काठमाडौं। भन्सार प्रशासनले गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा ११.२ प्रतिशत बढि राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षमा रु ९७ अर्व ७९ करोड राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा रु १ खर्व ८ अर्व ७४ करोड राजस्व संकलन भएको छ। गत वर्षको तुलनामा आयात व्यापारमा १.६९ प्रतिशतले मात्र बृद्धि भएको भएता पनि राजस्व संकलनमा उल्लेखनिय प्रगति भएको देखिएको छ।
भन्सार विभागमा नयाँ नेतृत्व आएसँगै राजस्व चुहावटमा शून्य सहनशिलता अवलम्बन गर्ने नीति लिएको छ। बिभागबाट अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडी पछाडी समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको छ।
अनुगमनको क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कारवाही गर्न लगाउने गरिएको छ।
यसरी अनुगमन गर्दा गम्भिर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साईमेन्ट रोकी विभागबाटै छड्के परीक्षणका लागि टोलि पठाउने कार्यको सुरुवात भएको छ।
त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग, नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्ष भरीकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउने जस्ता नीति अवलम्बन गरिएको छ।
विभागले प्रत्यक्ष अनुगमनबाट चालु आर्थिक वर्षको साउनमा १२ करोड १८ लाख, भदौमा १४ करोड र असोजमा २० करोड थप राजस्व असुल गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा २ करोड ३० लाख, भदौमा १ करोड ८६ लाख र असोजमा ८३ लाख थप राजस्व असुल गरेको थियो। गत आर्थिक वर्षको तुलनामा प्रत्यक्ष अनुगमनबाट करिव ८२४ प्रतिशत थप राजस्व संकलन गरेको देखिएको छ।
विभागले लिएको प्रभावकारी नीतिका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समग्र राजस्व संकलनमा सुधार भएको, समग्र व्यापार बृद्धिको तुलना भन्दा राजस्व संकलनको बृद्धि दर बढि भएको, भन्सारको आन्तरिक नियन्त्रण पक्ष प्रभावकारी भएको, सवै भन्सार कार्यालयमा भन्सार मूल्यांकनमा एकरुपता कायम भएको र भन्सार घोषणामा शुद्धता आउन थालेको भन्सार विभागले जनाएको छ।