काठमाडाैं। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गरेका हुन्।
मंगलबार संघीय संसद बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विश्वकै साथी भएको बताएका हुन्। त्यसैले विश्वले पनि नेपाललाई साथी मान्नुपर्ने बताएका हुन्।
‘नेपाल विश्वको साथी हो, त्यसैले विश्व पनि नेपालको राम्रो साथी बन्नुपर्छ,’ उनले उक्त भनाईबाट आफ्नो सम्बोधन टुंग्याए।
गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिन्दैछ । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदैछ । परिवारहरू होस् वा राष्ट्रहरू, आर्थिक संकटको सामना गर्दैछन् ।
महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम छ । हिंसा र द्वन्द्व चुलिएका छन् ।
मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौं माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली थिए ।
मृत्यु भएका दश नेपाली विद्यार्र्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता श्री विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु । भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेका छन् ।
साना मुलुकहरू ठूला शक्तिहरूबीचको प्रतिस्पर्धामा सम्पाश्र्विक क्षति हुन डराउँछन् । जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र भइरहेको छ ।
यी सङ्कटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायु सम्बन्धी कार्यको कट्टर समर्थक हो ।