्ब १६ करो, ग्लोबल आइएमई १ अर्ब ७८ करोड, सिद्धार्थ १ अर्ब ४३ करोड, नेपाल बैंक १ अर्ब ३४ करोड र नबिलले १ अर्ब ११ करोड १६ लाख रुपैयाँ कर्जामा प्रोभिजन गरेका हुन्।
चालू आव तीन महिनामा हिमालयनले ७५ करेड ६६ लाख, एनआइसी एसिया ६४ करोड ४३ लाख, सानिमा ५२ करोड २७ लाख, एनएमबी ४८ करोड १ लाख, एभरेस्ट ४२ करोड ९५ लाख, नेपाल एसबिआई २९ करोड ६८ लाख, राष्ट्रिय वाणिज्य २४ करोड १२ लाख र प्राइमले २१ करोड ६६ लाख निष्क्रिय कर्जामा प्रोभिजन गरेका छन्।
सोही अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ करोड २ लाख र माछापुच्छ्रेले १ करोड २२ लाख रुपैयाँ निष्क्रिय कर्जामा प्रोभिजन गरेका हुन्।
बैंकद्वारा प्रवाहित कर्जा बिग्रिँदा राष्ट्र बैंकको खराब कर्जा व्यवस्थाअनुसार प्रोभिजन गर्दा नाफा घटेको हो। चालू आव वाणिज्य बैंकहरूको खुद नाफा १८.६० प्रतिशतले घटेको छ। जसमा १२ वाणिज्य बैंकहरूको खुद नाफा ६.५१ देखि ५०१.९३ प्रतिशतसम्मले घटेको हो। नाफा घट्ने बैंकमा अधिकांशको निष्क्रिय कर्जा र त्यसमा हुने प्रोभिजन बढेको तथ्यांकले देखाउँछ।
गत आर्थिक वर्ष पहिलो त्रैमासमा आर्जित नाफाको तुलनामा चालू आव सोही अवधिमा सबैभन्दा बढी कृषि विकास बैंकको ५०१.९३ र सबैभन्दा कम नबिल बैंकको नाफा ६.५१ प्रतिशतले घटेको छ।
नाफा घटेका १२ वाणिज्य बैंकमा लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकबाहेक सबैले कर्जामा करोडौं रुपैयाँ प्रोभिजन गरेका हुन्।