काठमाडौं। वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) निलम्बन भएको ६ महिना कटिसक्दा पनि उडानका लागि कुनै चासो नदेखाएपछि निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सको लाइसेन्स नै खारेजीको चरणमा अगाडि बढेको छ।
मुलुकको हवाई उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले एओसी निलम्बन गरेको ६ महिनाभन्दा बढी समय बितिसक्दा समेत खुला गर्न बेवास्ता गरेसँगै गुणलाई खारेजीको चरणमा प्रवेश गराएको हो।
आर्थिक संकट गहिरिएर कर्मचारीलाई तलबसमेत दिन सक्ने स्थिति नभएपछि प्राधिकरणले २०७९ फागुनमा गुण एयरलाइन्सको सम्पूर्ण उडान अनिश्चितकालका लागि बन्द गराएको थियो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एओसी निलम्बन गरेको ६ महिनाभित्र फुकुवा नभए खारेजीको चरणमा जाने भएकाले त्यहीअनुसार आवश्यक प्रक्रियाका लागि छलफल अगाडि बढेको बताए। गुणले हालसम्म प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकमसमेत तिर्न सकेको छैन।
हालसम्म गुणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न विमानस्थलमा शुल्कवापत करिब ६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ। लामो समयदेखि बक्यौता रकम तिर्न नसकेपछि गुणले राखेको १ करोडबराबरको बैंक ग्यारेन्टी प्राधिकरणले तानेको छ। उसले बक्यौता तिर्न ढिला भएपछि ६ महिनाअघि नै १ करोडको बैंक ग्यारेन्टी दिएको थियो।
‘बक्यौता रकम तिर्न ढिलाइ गरेपछि बैंक ग्यारेन्टी तानिएको हो,’ सूचना अधिकारी भुलले क्यापिटल नेपालसँग भने, ‘अहिले अर्थ विभागबाट पनि गुणलाई ताकेता गरिएको छ।’
एओसी निलम्बन गरेदेखि नै गुणका कुनै पनि सञ्चालक प्राधिकरणको सम्पर्कमा आएका छैनन्। प्राधिकरणले उडान बन्द गराएपछि आफूसँग भएका पाँचवटै जेटस्ट्रिम जहाज बेच्न लागेको जवाफ मौखिकरूपमा दिएको थियो।
हुन त गुणले आफ्नो जहाज बिक्रीका लागि विदेशका विभिन्न कम्पनीसँग डिल गरे पनि हालसम्म फाइनल हुन सकेको छैन। जहाज बिक्री वा सञ्चालनका लागि पनि एओसी नवीकरण भएको हुनुपर्छ। तर, लामो समयदेखि बक्यौता नतिरेको भन्दै प्राधिकरणले गुणको एओसी निलम्बन गरिरहेको छ।
एओसी निलम्बन भएको ६ महिना कटेपछि कानुनतः खारेजीको प्रक्रिया अगाडि बढ्ने प्राधिकरणले जनाएको छ। ‘सकेसम्म हामी एओसी खारेजीको पक्षमा छैनौं,‘ सूचना अधिकारी भुलले भने, ‘सञ्चालकहरू सम्पर्कमै नआएपछि त बाध्य भएर कानुनी प्रक्रियाअनुसार अगाडि बढ्न बाध्य हुनेछौं।’
एक वायुसेवा सञ्चालकले बैंक ग्यारेन्टी नै प्राधिकरणले तान्नु भनेको खारेजीकै लाइनमा अगाडि बढेसरह हुने बताए। ‘चलिरहेको कम्पनी लामो समयसम्म बन्द हुनु एयरलाइन्स बिजनेसका लागि दुखद विषय हो,’ उनले भने।
गुणसँग हाल पाँचथान ‘जेटस्ट्रिम’ र दुईथान ‘बिचक्राफ्ट’ जहाज छन्। कोभिड–१९ र त्यसपछि जारी आर्थिक मन्दीका कारण पर्यटन क्षेत्रमा परेको असरको प्रत्यक्ष प्रभाव गुणमा परेको थियो।
खासगरी जेटस्ट्रिममा अन्य जहाजभन्दा सञ्चालन खर्च नै धेरै हुने भएकाले पनि सञ्चालकहरू मारमा परेका थिए। अन्य जहाजभन्दा जेटस्ट्रिमले इन्धन धेरै खपत गर्ने र पार्टपुर्जासमेत महँगो भएपछि ती जहाज बिक्री गरेर ‘एटिआर’ जहाज ल्याउने योजना गुणका सञ्चालकको थियो।
तर, जारी आर्थिक मन्दीका कारण आर्थिक संकटमा पर्दै गएपछि ती जहाज विमानस्थलमै थन्काएर राखिएका छन्। जहाज पार्किङमै राखिरहँदासमेत पार्किङ शुल्क, बिमा प्रिमियम र बक्यौता रकम बढिरहेको छ।
एओसी खारेज भए के हुन्छ?
कुनै पनि एयरलाइन्सको एओसी खारेज भए त्यो कम्पनी सञ्चालन नै हुन पाउँदैन भन्ने छैन। तर, एकपटक खारेज भएपछि पुनः सुरुवात गर्न प्रक्रियाहरू नयाँ दर्ता गरेर सञ्चालन गरेजस्तै हुनेछ। विभिन्न चरणका प्रक्रिया पूरा गर्न न्यूनतम एकदेखि दुई वर्षसम्म लाग्ने गर्छ।