काठमाडौं। ललितपुर थसिखेलमा विद्युतीय गाडी (इभी) सेरेसको शोरुम सञ्चालनमा आएको छ। सिल्भर मुन मोटर्सले सेरेसको दोस्रो शोरुम सञ्चालनमा ल्याएको हो। यसअघि काठमाडौं पानीपोखरीमा पहिलो शोरुम सञ्चालनमा ल्याएको थियो।
अटोमोबाइल क्षेत्रमा काम गरेको छोटो समयमै एमएडब्लु ग्रुपसँग सहकार्य गर्न पाएकोमा आफू निकै उत्साहित भएको सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारीले बताए। ‘यो क्षेत्रमा अनुभव कम भए पनि हामीलाई विश्वास गर्नुभएकोमा एमएडब्लु परिवारप्रति आभारी छौं।
हामी ग्राहकलाई जतिसक्दो छिटो, छरितो र सहज तरिकाले सेवा दिने प्रयास गर्छौं,’ उनले भने। यो डिलरसिप लिएपछि सिल्भर मुनले कम्पनी, एमएडब्लु र सेरेस ब्रान्डलाई नै राम्रो बनाउने विश्वास लिएको एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए। त्यस्तै सेरेस ब्रान्ड आफैंमा राम्रो भएकाले ग्राहकको मन जित्ने उनको दाबी छ।
‘म आफैं सेरेसको फ्याक्ट्री हेरेर आएको छु। उनीहरूले निकै अत्याधुनिक तरिकाले गाडी उत्पादन गर्ने रहेछन्। फ्याक्ट्रीमा मान्छेभन्दा रोबोटको प्रयोग धेरै हुने भएकाले पनि गल्तीको गुन्जाइस नगन्य हुन्छ,’ उनले भने, ‘त्यस्तै गाडी उत्पादन भइसकेपछि पनि रोबोटिक जाँचपछि मात्र त्यसलाई योग्य ठहर गरिन्छ। त्यसकारण ग्राहकले प्रडक्टमा कुनै शंका गर्नुपर्दैन।’
त्यसैगरी सेरेसले भविष्यमा अरू पनि धेरै मोडेल ल्याउन लागेकाले ग्राहकले रोजाइअनुसार सेरेसका गाडी किन्न पाउने अग्रवालले बताए। सेरेसका गाडी नेपालको भुगोल सुहाउँदो भएको एमएडब्लु बृद्धि अटोकर्पका बिजनेस हेड प्रसन्न पन्तले बताए।
‘धेरै विद्युतीय गाडीमा ग्राउन्ड क्लियरेन्सको समस्या हुन्छ। त्यो यो गाडीमा छैन,’ उनले भने, ‘ब्रान्डकै हिसाबले युरोपका २१ र संसारभरि ७० देशमा बिक्री वितरण भइरहेको छ। त्यसकारण ग्राहकले कुनै संकोच गर्नुपर्दैन।’