काठमाडौं। अधिकांश वाणिज्य बैंकले कर्जा ब्याजदर घटाएका छन्। गत आर्थिक वर्ष पहिलो त्रैमासको तुलनामा चालू आव सोही अवधिमा वाणिज्य बैकहरूको औसत आधारदर (बेसरेट) घटेसँगै कर्जाको ब्याजदर पनि ०.०७ प्रतिशत बिन्दुले घटेको हो।
गत आर्थिक वर्ष असोज मसान्तसम्म वाणिज्य बैंकहरूको औसत बेसरेट १०.०७ प्रतिशत थियो। जुन चालू आव सोही अवधिमा १० प्रतिशत कायम भएको वाणिज्य बैंकहरूद्वारा प्रकाशित वित्तीय विवरणमा छ।
बैंकले बेसरेटलाई आधार बनाएर कर्जाको प्रकारअनुसार त्यसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्छन्। कर्जा लिन इच्छुकले बैंकको कर्जाको प्रडक्टअनुसार ब्याजदर हेर्नुभन्दा पहिला कर्जा लिन ब्याजदर कति छ भनेर बुझ्नुपर्छ।
बैंकहरूले मासिक वा त्रैमासिक बेसरेट परिवर्तन गरिरहेका हुन्छन्। बेसरेट परिवर्तनसँगै कर्जाको ब्याजदरमा परिवर्तन आउने हुन्छ। कर्जा लिने व्यक्तिले कुनै एक बैंकबाट कर्जा लिनुअगाडि सञ्चालनमा रहेका सबै बैंकको बेसरेट कति छ र ती बैंकको बेसरेट कहिले परिवर्तन हुन्छ भनेर निक्र्याेल गर्न अतिआवश्यक हुन्छ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केही बैंकको बेसरेट उच्च हुनुका साथै तिनका बेसरेट पनि छिटोछिटो परिवर्तन भइरहेका छन्। त्यस्ता बैंकको कर्जाको ग्राहक बन्दा भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्छ।
बैंकहरूबाट ग्राहकले कर्जा लिँदा ब्याजदर निर्धारण गर्दा बेसरेटमा मोलमोलाई गर्न पाउँदैनन्। बैंकले ग्राहकको सम्बन्ध र मोलमोलाई क्षमताअनुसार प्रिमियममा थपघट गरेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। त्यसैले ग्राहकले पहिले नै थोरै बेसरेट भएका बैंक रोजेर कर्जा लिनु उपयुक्त हुन्छ।
चालू आव असोज मसान्तसम्म ९ वाणिज्य बैंकको बेसरेट एकल अंक अर्थात १० प्रतिशतभन्दा कम छ। उक्त अवधिमा ११ बैंकको बेसरेट १० प्रतिशतमाथि ११ प्रतिशतसम्म छ।
सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये सबैभन्दा कम बेसरेट स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.४२ प्रतिशत र सबैभन्दा बढी कुमारी बैंकको १०.९१ प्रतिशत छ।
यस्तै गत आव पहिलो त्रैमासको तुलनामा चालू आव पहिलो त्रैमासमा ११ बैंकले बेसरेट घटाएका छन् भने ९ ले बढाएका छन्। यसबीच बेसरेट घटाउने बैंकले न्यूनतम ०.०८ प्रतिशत बिन्दु र अधिकतम ०.९० प्रतिशत बिन्दुसम्मले घटाएका हुन्।
साथै, ९ वाणिज्य बैंकले न्यूनतम ०.०३ प्रतिशत बिन्दुदेखि अधिकतम ०.८१ प्रतिशत बिन्दुसम्मले बेसरेट बढाएका छन्।