काठमाडौं। विशाल ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानीमा सञ्चालित यती ब्रुअरी लिमिटेडको बियर व्यापार झण्डै ३६ प्रतिशत घटेको छ। एक वर्षमा यतीले २ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बियर व्यापार गरेको छ।
सन् २०२२ मा यतीको बियर व्यापार ३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ थियो। एक वर्षको बीचमा यतीको बियर व्यापार ८९ करोड रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
सुस्त आर्थिक गतिविधिका कारण मागमा आएको कमिले गर्दा बियर व्यापारमा कमी आउँदा आम्दानीमा असर परेको यतीले जनाएको छ।
यतीले सन् २०२१ मा २ अर्ब ९९ करोड १० लाख रुपैयाँको बियर व्यापार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
यतीले अर्ना, यती, शिखर, वाइबी, किङफिसर एन्ड सेभन सिन्सलगायत ६ प्रकारका बियर उत्पादन गर्दै आएको छ। यतीका देशभरि २ सय १४ वितरक रहेका छन्। अन्तर्राष्ट्रिय कम्पनीहरुका कारण बियरको कच्चा वस्तुको भाउ पनि बढेको छ। कुल आम्दानीको ४६ प्रतिशत रकम कच्चा वस्तु खरिदमा खर्च हुने गरेको यतीले जनाएको छ।
कम्पनीमा सबैभन्दा बढी स्वामित्व सञ्जिव सर्राफको छ। उनको ३२.८४, जयजीव सर्राफको ११.९९ र विशाल अग्रवालको ६.९२ प्रतिशत स्वामित्व छ।
यतीको ऋण २ अर्ब ९७ करोड रुपैयाँ छ। सो ऋणको रेटिङ गराएको छ। बियर उत्पादन विस्तारमा लगानी बढाउँदा ऋण भार १ अर्ब ३० करोड ७० लाख रुपैयाँ बढेको यतीले जनाएको छ। यस्तै चालू पुँजी कर्जा पनि बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
उद्योग सन् २०१३ मा स्थापना भएको हो। यतीले बियर उत्पादन सन् २०१७ देखि सुरु गरेको हो। यती ब्रुअरीको बियर प्लान्ट चितवनमा छ। उद्योग सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो। उद्योगले वार्षिक ३ करोड ६० लाख लिटर बियर उत्पादन गर्छ।
उद्योगले भारतको युनाइटेड ब्रुअरी लिमिटेडबाट ट्रेडमार्क प्राप्त गरेको छ। किङफिसर बियरका लागि यतीले युनाइटेबाट ट्रेडमार्क प्राप्त गरेको हो। यो ब्राण्डको बियर विभिन्न ६० मुलकमा उपलब्ध रहेको छ। यतीले सन् २०१८ देखि किङफिसर ब्राण्डको उत्पादन थालेको हो।