काठमाडौं। नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी मेन्स टी–२० विश्वकप क्रिकेटमा छनौट भएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रोपटक विश्वकपमा छनौट भएको हो।
युएईले दिएको १ सय ३५ रनका लक्ष्य नेपालले १७.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा विकेट किपर आशिफ शेखले अर्धशतकीय पारी खेले। उनले ५१ बलमा दुई छक्का र ६ चौकाको सहयोगमा ६४ रन बनाए।
कप्तान रोहित पौडेलले एक छक्का र तीन चौकाको सहयोगमा ३५ रन बनाए भने गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए। युएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक÷एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ३४ रन बनायो। युएईका लागि विकेट किपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए। उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे।
कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए। आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए। साथै, सोमपाल कामी र रोहित पौडेलले एक÷एक विकेट लिए। दुई ब्याटर रन आउट भए।
नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो।
समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
आजै भएको पहिलो सेमिफाइलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ। आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन्।