काठमाडौं। आधा अर्बभन्दा बढी परिमाणको ऋण बोकेको अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’ ले सर्वसाधारणलाई सेयर बिक्री गर्ने गरी प्रक्रिया अघि बढाएको छ।
घाटामा सञ्चालित नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक) ले जारी गरेको प्रतिकित्ता १ सय रुपैयाँ दरको ४३ लाख ५३ हजार कित्ता साधारण सेयर (आइपिओ) पूर्णबिक्री भई दोस्रो बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा माथि कारोबार भएको देखिएपछि हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड पनि हौसिएको हो।
पछिल्लो समय जस्तोसुकै कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन पर्न थालेपछि कमजोर र कर्मचारीलाई तलब खुवाउन नसकेका कम्पनीले सर्वसाधारणमा सेयर बिक्री गरिरहेका छन्।
सर्वसाधारणमा जारी हुने सेयरमा कम्पनीको वित्तीय सूचकांक मूल्यांकनबिना नै आवेदनको ओइरो लाग्न थालेपछि घाटामा गएका, करोडौं रुपैयाँ बैंक ऋण भएका र कर्मचारीलाई तलब नै खुवाउन नसकेका मिडिया हाउसहरू पब्लिकबाट पैसा बटुल्न अग्रसर हुन थालेका हुन्।
लामो समयदेखि तलब नपाएर आन्दोलनसमेत गर्नुपरेको रिपब्लिक मिडियाको सेयरसमेत उच्च मूल्यमा कारोबार भएपछि अन्य मिडिया पनि सर्वसाधारणलाई सेयर बिक्री गर्न लालायित देखिएका हुन्।
त्यसैको कडीका रूपमा दि हिमालयन टाइम्स पनि अग्रपंक्तिमा देखिएको छ। यसअघि कान्तिपुर टेलिभिजन नेटवर्कले पनि प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर बिक्री गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको छ।
कान्तिपुरले ७ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी सुम्पिएको छ। कान्तिपुर टेलिभिजन पनि कर्मचारीको तलब वृद्धि रोकेर कर्मचारी कटौतीमा लागिरहेको छ।
कम्पनीका नयाँ प्रबन्ध निर्देशक सम्भव सिरोहियाले पदभार ग्रहण गर्दा नै ६० प्रतिशत कर्मचारी कटौती गर्ने योजना सुनाउँदै कर्मचारीलाई स्वेच्छाले जागिर छाडेर सहयोग गर्न आग्रह गरेका थिए।
हिमालयन टाइम्सको पुँजी वृद्धि नीति
हाल १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयनले आइपिओ जारी गरेर ५० करोड रुपैयाँ पु¥याउने नीति अघि सारेको छ।
त्यसका लागि हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले गत असोज २७ गते प्रथम वार्षिक साधारणसभा सम्पन्न गरी कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, बोनस सेयर जारी गर्ने र सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ। त्यससँगै कम्पनीले संस्थापक सेयरधनीहरू नै थप्न भेन्चर क्यापिटलको सहयोग लिइरहेको छ।
अहिले भारतीय लगानीकर्ता रबिन लामाको ९९.८८ प्रतिशत सेयर हिस्सा रहेकोमा विभिन्न क्षेत्रका नयाँ लगानीकर्ता थपेर संस्थापक हिस्सा ४३ करोड पु¥याउने र ७ करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने गरी प्रक्रिया अघि बढाएको हो।
अहिले कम्पनीका संस्थापकमा रबिन लामाबाहेक क्याबिनेट श्रेष्ठ, हिमालयन डायलग प्रालि, सिनर्जी प्रिन्टिङ एन्ड प्याकेजिङ प्रालि, यती प्रिन्टिङ प्रालि, टिएचटी डिजिटल प्रालि र ह्वाइट प्रिन्टिङको ०.०२ प्रतिशतका दरले सेयर स्वामित्व छ।
कम्पनीले सन् २०२३ डिसेम्बरसम्म बिक्री प्रबन्धक नियुक्त गरी सेबोनमा आइपिओ आवेदन दिने, २०२४ मेसम्म सेबोनबाट आइपिओको स्वीकृति लिने, २०२४ जुलाईसम्म आइपिओ निष्कासन तथा बिक्रीको काम समाप्त गर्ने योजना बनाएको छ।
संस्थापकहरूका सन्दर्भमा भने न्यूनतम ३ र अधिकतम ४ वर्ष सेयर ‘होल्डिङ पिरियड’ राख्ने नीति कम्पनीको छ। कम्पनीले अधिकृत पुँजीको १४ प्रतिशत सर्वसाधारण र ८६ प्रतिशत हिस्सा संस्थापकमा राख्ने गरी पुँजी वृद्धिको काम अघि बढाइसकेको छ।
हाल कम्पनीले ‘ग’ वर्गको संस्थापक भित्र्याउन नयाँ लगानीकर्ता खोजिरहेको छ। यस्ता संस्थापकका लागि कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता संस्थापक सेयर बिक्री गरिरहेको हो।
बाँकी कम्पनी स्थापना हुँदा लगानी गर्ने ‘क’ वर्गका संस्थापकहरू आफंैले वा आफन्तमार्फत ‘ख’ वर्गको संस्थापकबाट पुँजी जुटाइरहेको छ। पुरानो १० करोड पुँजीमा कम्पनीले १८ करोड ‘ख’ वर्गको संस्थापकबाट, ‘ग’ वर्गका संस्थापकबाट र ७ करोड रुपैयाँ ‘घ’ वर्गका लगनीकर्ता अर्थात सर्वसाधारणबाट जुटाउन लागेको हो।
