काठमाडौं। चालू आर्थिक वर्ष पहिलो तीन महिनामा खुला बजार कारोबार अर्थात ‘ओभर द काउन्टर’ (ओटिसी) पौने २ अर्ब रुपैयाँबराबर भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दर्ता भएका २९ कम्पनीले १ अर्ब ७१ करोड ६ लाख ६६ हजार रुपैयाँबराबर ओटिसी कारोबार गरेका हुन्।
सेयर ब्रोकरको सहयोगबिना सिधै नेप्सेमार्फत कारोबार गर्न सकिने प्रणाली ओटिसीमा चालू आर्थिक वर्ष पहिलो ३ महिनामा १ करोड ३६ लाख ७२ हजार १ सय २० कित्ता सेयर कारोबार भएको नेप्सेद्वारा सार्वजनिक तथ्यांकमा छ।
गत साउन १ देखि असोज २९ सम्म न्यूनतम ५ हजार कित्तादेखि अधिकतम २९ लाख ४० हजार कित्तासम्म कारोबार भएको हो।
कुन कम्पनीको कारोबार कतिमा?
ओटिसीमा प्रतिकित्ता १ सय रुपैयाँदेखि अधिकतम ९ हजार ३ सय ७५ रुपैयाँसम्म कारोबार भएको नेप्सेको तथ्यांकमा छ। जसमा सबैभन्दा बढी वर्ल्डलिंक कम्युनिकेसनको १३ हजार ३ सय ९२ कित्ता सेयर प्रतिकित्ता ९ हजार ३ सय ७५ रुपैयाँका दरले कूल १२ करोड ५५ लाख ५० हजार रुपैयाँबराबर कारोबार भएको हो।
ओटिसीमा काठमाडौं मेडिकल कलेजको प्रतिकित्ता २ सय ५९ रुपैयाँ ७६ पैसाका दरले ४ लाख ९८ हजार ७ सय ७६ कित्ता १२ करोड ९५ लाख ६२ हजार रुपैयाँ बढी र लक्ष्मी स्टिलको प्रतिकित्ता २ सय रुपैयाँका दरले १ लाख कित्ता सेयर २ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
यस्तै अन्नपूर्ण केबुलकार र बन्दीपुर केबुलकारका प्रतिकित्ता १ सय ४० रुपैयाँ, आइएमई डिजिटल सोलुसनको १ सय ३६ रुपैयाँ ३६ पैसा, नेपाल क्यान्सर हस्पिटलको १ सय १३ रुपैयाँ, बिओके क्यापिटलको १ सय ११ रुपैयाँ, चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्टको १ सय ७ रुपैयाँ, भक्तपुर सामुदायिक हस्पिटलको १ सय ७ रुपैयाँ, मुक्तिनाथ कृषि कम्पनीको १ सय ६ रुपैयाँ, सोनापुर मल्टिपल कम्पनीको १ सय ३ रुपैयाँका दरले ओटिसी कारोबार भएको हो।
त्यसैगरी बरुण इन्भेस्टमेन्ट र इलेक्ट्रोपावर कम्पनीका प्रतिकित्ता १ सय १ रुपैयाँका दरले ओटिसीमा सेयर कारोबार भएको छ। बाँकी १३ कम्पनीको भने प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर कारोबार भएको हो।
के हो ओटिसी कारोबार?
नेप्सेमा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनीको सेयर खरिद–बिक्री हुने प्रणालीलाई खुला बजार प्रणाली अर्थात ओटिसी मार्केट भनिन्छ। नेप्सेले सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था गर्न २०६५ जेठ महिनामा ‘ओटिसी बजार नियमावली, २०६५’ ल्याएर सुरु गरेको हो।
ओटिसी मार्केटमा सेयर खरिद–बिक्री सेयर ब्रोकर अर्थात सेयर मध्यस्थकर्ताबिना नै हुन्छ। यस्तो मार्केट सार्वजनिक बिदाका दिन र शुक्रबारबाहेक बिहान ११ देखि दिउँसो १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ।
उक्त विनियामवलीअनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुट्टै काउन्टर खोली खारिदकर्ता र बिक्रीकर्ताको प्रत्यक्ष सम्पर्कबाट कारोबार हुन्छ।