काठमाडौं। अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित युएस च्येम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ।
नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा युएस चेम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र युएस चेम्बर अफ कमर्सका अन्तराष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन।
एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै युएस चेम्बर अफ कमर्सको सदस्य बन्न सफल भएको हो। जुन ऐतिहासिक उपलब्धी भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताए।
एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न सक्ने अवस्था बनेको शाहको भनाई छ। नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि यो उपलब्धि कोसेढुङ्गा सावित हुने अध्यक्ष शाहले बताए।
अध्यक्ष शाहले एमच्याम नेपालले सन् २०२४ मा नेपालमा युएस–नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा समेत गरे। इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरूको सहभागीता हुनेछ।
अमेरिकी लगानीमा अहिले नेपालमा उर्जा, सूचनाप्रविधि तथा पर्यटन लगायतका क्षेत्रमा लगानी हुँदै आएको छ। एमच्याम नेपालमा हालसम्म ४४ सदस्य रहेका छन। जहाँ १५ हजारभन्दा बढीले प्रत्यक्ष र लाख बढीले अप्रत्यक्ष रोजगारी पाएका छन। विश्वभर १३० मुलुकमा युएस चेम्बर अफ कमर्सका च्याप्टर (एमच्याम) हरु रहेका छन। जहा ३० लाख बढी व्यवसायिक संस्था आवद्ध छन।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपालको टोली अमेरिकाको औपचारिक भ्रमणमा रहेकै समयमा एमच्याम नेपालले सदस्यता पाउनुलाई महत्वका साथ हेरिएको छ।