काठमाडौं। विष्णु अग्रवाल नेपाली उद्योगी-व्यवसायी वृत्तमा चिनाइरहनुपर्ने नाम होइन। अटो क्षेत्रका विश्वप्रसिद्ध ब्रान्डहरू नेपाल भित्र्याउँदै पृथक पहिचान बनाएका अग्रवालले नेपाल उद्योग परिसंघ अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
५९ वर्ष अघि सन् १९६४ मा मोरङमा नेपालकै पहिलो वर्कसप ‘मोरङ अटो वर्क्स’ (एमएडब्लु) बाट अटो क्षेत्रमा प्रवेश गरेका अग्रवालको पृष्ठभूमि व्यावसायिक नै हो। विष्णुका बुबा स्वर्गीय प्रल्हाद रोय अग्रवालले नेपालमै पहिलोपटक वर्कसप स्थापना गरेका थिए।
त्यसअघि उनका बुबाले मोरङमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएका थिए। भारतसहित विभिन्न देशबाट पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दै आएको अग्रवाल परिवारले वर्कसपबाट अटो क्षेत्रमा प्रवेश गरेको थियो। त्यसअघि गाडीमा समस्या आउँदा कलकत्ता वा पटना जानुपर्ने बाध्यता थियो।
वर्कसपबाट अटोमा प्रवेश गरेको अग्रवाल परिवार अहिले मोरङमा मात्र सीमित नभई संघीय राजधानी काठमाडौंदेखि मुलुककै स्थापित व्यावसायिक घराना बन्न सफल भएको छ। मोरङबाट उदाएको एमएडब्लु ग्रुप अहिले मुलुकको दोस्रो ठूलो अटो कम्पनीका रूपमा विस्तार भएको छ।
एमएडब्लुको पहिलो अटो यात्रा भने ‘एस्कर्ट’ ब्रान्डको फोर्ड ट्याक्टरबाट भएको हो। १९७१ बाट नेपालका लागि आधिकारिक विक्रेताका रूपमा कारोबार सुरु गरेको एमएडब्लुले १९७४ मा राजदूत र एस्कर्ट (आरएक्स ब्रान्ड) मोटरसाइकलको एजेन्सी पाए। र, १९९६ मा यामाहाको ‘टाइअप’ भएपछि उनीहरूले अहिलेसम्म यामाहा बाइक बिक्री गरिरहेका छन्।
अहिले यामाहा, जिप, स्कोडा, जेसिबी, लेट, फोटोन, एमएडब्लु इन्जिनियरिङ, एमएडब्लु इन्भेस्मेन्ट, एस्कर्ट, बेस एण्न्ड ट्रेबललगायत कम्पनीलाई सफलताको शिखरमा पुर्याइसकेका छन् भने फोटोन र सेरेसजस्ता ब्रान्डबाट विद्युतीय सवारीसाधन (इभी) मा पनि हात हालेका छन्।
शोरुम र वर्कसप अनुभव
अहिले जो कोहीले पनि विष्णुको परिवारको सफलता हेर्दा ‘थुक निल्ने’ स्थिति छ। तर, यो सफलतासम्म आइपुग्न अग्रवाल परिवारले कति पापड पेल्नुपरेको थियो भन्ने धेरैलाई थाहा नहुन सक्छ। हुन त परिवार नै व्यापारमा भएकोले अरूले जति दुःख गर्नुपरेन। तर, विष्णुसँग गाडी शोरुममा बसेकोदेखि वर्कसपमा काम गरेको अनुभव छ।
यसबाट आफ्ना ग्राहकलाई के–कस्तो सुविधा दिनुपर्छ र कस्तो सुविधा चाहेका छन् भन्ने राम्रैसँग ज्ञान पाएका छन्। ‘म सँग ग्राहकलाई कस्तो व्यवहार गर्ने र कसरी कन्भिन्स गराउने भन्ने आइडियामात्र होइन, त्यस क्षेत्रमा काम गर्नेको दुःख पनि अनुभव छ,’ अग्रवाल भन्छन्।
