कर्नाटका, भारत। एथर इनर्जी हाल भारतको अग्रणी विद्युतीय दुईपाङ्ग्र्रे सवारीसाधन कम्पनीमध्ये एक हो। तरुण मेहता र स्वप्निल जैनले सन् २०१३ मा स्थापना गरेको एथर इनर्जीले हाल ‘एथर ४५० एस’, ‘एथर ४५० एक्स’ र ‘एथर ४५० एक्स प्रो’ नामक विद्युतीय स्कुटर उत्पादन गरिरहेको छ।
यतिमात्र होइन, एथर भारतको सबैभन्दा ठ्लो चार्जिङ नेटवर्क इलेक्ट्रिक स्कुटर कम्पनी पनि हो। कम्पनीले भारतका ८० भन्दा धेरै सहरमा १ हजारभन्दा धेरै चार्जिङ स्टेसन बनाइसकेको छ भने २०२३ अन्त्यसम्ममा २ हजार ५ सयवटा बनाउने लक्ष्यसाथ काम गरिरहेको छ।
हालसम्म एथरका १ लाख ५० हजारभन्दा धेरै स्कुटर गुडिरहेका छन् भने ती स्कुटरले कुल १ अर्ब ३० करोड किलोमिटर दुरी पार गरिसकेका छन्।
एथरको तमिलनाडुस्थित ३ लाख वर्गफिट क्षेत्रफल ओगटेको प्लान्टमा मासिक ३५ हजार स्कुटर उत्पादन हुन्छ। कम्पनीमा १ हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन्।
यो प्लान्टमा कम्पनीले ब्याट्रीका लागि ५ र स्कुटर उत्पादन गर्न २ वटा निर्माण लाइनअप बनाएको छ। त्यसैगरी कम्पनीले स्कुटर निर्माणमा प्रयोग हुने पार्ट्स आफ्नो डिजाइन दिएर आउट सोर्सिङ पनि गर्छ।
भारतमा आक्रामक बजार विस्तार गरिरहेको एथरले अन्तर्राष्ट्रिय बजारका रूपमा पहिलोपटक नेपाली बजारमा ‘डेब्यु’ गर्न लागेको छ।
वैद्यज अर्गनाइजेसनअन्तर्गतको वैद्य इनर्जीले नेपालमा एथर ब्रान्ड ल्याउन लागेको हो। कम्पनीले पहिलो चरणमा एथर ४५० एक्सका दुई भेरिएन्ट नेपाली बजार ल्याउँदै छ।
२.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको भेरिएन्टले फुल चार्जमा १ सय ११ किलोमिटर रेन्ज दिन्छ भने यसको फुल स्पिड ९० किलोमिटर प्रतिघन्टा छ। यो ३.३ सेकेन्डमा शून्य देखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ।
त्यस्तै, ३.७ किलोवाट आवर ब्याट्री क्षमता भएको भेरिएन्टले फुल चार्जमा १ सय ५० किलोमिटर रेन्ज दिन्छ।
९० किलोमिटर प्रतिघन्टा टप स्पिड भएको यो स्कुटर ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ।
अत्याधुनिक डिजिटल सिस्टममा बनाइएका यी स्कुटरमा ७ इन्चको टच स्क्रिन डिस्प्ले छ। यसको मद्दतमा चालकले सजिलैसँग फोन कल गर्न, गीत सुन्न, गुगल म्याप प्रयोगलगायत काम गर्न सक्छ। त्यस्तै यसमा हिल होल्ड एसिस्ट, रिभर्स गियरलगायत फिचर छन्।
ग्राहक सुविधाका लागि वैद्य इनर्जीले देशका विभिन्न स्थानमा फास्ट चार्जिङ स्टेसन बनाउने तयारी गरेको छ।
एथर इनर्जी ग्राहकलाई सस्तोमा गुणस्तरीय सवारीसाधन उपलब्ध गराउन लागि परेको एथर इनर्जीका हेड अफ म्यानुफ्याक्चरिङ सञ्जीवकुमार सिंहले बताए।
‘अहिले एथर स्कुटरले भारतीय ग्राहकको मन जितिसकेको छ। अन्तर्राष्ट्रिय बजारका रूपमा यो पहिलोपटक नेपाली बजार जाँदैछ,’ सिंहले क्यापिटल नेपालसँग भने, ‘नेपाल र भारतको भौगोलिक अवस्था र ग्राहकको रोजाइ उस्तै रहेकाले यो नेपालमा पनि सफल हुने हाम्रो अपेक्षा छ।’
ग्राहकले एथरका स्कुटर किन्दा मूल्य, सर्भिस र स्पेयर पार्ट्सको चिन्ता गर्नु नपर्ने बैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यान्श वैद्यले बताए।
‘विद्युतीय सवारीसाधनको मूल्य र बिक्रीपछिको सेवामा धेरै ग्राहकको चिन्ता छ। यो चिन्ता हटाउन वैद्य इनर्जीले हरसम्भव प्रयास गर्छ,’ उनले भने।