काठमाडौं। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन्।
चारदिने भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारेमा छलफल गरेका छन्।
विश्व तापमान वृद्धिका कारण संसारको अग्लो शिखर सगरमाथालगायत उच्च हिमाल पग्लदै गएको सम्बन्धमा महासचिव गुटेरेसले विशेष चासो व्यक्त गरेका हुन्। उनले सोमबार सगरमाथा क्षेत्रको भ्रमण गरी सो क्षेत्रमा जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका स्थानीय समुदायसँग कुराकानीसमेत गरेका छन्।
महासचिव गुटेरेसले खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग आगामी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)मा स्थानीयका समस्या र सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका छन्। उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशहरुको भूमिका रहेको तर खुम्बु पासाङल्यामु गाउँपालिका जस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको बताए।
यसैगरी महासचिव गुटेरेसले आज अन्नपूर्ण आधारशिविर पुगेर नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गरे।
धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिरहेको जलवायु परिवर्तनको असर न्यूनिकरणमा सहयोग गर्न आग्रह गरे।
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप)मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रुपमा बढी असर पारेको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ। कोप–२८ आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ।
वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले महासचिव गुटेरेसले भ्रमण क्रममा जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिएकाले कोप–२८ मा नेपाललाई आफ्ना मुद्दा उजागर गर्न सहज हुने बताए। मन्त्री महतोले भने, “महासचिव गुटेरेसले हिमालको महत्व दर्शाउँदै हिमाल पग्लिने क्रम बढेकामा चिन्ता व्यक्त गरेका छन्। उनले हिमालको मुद्दालाई विश्वको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो हाम्रो लागि सकारात्मक पक्ष हो।”
कोप–२८ मा नेपालले हिमाल र पर्वतीय मुद्दाका साथै जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि नोक्सानीका लागि कोषको व्यवस्थापन, उत्सर्जन कटौती र समावेशीतालगायत सवाल प्राथमिकताका साथ उठाउने तयारी गरेको मन्त्री डा महतोले जानकारी दिए।
वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले नेपालको संवेदनशील भू–वनोटका कारण जलवायु परिवर्तनको जोखिम पनि बढ्दो रहेको बताए। उनका अनुसार विश्व तापमानमा एक डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा त्यसको असर एक दशमलव आठ डिग्री तापक्रमसम्म बढेको पछिल्लो अध्ययनले देखाएको छ।
“यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण हुनु र उनले सबै छलफलमा जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिनु हाम्रा लागि सकारात्मक कुरा हो। यसले कोप–२८ मा हामीलाई हिमालमा जलवायुले पारेको असरका मुद्दा उठाउन पक्कै सहज हुनेछ” सहसचिव पौडेलले भन्नुभयो।
विगतका तीन/चार दशकको तथ्याङ्क हेर्दा हिमालमा प्रतिदशक शून्य दशमलव शून्य पाँच डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इमिमोड) का वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठले बताए। उनले भने, “यसको असरले खासगरी हिमनदी पग्लिने क्रम तीब्र बढिरहेको छ। यो निकै संवेदनशील विषय हो।”
विश्व तापमान वृद्धिले सन् १९८० देखि २०१० सम्मको अवधिमा करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको देखिएको छ। वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. श्रेष्ठले पेरिस सम्झौताअनुसार विश्व तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियमा सीमित गर्न सफल भए पनि यो शताब्दीको अन्त्यसम्ममा नेपालको एक तिहाइ हिमनदीको आयतन घट्ने बताए।
“जलवायु परिवर्तनले उच्च पहाडी र हिमाली क्षेत्रमा अति वृष्टिको क्रम बढेको छ। कहिले पानी नपर्ने स्थानमा पनि पानी पर्न थालेको छ”, उनले भने, “हिन्दूकुश क्षेत्रको हिमालमा पर्ने जलवायुको असरले प्रत्यक्ष र अप्रत्यक्ष गरी विश्वको एक चौथाइ जनसङ्ख्या प्रभावित हुनेछ।”
हाल नेपालमा सम्भावित जोखिमा रहेका तालको सङ्ख्या २१ छ। चीनको तिब्बतमा रहेका २५ र भारतको एक हिमताल फुट्दा पनि त्यसको जोखिम नेपालमा पर्ने देखिन्छ। नेपालमा हिमतालको सङ्ख्या दुई हजार ७० छ। जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्रमा प्रभाव पारेको बताए।
उनले सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमासमेत प्रभाव परेकाले यो विषयमा सबै मिलेर विश्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए। अध्यक्ष कार्कीले भने, “हामीले पनि स्थापनाकालदेखि नै जलवायु न्यायका पक्षमा वकालत गर्दै आएका छौँ, जलवायुको असर महिला, बालबालिका र स्थानीय समुदायमा बढी परेको विदितै छ। हामीले यसको क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराउनुपर्छ। महासचिव गुटेरेसको नेपाल भ्रमणले यो विषय आगामी जलवायु सम्मेलनमा उजागर गर्न सहज हुने विश्वास सकिन्छ।” रासस