काठमाडौं। पछिल्लो समय आर्थिक मन्दीका कारण उपभोक्ताले गर्ने खर्चमा निकै संकुचन आएको छ। अघिल्ला वर्षका दसैैंतिहार जस्ता चाडपर्वमा हरेक क्षेत्रका सामग्री खरिद–बिक्री ठूलो मात्रामा हुने गरेको थियो।
यो वर्ष भने यसमा संकुचन आएको व्यवसायी बताउँछन्। विशेषगरी दसैंतिहारका बेला नेपालमा स्मार्ट फोन (मोबाइल) बिक्री पनि ठूलो मात्रामा हुने गरेको थियो।
तर, यसपालि दसैंमा भने निकै कम मोबाइल खरिद–बिक्री भएका छन्। बिक्री हुने अधिकांश मोबाइल पनि २० हजार रूपैयाँभन्दा कम मूल्यका छन्।
मोबाइल बिक्रेताका अनुसार अघिल्ला वर्षहरूमा २० हजारभन्दा माथि र ३० हजारभन्दा तलका मोबाइल बढी मात्रामा बिक्री हुन्थे। यस्तै ३० हजारभन्दा माथिका मोबाइलको बजार अवस्था पनि राम्रै थियो।
यही मन्दीका कारण यस वर्ष भने विगत वर्षका दाँजोमा त्यो अवस्था कायम नरहेको स्मार्ट फोन व्यापार गर्दै आएको सारडा ग्रुपका प्रबन्ध निर्देशक गौरव सारडा बताउँछन्।
उनका अनुसार यस वर्ष २५/३० हजारभन्दा बढी मूल्यका मोबाइल खरिद–बिक्रीको अवस्था कमजोर छ भने २० हजार मूल्यहाराहारीका मोबाइल बढी बिक्री हुने अवस्थाबाट हाल १४/१५ हजारका मोबाइलको बिक्री बढी भइरहेको छ।
‘अघिल्ला वर्षहरूमा २० हजार र त्योभन्दा बढी मूल्यका मोबाइलको बिक्री बढी मात्रामा हुने गरेको थियो। तर, यस वर्ष भने २० हजारभन्दा कम मूल्यका तथा विशेषगरी १४/१५ हजार मूल्यका मोबाइल बढी बिक्री भइरहेका छन्,’ प्रबन्ध निर्देशक सारडा भन्छन्, ‘यो अवस्थाले नेपालीको खरिद क्षमता ह्रास आएको देखिन्छ।’
उनले दसैंतिहार जस्ता चाडपर्वमा सहरबाट गाउँ फर्कनेले ठूलो मात्रामा मोबाइल लग्ने गरेको बताए। तर, यसपालि भने संख्यात्मकरूपमा पनि कम मोबाइल खरिद भएको र खरिद भएका मोबाइल पनि तुलनात्मकरूपमा कम मूल्यका रहेको उनको भनाइ छ। अधिकांश उपभोक्ताले आफूले गर्ने खर्च कटौती गरेको उनले बताए।
‘अघिल्ला वर्षहरूमा जुन मूल्यका मोबाइल बढी मात्रामा बिक्री हुन्थे, यस वर्ष त्योभन्दा निकै कम मूल्यका मोबाइल बढी बिक्री भएका छन्,’ उनले भने, ‘यसले हामी अझै आर्थिक मन्दीमा रहेको र नेपालीको खरिद क्षमता कमजोर रहेको पुष्टि गर्छ।’
सारडाका अनुसार दसैंका बेला बजारमा सुधार आउने अपेक्षा व्यवसायीले गरे पनि स्मार्टफोन बिक्री हुन सकेन।
चाडपर्व लक्ष्यित मोबाइल फोन व्यापार बढाउन न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले यस वर्ष व्यापार मेला सञ्चालन गरेको थियो। सोही मेलाका कारण गत वर्षको तुलनामा यस वर्ष ताम्राकार कम्प्लेक्सको मोबाइल बिक्री वितरणमा कमी नआएको मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष गुरुदत्त शर्मा बताउँछन्।
‘हामीले मेला आयोजना गरेका कारण ताम्राकार कम्प्लेक्सको मोबाइल व्यापारमा विगत तुलनामा खासै कमी आएन। यदि मेला आयोजना नभएको भए व्यापार निकै कम हुने देखियो,’ शर्मा भन्छन्, ‘अन्य ठाउँ र क्षेत्रको बजारमा भने अघिल्ला वर्षमा जस्तो व्यापार हुन नसकेको कुराहरू आइरहेका छन्।’
शर्माले पनि विगतमा बढी मात्रामा २० हजार रुपैयाँहाराहारीका मोबाइल बिक्री हुने गरेकोमा यस वर्ष त्यसमा केही कमी आएको बताए। यद्यपि, यस मूल्यका मोबाइलको बिक्री अवस्था पनि राम्रै रहेको उनको भनाइ छ।
चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा ६ लाख ४२ हजार ४ सय १५ थान स्मार्टफोन नेपाल भित्रिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष पहिलो तीन महिना अर्थात साउनदेखि असोज मसान्तसम्ममा ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको स्मार्टफोन आयात भएको हो।जसबाट सरकारले कुल १ अर्ब ७५ करोड ८९ लाख ५३ हजार रुपैयाँबराबर राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा भने ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँबराबरको ६ लाख १८ हजार ५ सय २० थान स्मार्टफोन आयात भएको थियो।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्ष असोज मसान्तमा ८९ करोड ८८ लाख २९ हजार रुपैयाँ बढी हो। यस्तै गत वर्षको तुलनामा यस वर्ष आयात भएको स्मार्टफोन २३ हजार ८ सय ९५ थान बढी रहेको विभागको तथ्यांकमा छ।
तथ्यांकअनुसार चालू आर्थिक वर्ष साउनमा २ अर्ब ८६ करोडबराबरको १ लाख ७९ हजार ९ सय ९७ थान स्मार्टफोन आयात भएको थियो भने भदौमा २ अर्ब ४९ करोडबराबरको १ लाख ८६ हजार ४ सय ८४ थान मार्टफोन आयात भएको थियो।
यस्तै असोजमा भने सबैभन्दा बढी ४ अर्ब रुपैयाँबराबरको २ लाख ७५ हजार ९ सय ३४ थान स्मार्टफोन नेपाल भित्रिएको छ।
असोजमा भने व्यवसायीले दसैै तिहारमा बिक्री धेरै हुने अपेक्षासहित बढी मोबाइल भित्र्याएको देखिन्छ। विभागको तथ्यांकअनुसार नेपालमा ४० देशबाट स्मार्टफोन आयात हुने गरेको छ।
चालू आर्थिक वर्ष पहिलो तीन महिनामा सबैभन्दा बढी चीनबाट ४ लाख ५५ हजार ८ सय ९८ थान स्मार्टफोन भित्रिएको छ।
यस्तै भारतबाट १ लाख ८५ हजार २ सय ८ थान र भियतनामबाट ३ सय ७३ थान स्मार्टफोन आयात भएको छ। तथ्यांकअनुसार अन्य ३७ देशबाट ९ सय ३६ थान स्मार्टफोन नेपाल भित्रिएको छ।