काठमाडौं। पछिल्लो समय नेपालमा बढ्दो हेलिकोप्टर दुर्घटनापछि रि–इन्स्योरेन्स कम्पनीहरू नेपालमा बिमा नै नगर्ने मनस्थितिमा पुग्न थालेका छन्।
विदेशी रि–इन्स्योरेन्स कम्पनीको एजेन्टका रूपमा नेपालमा काम गर्दै आएका बिमा कम्पनीहरूमार्फत हेलिकोप्टर कम्पनीलाई बिमा गर्न गाह्रो हुन लागेको सन्देश पठाउन थालेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार २०७९ र २०८० कात्तिकसम्म चार कम्पनीका ५ थान हेलिकोप्टर दुर्घटनामा परेका थिए। दुई वर्ष अन्तरालमा ५ हेलिकोप्टर र एक जहाज दुर्घटनामा परेपछि नेपालमा बिमा गराउँदै आएका रि–इन्स्योरेन्स कम्पनीहरूले नेपालबाट हात झिक्ने मनस्थिति बनाउन लागेका हुन्।
जोखिमपूर्ण मानिएको एयरलाइन्समा बिमा गराउँदै आएका विदेशी रि–इन्स्योरेन्स कम्पनीहरूले पछिल्लो समय हेलिकोप्टरको बिमा नै नगराउने र गरिरहेकाको पनि प्रिमियम बढाउन लागेका छन्।
हेलिकोप्टर कम्पनील दुर्घटनाअघि बिमावापत हेलिकोप्टरको कुल मूल्यको ३ प्रतिशत वार्षिक प्रिमियम तिर्दै आएका थिए। तर, दुर्घटनादर बढेसँगै रि–इन्स्योरेन्स कम्पनीले प्रिमियम शुल्क बढाएर ८ देखि ९ प्रतिशतसम्म पु¥याउने तयारी गरेका छन्।
एक हेलिकोप्टर कम्पनीका सञ्चालकका अनुसार अहिले बिमा गराउन नै आनाकानी गरिरहेका छन्। दुर्घटना दरलाई लिएर विदेशी रि–इन्स्योरेन्सले नेपालमा बिमा नै गराउन नचाहेको र गरिहाले पनि महँगो शुल्क लिन खोजेको ती व्यवसायीको भनाइ छ।
नेपालमा ‘युके बेस’ (फ्रान्स र रुस) का रि–इन्स्योरेन्स कम्पनीले हेलिकोप्टर र एयरलाइन्सको बिमा गराउँदै आएका छन्। ती कम्पनीले नेपालमा रहेका आफ्ना एजेन्टमार्फत बिमा नगराउने र नवीकरणका बेला प्रिमियम शुल्क बढाउने सन्देश पठाइरहेको हेलिकोप्टर कम्पनी सञ्चालकहरूको भनाइ छ।
उसै त बैंक ब्याज बढेर किस्ता र ब्याज तिर्न नै धौधौमा व्यवसायी परिरहेका बेला बिमा कम्पनीले पनि प्रिमियम बढाउन लागेको हल्ला सुनेको कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेको भनाइ छ। दुर्घटना धेरै हुने कम्पनीहरूसँग प्रिमियम बढी लिने र दुर्घटना नहुनेको प्रिमियम भने न्यूनतम नै लिने गरेको उनले बताए।
दुई वर्षमा ५ हेलिकोप्टर दुर्घटनामा
दुई वर्ष अवधिमा ४ हेलिकोप्टर कम्पनीका ५ हेलिकोप्टर दुर्घटनामा परेका छन्। प्राधिकरणले दिएको जानकारीअनुसार २०८० असोज २७ मा सोलुखुम्बु लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना परेको थियो।
यसैगरी सोही कम्पनीको हेलिकोप्टर सोलुबाट काठमाडौं आउने क्रममा २०८० असारमा सोलुखुम्बुमै दुर्घटना भएको थियो। त्यस्तै सिम्रिक एयरको हेलिकोप्टर २०८० वैशाख २२ गते संखुवासभामा दुर्घटनामा परेको थियो।
यस्तै २०७९ चैत २६ मा हेली एभरेस्टको हेलिकोप्टर दुर्घटना भएको थियो भने २०७९ चैत २५ मा एयरडाइनेस्टीको हेलिकोप्टर ह्याम्स अस्पतालमा अतवरण क्रममा दुर्घटनामा परेको थियो।