एमएडब्लुको पहिलो अटो यात्रा भने ‘एस्कर्ट’ ब्रान्डको फोर्ड ट्याक्टरबाट भएको हो। १९७१ बाट नेपालका लागि आधिकारिक विक्रेताका रूपमा कारोबार सुरु गरेको एमएडब्लुले १९७४ मा राजदूत र एस्कर्ट (आरएक्स ब्रान्ड) मोटरसाइकलको एजेन्सी पाए। र, १९९६ मा यामाहाको ‘टाइअप’ भएपछि उनीहरूले अहिलेसम्म यामाहा बाइक बिक्री गरिरहेका छन्।
जब उनले आफ्नो नेतृत्व विकास गरेर ग्रुपको नेतृत्व गर्न थाले, त्यो बेलादेखि नै व्यवसाय बढाउन फाइनान्स र एक्सचेन्ज सुविधा पनि सुरुवात गरे।
व्यवसायकै क्रममा युनाइटेड फाइनान्समा निर्देशकका रूपमा नियुक्त भएपछि उनले प्रोफेसनल्ली कसरी काम गर्ने भन्ने कुरा सिक्ने अवसर पाए।
‘मैले सन् १९९६ मा युनाइटेड फाइनान्समा डाइरेक्टर हुने मौका पाएँ, त्यसको अध्यक्ष विनोद चौधरी हुनुहुन्थ्यो,’ अग्रवाल भन्छन्, ‘विनोद दाइसँग युनाइटेड फाइनान्समा काम गर्दा प्रोफेसनल्ली अर्गनाइजेसन कसरी चल्छ, कसरी स्टाफलाई प्रोत्साहन गराएर काम गराउने भन्ने कुरा सिक्ने मौका पाएँ।’
दुईपांग्रे, ट्याक्टर र फाइनान्सको व्यवसाय गरिरहेका अग्रवालले २००३ देखि हेभी इक्विपमेन्टमा हात हालेका थिए। ‘हामीले जेसिबीको एजेन्सी लियौं, यो हाम्रा लागि नौलो अनुभव थियो,’ व्यवसायी अग्रवालले भने, ‘पहिले वर्षको १/२ वटामात्र बिक्री भइरहेको जेसिबी एमएडब्लुले लिएको पहिलो वर्ष आठवटा बिक्री भयो।’
हाल नेपालमा जेसिबी हेभी इक्विपमेन्टको पर्यायवाची शब्द बनेको छ भन्दा पनि फरक पर्दैन। जेसिबीको एजेन्सी लिएपछि उनले साधन बेच्नेमात्र नभई संरचनामा, स्पेयर पार्ट्सको उपलब्धतामा ध्यान दिए।
उनको यही रणनीतिले २०१८ मा एमएडब्लु जेसिबीको संसारको दोस्रो ठूलो डिस्ट्रिब्युटर (वितरक) बन्न सफल भयो। हालसम्म कम्पनीले २ हजार ३ सय युनिट जेसिबी साधन बेचिसकेको छ भने नेपालमा ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा छ।
सन् २००७ मा स्कोडाले नेपालमा डिलर खोजिरहेको थियो। विष्णुलाई यो ब्रान्ड मनपर्याे र एजेन्सी लिन प्रस्ताव गरे। स्कोडाले एमएडब्लुलाई एजेन्सी दियो।
त्यतिबेला उनले स्कोडाका लागि नेपालकै सबैभन्दा उत्कृष्ट शोरुम थापाथलीमा निर्माण गरे। स्कोडालाई पनि उनले नेपालको प्रिमियम गाडी रोज्नेका लागि पहिलो रोजाइ बनाउन सफल भए। त्यसपछि फोटोन र जिपजस्ता ब्रान्डलाई उनले नेपालमा स्थापित गराए।
उनको यही रणनीतिले २०१८ मा एमएडब्लु जेसिबीको संसारको दोस्रो ठूलो डिस्ट्रिब्युटर (वितरक) बन्न सफल भयो। हालसम्म कम्पनीले २ हजार ३ सय युनिट जेसिबी साधन बेचिसकेको छ भने नेपालमा ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा छ।
