काठमाडौं। सेयरका ‘भेट्रान’ खेलाडी भनिनेले सामाजिक सञ्जाल (फेसबुक, म्यासेन्जर, एक्स, क्लब हाउस, टिकटक) आदिलाई आफूअनुकूल प्रयोग गरेर सेयर बजार प्रभावित बनाउन निरन्तर अभ्यास गरिरहेका छन्।
लामो समयदेखि शिथिल सेयर बजार अझ घटाइ फाइदा लिने उद्देश्यसाथ विभिन्न व्यक्ति, कम्पनी हुँदै निजी क्षेत्रको छाता संगठन मानिने नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्यहरू र सेयर लगानीकर्ता भनेर चिनिएका संघीय सांसदसमेत सामाजिक सञ्जालमा उत्तेजक विचार र समूह परिचालन गरेर बजार प्रभावित बनाउने भूमिका खेलिरहेका छन्।
सतहमा देखिँदा केही नगरेको नभनेको जस्तो लाग्ने, तर व्यवहारमा आफू र आफू नजिक व्यक्ति र समूह परिचालन गरेर सेयर बजार थप आक्रान्त बनाउने कोसिस गरिरहेको पाइन्छ। तर, नियामक निकाय भने सामाजिक सञ्जालको गलत प्रयोग रोक्नतर्फ अग्रसर भएको देखिँदैन।
पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बेलाबेला सामाजिक सञ्जाललाई गलतरूपले प्रयोग नगर्न सचेत गराउनेदेखि बाहेक कुनै कानुनी कारबाहीे प्रक्रिया अघि बढाएको पाइँदैन।
जसले गर्दा सामाजिक सञ्जाल दुरुपयोग गरी सेयर बजार आफूअनुकूल डोहो¥याउन चाहनेलाई मौका मिलिरहेको छ। सामाजिक सञ्जालमार्फत सेयर बजारसम्बन्धी गलत हल्ला फैलाउनेविरुद्ध सेबोनले सचेतनाका नाममा बेलाबेला आफ्नो वेबसाइटमा केही टेम्प्लेट राख्ने गरेको छ।
त्यस्तै सार्वजनिक कार्यक्रहरूमा सेबोन अध्यक्षलगयत पदाधिकारीहरूले सामाजिक सञ्जालमा आउने सेयर बजारसम्बन्धी गलत हल्लाको पछि नलाग्न सुझाउनेजस्ता काममात्रै गरेका छन्।
सेबोनको पुँजीबजार सक्षरता अभियानमा भएका सचेतनाले सामाजिक सञ्जालमार्फत सेयर बजारमा फैलिएका नकारात्मक प्रभाव नियन्त्रण अपूर्ण रहेको नेपाल पुँजी बजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेल बताउँछिन्।
पछिल्ला केही वर्षयता सामाजिक सञ्जालमा फेसबुक म्यासेन्जर ग्रुपमा सबैभन्दा बढी देखिने पोस्ट सेयर बजारसम्बन्धी नै हुन्छन्। यस्ता गु्रपलगायत क्लब हाउसमा समूह बनाएर बजार खुल्नुअघि र बन्द भएपछि घन्टौंसम्म कम्पनीको नामै तोकेर सेयर खरिद गर्न वा बिक्री गर्न उत्साहित गर्ने व्यक्तिलाई सेबोनले कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने लगनीकर्ताको प्रतिनिधि रहेकी पोखरेल बताउँछिन्।
‘लगानीकर्तालाई भ्रममा पार्नेखालका अभिव्यक्ति, कम्पनीको नामै तोकेर यो कम्पनी किन्नुस् वा बेच्नुस, कम्पनीको भित्री सूचना हामीसँग छ भनेर साँझ ६ बजेदेखि राति ११÷१२ बजेसम्म क्लब हाउस चलाइरहेका हुन्छन् भने टिकटकमा लाइभ आएर, फेसबुकमा विभिन्न किसिममा ग्रुप बनाएर कुन पुँजीबजारमा सूचीकृत कम्पनीको सेयर मूल्यबारे आफूलाई विज्ञ भन्ने लगानीकर्ताले प्रचार गरिरहेका हुन्छन्,’ पोखरेलले क्यापिटल नेपालसँग भनिन्, ‘सेयर बजारमा स्थापित भइसकेका लगानीकर्ताले सामाजिक सञ्जालमा फैलाउने अफवाहले धेरै नवप्रवेशी लगानीकर्ता डुबेका छन्। उनीहरूको विश्लेषणले गर्दा नेपालको सेयर बजार नै बदनाम हुँदै गएको छ।’
सेबोनले यस्ता विकृति रोक्न तदारुकता नदेखाउँदा नेपालको सेयर बजारमा अस्थिरता आएको उनको भनाइ छ।
‘कम्पनीको नामै किटान गरेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेलाई सेबोनले कडाभन्दा कडा कारबाही गर्नुपर्छ,’ उनले भनिन्, ‘कोभिड अघिसम्म आफ्नो लयमा हिँडेको सेयर बजार ह्वात्तै ३२ सयमा पुग्नु र घटेर अहिलेको अवस्थामा आइपुग्नुमा मुख्य भूमिका सामाजिक सञ्जालमा आउने अफवाह र सेयर विज्ञ हुँ भन्दै अभिव्यक्ति दिने सेयर विज्ञहरूले गर्दा पनि हो।’
लगानीकर्ता संघले चार वर्षअघि नै सामाजिक सञ्जाल सेयर बजारलाई बनाइने प्रभाव नियन्त्रणको माग गरेर ज्ञापनपत्र बझाएको छ। त्यसयता लगानीकर्ताको प्रतिनिधित्व संघसंस्थासँगै ब्रोकर एसोसिएसनले समेत सेबोनमार्फत सामाजिक सञ्जालमार्फत सेयर बजार प्रभावित गराउने गतिविधि नियन्त्रण र नियमनको माग गरिरहेका छन्। तर, सेबोनले त्यसमा ठोस कदम भने उठाउन सकेको देखिँदैन।
नेपाल राष्ट्र बैंकले लिने सेयर कर्जा नीति होस् वा बैंकहरूले परिवर्तन गर्ने निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धमा यस्ता सेयर विज्ञमार्फत सामाजिक सञ्जालमा फैलिएका अफवाहले विकृति मौलाउँदो छ। यसको नियन्त्रण र नियमनको पाटोमा सचेत रहेको धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमाल बताउँछन्।
‘सेबोनले यस्ता विकृति रोक्न समय–समयमा सचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ, तर त्यत्तिमात्रै अपुग हुने भएका हुँदा अब कानुनी कारबाहीसम्मको व्यवस्था गर्ने योजनामा छौं,’ सेबोन अध्यक्ष हमालले क्यापिटल नेपालसँग भने, ‘सामाजिक सञ्जालमार्फत सेयरसम्बन्धी भइरहेको अफवाहलाई निगरानी गर्ने काम सुरु भइसक्यो, केही समयमै सेबोनले नीतिगत निर्णय गर्छ।’
यसका लागि सेबोनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग समन्वय गर्ने तयारीसाथ काम अघि बढाएको उनले जानकारी दिए।
फेसबुकमा सेयर बजारको गुरु, सेयर बजारको काका, हजुरबा, सेयर बजारसम्बन्धी ज्ञान, सेयर मार्केट अपडेट, बुम आइडिया, बुलिस ग्रिन, बुल ग्रुप नेप्से, बुल एन्ड बियर, साँडे ग्याङ, नेपाली सेयर बजार, ¥यांक बुललगायत ग्रुपमा भोलिपल्टको बजारमा कुन कम्पनीको सेयर कति कित्तासम्म खरिद गर्दा हुन्छ भन्ने विषयमा चर्चा गरिएका हुन्छन्।
बजार बढेको समयमा अझै कतिसम्म बजार पुग्छ, त्यसको प्रक्षेपण तिनै सेयर विज्ञले सामाजिक सञ्जालमै गरिसकेका हुन्छन्। सूचीकृत कम्पनीहरूको लाभांश घोषणा, बोनस सेयरदेखि आपसमा मर्जर तथा प्राप्तिका विषयको चर्चासमेत सामाजिक सञ्जालमा सेयर बजारका भेट्रानहरूले गरिदिने र तिनका पछाडि दौडिँदा नवप्रवेशी लगानीकर्ताले करोडौं रुपैयाँ गुमाउनुपरेको छ।