काठमाडौं। पर्यटकीय गन्तव्य धुलिखेलमा निर्माणाधीन पाँचतारे स्तरको दुसित थानी रिसोर्ट आउँदो फागुन (फेब्रुअरी २०२४) मा सञ्चालनमा आउने भएको छ। थाइल्यान्डको हस्पिटालिटी ग्रुप ‘दुसित थानी हिमालय रिसोर्ट’ ब्रान्डमा व्यवस्थापन तथा सञ्चालन हुने भएको छ।
रिसोर्टको लगानीकर्ता ओम्स्टोन एसिया क्यापिटल (नेपाल) प्रालि (ओएसिपिएल) ले १ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ बैंक ऋण लगानी रहेको छ।
कम्पनीले ६९ करोड स्वपुँजी (इक्विटी) लगाएको छ। जसमा ६३ प्रतिशत बैंक ऋण र ३७ प्रतिशत इक्विटी हो। यसअघि १ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी हुने अनुमान गरिएको थियो।रिसोर्टमा ८५ प्रतिशत दुसित इन्टरनेसनलको लगानी र १५ प्रतिशत ओमस्टोन एसियाको लगानी छ ।
ओम्स्टोनका प्रमुख लगानीकर्ता विष्णु मोर हुन्। युनाइटेड अरब इमिरेट्स (युएई) बसेर व्यवसाय गरिरहेका भारतीय मूलका मोरको भारतको पाम तेल उद्योगमा ठूलो लगानी रहेको छ।
धुलिखेलमा रिसोर्ट निर्माण गर्न मोरले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई साझेदार बनाएका छन्। हमाल नेपाली आतिथ्य सत्कार उद्योगसहित दक्षिण–पूर्वी एसिया र क्यारेबियन क्षेत्रका होटलमा काम गरेका अनुभवी व्यवसायी हुन्।
अन्तर्राष्ट्रिय होटल चेन दुसित थानीको फ्रान्चाइजका रूपमा आगामी २०२३ बाट धुलिखेलमा सञ्चालन ल्याउने भने पनि उक्त रिसोर्ट सञ्चालनमा आउन केही ढिलाइ हुने भएको छ।गत दुसित थानी हिमालयन रिसोर्ट’ गत साउनको दोस्रो साता ‘सफ्ट ओपनिङ’ गरिएको थियो। बौद्ध तीर्थस्थल नमोबुद्ध नजिक रहेको रिसोर्ट काठमाडौंबाट करिब डेढ घण्टाको दूरीमा छ।
रिसोर्टको व्यवस्थापन हेर्न ओएसिपिएलले दुसित थानीसँग १० वर्षको सम्झौता गरेको छ। यो सम्झौता अर्को १० वर्षका लागि पनि नवीकरण हुने समझदारी दुईबीच छ।
बढी पैसा खर्च गर्न गुणस्तरीय पर्यटक लक्ष्य गरी २०१८ बाट रिसोर्ट निर्माण भइरहेको हो। २०२१ जुलाईमा रिसोर्ट सञ्चालनमा आउने गरी परियोजना सुरु भए पनि कोरोना महामारी र रिसोर्टको डिजाइन परिवर्तन भएका कारण पछाडि धेकेलिएको थियो।
रिसोर्टमा ५४ कोठा र १८ भिल्ला रहने छन्। होटलको लागत बढेर प्रतिकोठा ४ करोड २० लाख रुपैयाँ पुगेको रिसोर्टको विकासकर्ता ओम्स्टोन एसियाले जनाएको छ। रिसोर्ट परियोजना घोषणा हुँदा प्रतिकोठा लागत २ करोड ६० लाख अनुमान गरिएको थियो।
रिसोर्टमा ७२ कोठा रहेका छन्। सुरुवाती लागतको तुलनामा रिसोर्टको लागत ७८ प्रतिशत बढेको छ। यसअघि ३१ प्रतिशत बढ्ने अनुमान गरिएको थियो। १८ वटा भिल्ला लिजमा दिने भएको छ। रिसोर्टले २०२५ देखि ऋण तिर्न थाल्ने अनुमान गरिएको छ।
दुसित थानी हिमालयन रिसोर्ट ब्रान्डमा सञ्चालन हुने भएको छ। उक्त रिसोर्ट दुसितको ‘ग्लोबल रिजर्भेसन सिस्टम’ प्रयोग गरिने छ। जसले गर्दा रुम अकुपेन्सी र आम्दानीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।
दुई कम्पनीबीचको सम्झौताअनुसार दुसित थानीले रिसोर्ट सञ्चालनका लागि सम्पूर्ण व्यवस्थापन पनि सम्हाल्ने छ। होटल क्षेत्रमा लगानीकर्ताको अनुभव कम भएका कारण दुसितले नै व्यवस्थापन हेर्न लागेको हो।