त्यसैगरी अग्रवालले सन् २०२१ मा चिनियाँ गाडी निर्माता कम्पनी चाङ्गनको नेपालमा आधिकारिक विक्रेता बन्ने मौका पनि पाए। अहिले उनी चाङ्गनलाई नेपालमा स्थापित गराउन जोडतोडसाथ लागिपरेका छन्।
आफ्नो व्यावसायिक जीवनमा असफलता खासै नदेखेका उनले गत वर्ष भने केही कठिनाइ भोग्नुपर्याे। कोभिडदेखि खस्किन सुरु भएको व्यवसाय गत वर्ष राष्ट्र बैंकको कडाई र आयात प्रतिबन्धका कारण व्यापार ५०/६० प्रतिशत कम भएको उनी सुनाउँछन्।
उनको अधिक व्यवसाय अटोमोबाइल क्षेत्र भएकाले त्यो समस्या उत्पन्न भएको उनी स्वीकार्छन्। ‘हामी अरू व्यवसाय पनि गर्न नसक्ने त होइन, तर अटोमोबाइलमा पोख्त छौं,’ अग्रवाल भन्छन्, ‘ग्राहकको आवश्यकता, चाहना राम्रोसँग थाहा छ, त्यसकारण हामी यही क्षेत्रमा सीमित छौं।’
युवामाझ लोकप्रिय मोटरसाइकल ब्रान्ड नेपालमै उत्पादन समेत सुरु गरेका छन्। आयात प्रतिस्थापन गर्नुपर्छ भन्ने उद्देश्यसाथ अबको एक वर्षभित्र पूर्णरूपमा नेपालमै यामाहा मोटरसाइकल एसेम्बल गर्ने तयारीमा अग्रवाल लागिपरेका छन्।
सरकारले एसेम्बल गर्ने उद्योगलाई विशेष प्राथमिकता दिने नीतिअनुसार काम अगाडि बढाएको उनी बताउँछन्। अहिले एसेम्बल प्लान्ट सुरु भए पनि आर्थिक मन्दीका कारण पूर्णरूपमा सञ्चालनमा नल्याएको बताउँदै फुलफ्लेजमा सुरु हुँदा मासिक ६० हजार उत्पादन गर्न सक्ने क्षमता रहने उनको भनाइ छ।
मुलुकको आर्थिक स्थिति र विश्वमा बढ्दो पेट्रोलियम पदार्थको मूल्य ध्यानमा राख्दै उनले पछिल्लो समय इभीमा आफ्नो व्यापार केन्द्रित गरेका छन्। पेट्रोलियम गाडी बेच्दै आएको एमएडब्लुले इभी फोटोन र सेरेस ब्रान्ड नेपाल भित्र्याइसकेको छ।
‘हाम्रो स्कुलमा सेनाले बेला–बेला प्रशिक्षण दिइरहन्थ्यो। उनीहरूसँगको संगतमा कक्षा ११ पढ्दा मलाई खुब सेना बन्न मन थियो,’ उनी विगत सम्झिन्छन्, ‘जब १२ कक्षा सकेर नेपालमा बुबा र दाइलाई काम सघाउन थालेँ, त्यसपछि सेना बन्ने सपना ओझेलमा पर्दै गयो। आफ्नो परिवारलाई म बिजनेसमा आबद्ध हुन्न, सेना बन्छु भनेर त्यो बेला भन्न पनि सकिनँ।’
अबको भविष्य क्लिन इनर्जी भए पनि सरकारले बिएस ६ लाई लागू गर्नुपर्ने उनको तर्क छ। ‘हामीले सवारीसाधन आयात गर्ने देश बिएस ६ मा गइसके, अब हामीले यसमा ढिलाइ गर्नु हुदैन,’ अग्रवाल थप्छन्, ‘बिएस ६ लागू गर्ने र बिस्तारै विद्युतीयलाई पनि सपोर्ट गर्दै जाने हो भने सन्तुलन हुँदै जान्छ।’
