काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष डा. बद्री केसीले जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा कायम गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन्।
संघको सन् २०२३-२५ कार्यकालका लागि निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरूलाई पूर्वमन्त्री महेश बस्नेत उपस्थित कार्यक्रममा हुलदङ्गा गर्ने कार्य गरेको उल्लेख गर्दै उनले प्रहरीमा उजुरी दिएका हुन्।
उजुरीमा अन्तर्राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उपविजेता भएका राजेन्द्रकुमार (आरके) शर्मा नेतृत्वमा बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुङ्गाना, ओम शर्मालगायतले संघमा कुनै जानकारी नदिई गैरकानूनी र अनधिकृतरूपमा संघको कार्यालयमा प्रवेश गरी पूर्वमन्त्री बस्नेतलाई गालीगलौच गरी अनुमतिबिना फोटो खिच्ने, व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्याति होच्याइ चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गर्ने कार्य भएको जनाइएको छ।
प्रहरीमा दायर निवदेनमा उक्त हुलदङ्गामा सामेल भएका तर पहिचान हुन नसकेका व्यक्तिहरूलाई संघको र नेपाल राष्ट्र बैंकको सिसिटिभी क्यामेराको फुटेजबाट पहिचान गरी कानूनी कारबाही गरी पाउँ भनी माग गरिएको छ।
कुनै पनि कानूनी कारबाही नभए निजहरूले संघका पदाधिकारीहरूको जीउ, ज्यान र सम्पत्ति एवं संघको सम्पत्तिको तोडफोड र हानी नोक्सानी पुर्याउने प्रबल सम्भावना भएको हुँदा निजहरूलाई जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षाउपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनियता तथा प्रतिष्ठाविरुद्धको कसुरउपर कानूनी कारबाही गर्नुपर्ने केसीको माग छ।