कम्पनीको आउटलेट
हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले हिमालयन टाइम्स (प्रिन्ट एडिसन, अनलाइन न्युज पोर्टल सञ्चार हिमाल इभेन्ट) सञ्चालन गरिरहेको छ।
हिमालयन टाइम्स सन् २००१ देखि सञ्चालनमा आएको हो। साथै, कम्पनीले अनलाइन पोर्टलमा ई–पेपर सेवा र हिमाल इभेन्टमा फेसन शो, फुड फेस्टिभल, कल्चर प्रमोसन प्रोग्रामलगायत गर्छ। कम्पनीको आम्दानीको मुख्य स्रोत भनेको पेपर बिक्री र विज्ञापन नै हो।
कम्पनीले गत वर्ष पेपर बिक्रीबाट २१ करोड ८९ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको थियो भने पेपर छपाइ तथा बिक्रीमा कम्पनीको ९ करोड ९० लाख २२ हजार रुपैयाँ खर्च भएको छ। कम्पनीको कुल नाफा ११ करोड ९९ लाख रुपैयाँ र खुद नाफा २ करोड ९ लाख ६१ हजार रुपैयाँ गरेको छ।
कम्पनीले १० करोड पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ कायम गरेपछि नाफा पनि हरेक वर्ष दोब्बर बनाउँदै लैजाने नीति बनाएको छ। जसमा कम्पनीले २०२४ मा ५ करोड ३९ लाख, २०२५ मा ११ करोड १२ लाख, २०२६ मा १७ करोड १६ लाख र २०२७ मा २३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्ने योजना कम्पनीको हो।
त्यस्तै कम्पनीले हाल २१ करोड रुपैयाँ रहेको पेपर बिक्री आम्दानीलाई २०८३÷८४ सम्म ६२ करोड ८७ लाख रुपैयाँ पु¥याउने योजना बनाएको छ।
हिमालयन टाइम्सको ऋण कति?
हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५४ करोड ४ लाख ८९ हजार रुपैयाँ ऋण लिएको छ।
जसमा लामो समयका लागि ६ करोड ८९ लाख ७३ हजार रुपैयाँ र छोटो समयलाई ४७ करोड १५ लाख ५८ हजार रुपैयाँ ऋण लिएको हो। कम्पनीले १ करोड ७६ लाख ४२ हजार रुपैयाँ सवारी कर्जा, १ करोड १० लाख ८३ हजार रुपैयाँ चालु पुँजी कर्जा र अन्य शीर्षकका ४ करोड २ लाख ४७ हजार रुपैयाँ लामो समयका लागि कुल ६ करोड ८९ लाख रुपैयाँ कर्जा लिएको छ।
यस्तै छोटो समयका लागि भनेर सिएल २ करोड, ओभरड्राफ्ट ९ करोड ९९ लाख, एसटिएल १ करोड ५३ लाख १३ हजार, चालू पुँजी कर्जा ३० करोड, एलटिएम १ करोड २ लाख ६८ हजार र सवारी कर्जा ३१ लाख १७ हजार रुपैयाँ कर्जा लिएको छ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा–ब्याज वार्षिक ६ करोड ४३ लाख २९ हजार रुपैयाँ भुुक्तानी गर्नुपर्छ। साथै, कम्पनीको वार्षिक कर्मचारी खर्च नै १ करोड ४ लाख रुपैयाँ छ।
रिपब्लिक मिडियाको ऋण कति?
नेपाल रिपब्लिक मिडियाले गत जेठ २६ गते सर्वसाधारणलाई आइपिओ बिक्री गरेको थियोे। कम्पनीले जारी पुँजीको ४४.९९ प्रतिशत सेयर पब्लिकमा बिक्री गरेको हो। आइपिओ बिक्रीपछि कम्पनीको पुँजी ९६ करोड ७५ लाख रुपैयाँ कायम छ।
कम्पनीले गत आर्थिक वर्षमा पौने ४३ करोड रुपैयाँ नाफा कमाएको भने पनि अघिल्ला वर्षहरूमा कम्पनीले घाटामात्रै बेहोर्दै आएको र गत आव अन्त्यसम्म कम्पनीको जगेडा कोष ऋणात्मक नै छ।
कम्पनीले आइपिओ बिक्रीबाट प्राप्त हुने रकम बैंकबाट लिइएको ऋण चुक्ता गर्न, नयाँ छपाइ केन्द्र स्थापना गर्न तथा पत्रकारको क्षमता तथा खोजमूलक पत्रकारिताको स्रोतसाधन वृद्घिमा उपयोग गर्ने आइपिओ विवरणपत्रमा उल्लेख गरेको थियो।
सोहीअनुसार कम्पनीले सर्वसाधारणबाट प्राप्त ४४ करोड रुपैयाँ रकममध्ये ३० लाख ८६ हजार रुपैयाँभन्दा बढी विभिन्न बैंकको ऋण तिर्न खर्च गरेको छ।
रिपब्लिक मिडियाले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३८ करोड ९२ लाख र नबिल बैंकबाट १४ करोड ९३ लाख रुपैयाँ गरी कुल ५३ करोड रुपैयाँ ऋण लिएको थियो।
आइपिओ जारी हुनुअघि रिपब्लिक मिडियाले इन्भेस्टमेन्ट मेगालाई ११ करोड ८७ लाख १७ हजार ३ सय २५ रुपैयाँ र नबिललाई ९ करोड ४ लाख २४ हजार ८ सय ९० रुपैयाँ तिरिसकेको थियो।
रिपब्लिकाले आइपिओमार्फत सर्वसाधारणबाट उठाएको पैसाबाट २७ करोड ५ लाख रुपैयाँ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई र ३ करोड ८० लाख रुपैयाँ नबिल बैंकलाई भुक्तानी गरिसकेको छ भने नबिलमा अझै २ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।