कुनै पनि आयातकर्ता कम्पनीले सवारीसाधन ल्याउँदा अध्यन गरेरमात्रै ल्याउनुपर्ने उनी बताउँछन्। ‘हामीले पनि नयाँ विद्युतीय ब्रान्ड ल्याएका छौं,’ उनी भन्छन्, ‘ल्याउनुभन्दा अघि धेरै रिसर्च गरेर भोलिका दिनमा ग्राहक सन्तुष्ट हुन्छ कि हुँदैन, त्यो विचार गरेरमात्र ल्याएका छौं। हामीले नयाँ ब्रान्ड ल्याउँदा नेपालमै टेस्टिङ गरेर वर्कसप, स्पेयर पार्ट्सलगायत सुनिश्चत गराएरमात्र ल्याएका हौं।’
लगानीमैत्री वातावरण छैन
नेपाल उद्योग परिसंघ अध्यक्षसमेत भइसकेका अग्रवाल अहिले पनि नेपालमा व्यवसायमैत्री वातावरण बन्न नसकेको अनुभव सुनाउँछन्। अर्थतन्त्र सुधार्न लगानी बढ्नुपर्छ र त्यसका लागि लगानीमैत्री वातावरण हुनुपर्ने उनको भनाइ छ।
‘लगानीको वातावरण बनाउन सरकारले नेपालमा गर्न सक्ने उद्यमका लागि केही कुरामा सहुलियत र ग्यारेन्टी प्रदान गर्न सकेको छैन,’ व्यवसायी अग्रवाल भन्छन्, ‘लगानीको वातावरण बनाउन निजी क्षेत्रले आवाज उठाइरहे पनि प्रभावकारी हुन नसकेको उनी स्वीकार्छन्।
दुई छोरी स्वतन्त्र
दुई छोरीका बुबा अग्रवाल आफ्ना सन्तानले व्यवसाय नै गर्नुुपर्छ भन्ने बाध्यकारी भने नभएको बताउँछन्। ‘मैले बुबाले गरेको कामबाट प्रभावित भएर व्यवसाय बढाएँ,’ उनी भन्छन्, ‘छोरीहरूलाई बाध्यता छैन, इच्छाअनुसार काम गर्न सक्छन्।’
उनकी ठूली छोरीले भने अहिले अध्ययन सकाएर अमेरिकामै रहेको एउटा कम्पनीमा इन्टर्नसिप गरिरहेकी छिन्।
‘उनीहरूलाई मैले व्यवसायमा ल्याउनेभन्दा पनि उनीहरू नै आफ्नो इच्छाले आउने हो,’ अग्रवाल भन्छन्, ‘अहिले अरूको कम्पनीमा काम सिक्दैछिन्, जुन दिन आफ्नो कम्पनीमा गर्छु जस्तो लाग्छ, त्यतिबेला आउँछिन्, म कर गर्दिनँ।’
वर्कसपदेखि मुलुककै ठूलामध्यको व्यवसायी बनेका अग्रवालको कुनै महत्वाकांक्षा भने छैन। ‘म त्यहाँ पुग्छु भन्ने कुनै निर्धारित सोच छैन, म जे गर्छु त्यसमा दत्तचित्त भएर लाग्छु,’ उनी सुनिन्छन्।
सेना बन्ने सपना अधुरै
कक्षा १२ सम्म अध्ययन गर्दा भविष्यमा सेनामा जागिर खान्छु भन्ने सपना बुनेका थिए अग्रवालले। सन् १९७१ मा जन्मिएका अग्रवालको १२ कक्षासम्मको अध्ययन भारत राजस्थानमा भएको थियो। उनी पढ्ने स्कुलमा सेनासँग राम्रो हिमचिम थियो। उनीहरूको पोसाक र अनुशासनबाट अग्रवाल प्रभावित थिए।
‘हाम्रो स्कुलमा सेनाले बेला–बेला प्रशिक्षण दिइरहन्थ्यो। उनीहरूसँगको संगतमा कक्षा ११ पढ्दा मलाई खुब सेना बन्न मन थियो,’ उनी विगत सम्झिन्छन्, ‘जब १२ कक्षा सकेर नेपालमा बुबा र दाइलाई काम सघाउन थालेँ, त्यसपछि सेना बन्ने सपना ओझेलमा पर्दै गयो। आफ्नो परिवारलाई म बिजनेसमा आबद्ध हुन्न, सेना बन्छु भनेर त्यो बेला भन्न पनि सकिनँ।’
सेनाको सपना पूरा हुन नसके पनि उनी व्यवसायमा एउटा लगनशील सेनाको कमान्डरका रूपमा दत्तचित्त भएर लागे। फलस्वरूप, उनी नेपालको सफल व्यवसायी बने।