काठमाडौं। कर्जाको माग नहुँदा पछिल्लो समय बैंकहरूमा लगानीयोग्य रकम (अधिक तरलता) बढ्दो छ। कात्तिक दुई सातामै प्रणालीमा ७६ करोड २५ लाख रुपैयाँ तरलता थप भएको हो।
कात्तिक १ सम्म बैंकिङ प्रणालीमा ७९ अर्ब ९४ करोड ९० लाख रुपैयाँ अधिक तरलता मौज्दात थियो। जुन कात्तिक १३ सम्म आइपुग्दा बढेर ८० अर्ब ७१ करोड १५ लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा छ।
प्रणालीमा अधिक तरलता हुँदा बैंकहरूको कर्जा तथा निक्षेप अनुपात (सिडी) रेसियोसमेत अधिक सहज अवस्थामा छ। गत असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत सिडी रेसियो ८१.५० प्रतिशत कायमा छ भने १७ वाणिज्य बैंकको सिडी रेसियो ८५ प्रतिशत तल छ।
राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षदेखि बैंकहरूलाई ९० प्रतिशत सिडी रेसियो कायम गरेर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ। अर्थात, बैंकहरूले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँसम्म कर्जा लगानी गर्न पाउँछन्।
बैंकहरूले ९० प्रतिशतभन्दा माथि सिडी रेसियो कटाएर व्यवसाय गर्दा राष्ट्र बैंकको कारबाहीमा पर्छन् भने ८५ प्रतिशतभन्दा तल सिडी भएका बैंकमा कर्जायोग्य रकम पर्याप्त भएको प्रष्ट हुन्छ।
वाणिज्य बैंकहरूले गत असोज मसान्तसम्म ५२ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेका थिए। कात्तिक १४ सम्म आइपुग्दा ५८ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी ४३ अर्ब ९६ अर्ब कर्जा प्रवाह गरेका छन्।
यसबीच वाणिज्य बैंकहरूमा ८ अर्ब रुपैयाँ निक्षेप थप हुँदा १३ अर्ब कर्जा प्रवाह भएको छ। बैंकहरूमा कात्ति सुरु हुनुअघि नै कर्जा माग कम हुँदै गएको थियो। यहीबीच दसैं पर्दा बैंकहरूमा कर्जा माग कम भएको बैंकरहरूको भनाइ छ।
चाडपर्वका बेला कर्जा माग नहुँदा बैंकहरूमा पैसा थुप्रिएको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका नेपाल बैंकर्स संघ उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘अहिले बैंकहरूमा कर्जायोग्य रकम फालाफाल नै छ, अहिले चार्डपर्वको समय भनेको कर्जाको माग नहुने सिजन भएको हुँदा बैंकहरूमा पैसा थुप्रिएको हो,’ कोइरालाले क्यापिटल नेपालसँग भने, ‘कर्जाको माग घटेकै कारण धेरै बैंक सिडीमा सहज पोजिसनमा बसेका छन्।’
चाडपर्वमा कर्जा माग कम हुँदा बैंकहरूलाई सम्पत्ति तथा दायित्व व्यवस्थापनमा सहज भएको हो। दसैं समाप्त भए पनि तिहार तथा छठपर्व समाप्त नहुँदासम्म मानिसले नयाँ व्यवसाय सुरु नगर्ने हुँदा उक्त समयसम्म बैंकहरूमा कर्जा माग न्यून हुने उनको अनुमान छ।
यसबीच बैंकबाट बाहिरिएको निक्षेपको पैसासमेत ग्राहकले व्यवसायमा लगानी गर्न नभई चाडपर्वमा खर्च व्यवस्थापनका लागि बाहिरिएको कोइरालाको अनुमान छ।
ग्राहकले चाडपर्वका बेला कर्जा माग नगर्दा कर्जायोग्य रकम सबैभन्दा बढी नेपाल बैंकमा र सबैभन्दा कम एनएमबी बैंकमा छ। यी बैंकले आफ्नो क्षमताअनुसार ग्राहकलाई कर्जा दिने ‘स्पेस’ उनीहरूको सिडी रेसियोले प्रष्ट्याएको हो।
असोज मसान्तसम्म नेपाल बैंकको सिडी रेसियो ७३.८६ प्रतिशत हुँदा एनएमबी बैंकको ८७.२५ प्रतिशत कायम थियो। उक्त अवधिमा एनएमबीसहित तीन वाणिज्य बैंकको मात्रै सिडी रेसियो ८५ प्रतिशतमाथि छ।
जसमा कुमारी बैंकको ८६.०३ प्रतिशत र नबिल बैंकको ८५.०९ प्रतिशत कायम थियो। यी बैंकले अन्य बैंकको तुलनामा नयाँ स्रोत व्यवस्थापन नगरी ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा सिडी सीमामाथि पुग्न सक्ने सम्भावना बढी हुन्छ।
माग नहुँदा कर्जायोग्य रकम पर्याप्त हुनेमा हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, लक्ष्मी सनराइज, माछापुच्छ्रे र प्राइम बैंकको सिडी ८३ प्रतिशतमाथि ८५ प्रतिशतबीचमा कायम छ।
त्यस्तै सिटिजन्स, सिद्धार्थ, एनआइसी एसिया, ग्लोबल आइएमई र कृषि विकास बैंकको सिडी रेसियो ८० प्रतिशतमाथि ८३ प्रतिशतसम्म छ।
असोज मसान्तसम्म एभरेस्ट, सानिमा, राष्ट्रिय वाणिज्य, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र नेपाल बैंकको सिडी रेसियो ८० प्रतिशत तल ७३ प्रतिशतसम्म कायम छ।