काठमाडौं। मुलुकको अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको असर बैंकहरुको वित्तीय विवरणमा देखिएको छ। समग्र अर्थतन्त्रमा छाएको आर्थिक मन्दीको प्रभाव वाणिज्य बैंकहरुको खुदनाफा गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १८ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकले १६ अर्ब ५५ करोड ७ लाख रुपैयाँ खुदनाफा कमाएका थिए। जुन चालू आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७ करोड ८७ लाख रुपैयाँले घटेर १३ अर्ब ४७ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले आर्जन गरेको नाफाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आर्जन गरेको कुल खुदनाफामा भने १८.६० प्रतिशत घटेको हो।
यद्यपी, उक्त अवधिमा १२ वाणिज्य बैंकहरुको खुदनाफा ६.५१ प्रतिशतदेखि ५०१.९३ प्रतिशतसम्म घट्दा वाणिज्य बैंकहरुको औसत नाफामा ३६.२८ प्रतिशतको गिरावट आएको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा आर्जित नाफाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा सबैभन्दा बढी कृषि विकास बैंकको ५०१.९३ प्रतिशत र सबैभन्दा कम नबिल बैंकको ६.५१ प्रतिशत नाफा घटेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नाफा घटाउने बैंकहरु कृषि विकास बैंकको ५०१.९३ प्रतिशत घट्दा ८८ करोड ८० लाख रुपैयाँ नाफा ऋणात्मक भएको छ।
यस्तै सिद्धार्थ बैंकको ९१.४० प्रतिशत घटेर ४ करोड २८ लाख, लक्ष्मी सनराईजको ७९.५३ प्रतिशत घटेर १० करोड ३० लाख, नेपाल बैंकको ७६.४३ प्रतिशत घटेर १४ करोड २३ लाख, कुमारी बैंकको ७३.६४ प्रतिशत घटेर २६ करोड ३९ लाख र एनआइसी एसिया बैंकको ४२.४९ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।
उक्त अवधिमा राष्ट्रिय वाणिज्य बैंकको ३१.०३ प्रतिशतले घटेर ८५ करोड ९८ लाख रुपैयाँ, नेपाल एसबिआइ बैंकको २३.६२ प्रतिशत घटेर ४७ करोड ९१ लाख, सिटिजन्स बैंकको १९.७० प्रतिशत घटेर ४० करोड २४ लाख, एभरेष्ट बैंकको ९.४५ प्रतिशत घटेर ७८ करोड ७ लाख र नबिल बैंकको ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँमा सीमित भएको हो।
मन्दीका बीचमा नाफा बढाउने ८ वाणिज्य बैंक
समग्र अर्थतन्त्रमा परेको आर्थिक मन्दीबीच पनि ८ वाणिज्य बैंकले भने बढाएका छन्। गत आर्थिक वर्षको पहिलो त्रैमासमा आर्जन गरेको खुदनाफा चालु आर्थिक वर्षको सोही अवधिमा वृद्धि गरेका छन्।
उक्त अवधिमा यी ८ वाणिज्य बैंकले २.०१ प्रतिशतदेखि ९८.३५ प्रतिशतसम्म नाफामा वृद्धि गरेका हुन्। जसमा सबैभन्दा बढी हिमालयन बैंक र सबैभन्दा कम वृद्धि स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चाचू आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकले ९८.३५ प्रतिशत बढाएर १ अर्ब ५ करोड ६१ लाख, प्रभु बैंकले ४६.७० प्रतिशत बढेर १ अर्ब ३ करोड ४२ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३३.४७ प्रतिशत वृद्धि गरेर १ अर्ब ५२ करोड २२ लाख, प्राइम कमर्शियल बैंकले ३१.७३ प्रतिशत बढाएर १ अर्ब १५ करोड १५ लाख र माछापुच्छ्रे बैंकले २०.१८ प्रतिशत वृद्धि गरेर ५४ करोड २२ लाख रुपैयाँ खुदनाफा कमाएको छ।
उक्त अवधिमा एनएमबी बैंकले ६.५३ प्रतिशत वृद्धि भई ९६ करोड ३२ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकले ३.०४ प्रतिशतले वृद्धि गरेर १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.०१ प्रतिशत बढेर ८२ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ।