काठमाडौं। नेपालको सबैभन्दा पुरानो व्यवसायीक संस्था नेपाल चेम्बर अफ कमर्शको विद्यान संशोधन हुने भएको छ। प्रस्तावित संशोधन विद्यानअनुसार अध्यक्ष तथा कार्यसमितिको कार्यकाल दुई वर्षको मात्र हुने भएको छ।
विक्रम संवत २००७ सालमा स्थापना भएको चेम्बर अफ कर्मशको अहिलेको विद्यानअनुसार अध्यक्षको कार्यकाल तीन वर्षको छ। तीन वर्षको कार्यकाल रहँदा आफ्नो व्यापार व्यवसायमा ध्यान दिन नसक्ने र अरुको पालो पनि पुर्याउन ढिला हुने भएकोले विद्यान संशोधन गरी दुई वर्षको कार्यकाल बनाउने विषयमा पदाधिकारी बैंठकबाट सर्वसम्मत रुपमा पारित गरेको छ।
मंगलबार बसेको पदाधिकारी बैंठकले अध्यक्षको कार्यकाल घटाउने विषयमा छलफल भइ निर्णय भएको एक पदाधिकारीले क्यापिटल नेपाललाई जानकारी दिए। उनका अनुसार एक पटक अध्यक्ष भएपछि अर्को पटक दोहोर्याउन नपाउनेसमेत विधानमा संशोधन गर्ने सर्वसम्मत निर्णय भएको छ। जसको कारण अब बन्ने अध्यक्षहरु दोहोरिन पाउने छैनन्।
चेम्बरमा राजेशकाजी श्रेष्ठ चार पटकसम्म अध्यक्ष बनेका थिए। पदाधिकारी बैंठकले गरेको निर्णय कार्यसमितिले पास गर्नुपर्ने हुन्छ। सामान्यतया पदाधिकारी बैंठकले गरेको निर्णय कार्यसमिति बैठकले पास गर्ने गरेको छ।
केन्द्रिय समितिको बैंठक अबको १० दिनभित्र बस्ने छ। सोही बैठकले विद्यान संशोधन गर्ने छ। पदाधिकारी बैंठकले गरेको विद्यान संशोधनको निर्णयलाई पारित गर्ने र अब आउने साधारणसभाले अनुमोदन गर्ने छ।
ती पदाधिकारीका अनुसार आउदो चैतमा साधारणसभा हुने छ। साधारणसभाले अनुमोदन गरेपछि आउँदो कार्यकालदेखि नै संशोधित विद्यान कार्यन्वयनमा आउने छ।
चेम्बरको सातै प्रदेशमा प्रदेश समिति र अधिकाशं जिल्लामा शाखा विस्तार गरेको छ। हाल चेम्बरमा १ हजार ६ सय भन्दा बढी सदस्यहरु रहेका छन् भने ८ हजार भन्दा बढी व्यवसायीक फर्महरु दर्ता रहेका छन्।
अहिलेसम्म भएको छैन चुनाव
लामो इतिहास बोकेको चेम्बरमा नेतृत्व चयन हालसम्म सहमतिमै हुँदै आएको छ। ‘अहिलेसम्म जति अध्यक्षहरु बने सबै सर्वसम्मत रुपमा हुँदै आएको छ,’ ती पदाधिकारीले भने, ‘मर्यादाक्रमअनुसार पालैपिच्छे अध्यक्ष बन्दै आएका छन्।’
अहिले चेम्बरको अध्यक्ष राजेन्द्र मल्ल छन्। तीन वर्षको कार्यकाल चैतमा पुरा भएसँगै अध्यक्षको लाइनमा वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल रहेका छन्। अग्रवाल अध्यक्ष बनेपछि वरिष्ठमा स्वतः दीपक मल्होत्रा आउने छन्। हाल चेम्बरमा ७ जना उपाध्यक्षहरु रहेका छन्।