काठमाडौं। वास्तवमा कुनै पनि व्यवसाय डुब्नु हुँदैन। डुब्ने गरी सञ्चालन गर्न पनि हुँदैन। खाद्य उद्योग होस् कि निर्माण उद्योग वा अन्य सेवा क्षेत्रका उद्योग नै किन नहोस्, कुनै पनि उद्योग डुब्नु हुँदैन।
तर, व्यवसाय विभिन्न कारणले संकटमा पर्छन्, पर्दै आएका छन्। कुनै व्यवसाय बदलिँदो प्रविधिका कारण समस्यामा परेका छन् भने कुनै व्यवसाय एउटै क्षेत्रमा बिनाअध्ययन धेरै व्यवसायीको प्रवेशले पनि संकटमा परेका छन्। ग्राहक माग, कच्चापदार्थ स्रोत परिवर्तन भएर वा उत्पादन वृद्धिमा आएको परिवर्तनका कारण पनि कतिपय उद्योग संकटमा पर्ने गरेका छन्।
सुति कपडामा प्रयोग हुने कपासको तुलनामा राम्रो कच्चापदार्थ उपलब्ध भयो भने सुति कपडा उद्योग बन्द हुन्छ। एकपटक सेन्थेटिकले सुति कपडा उद्योगलाई खाइदिएको थियो। धागो कच्चापदार्थका रूपमा विकास भएर आएपछि कपासमा आधारित कपडा उद्योग संकटमा परेको थियो।
मोबाइल फोन विस्तारपछि ‘पेजर’ हरायो। घडीको कारोबार कटौती भयो। पछिल्लो समय हेर्ने हो भने हरेक क्षेत्रमा मोबाइल फोन प्रयोगपछि बिस्तारै ल्यान्डलाइन फोन संकटमा परेको छ। अनलाइन सञ्चारमाध्यमका कारण ‘प्रिन्ट’ सञ्चार उद्योग धर्मराएको छ।
सामाजिक सञ्जालका कारण पत्रकारिता (टिभी, प्रिन्ट, रेडियो, अनलाइन) ओझेलमा पर्ने खतरा बढेको छ। ब्लक विकासले इँटा उद्योग कटौती भइरहेका छन्।
घरहरूमा ‘वालपेपर’ लगाउने चलनले रङरोगनको काम कटौती हुँदै गइरहेको छ। सयमक्रमले एउटा नयाँ क्षेत्र पहिचान हुुँदा पुराना विषय हराउँदै जाने परिस्थिति पनि बन्न सक्छ। त्यसैले कुनै पनि व्यवसाय बन्द हुनुुहुँदैन भन्दाभन्दै बन्द हुने स्थिति बन्न सक्छ। त्यसैले बैंक पनि बन्द हुँदैन भन्ने कुनै ‘ग्यारेन्टी’ छैन।
हालै अमेरिकामा दुई महिनाबीच तीन ठूला बैंक टाट पल्टिए। सन् २०२३ मार्चमा सिलिकन भ्याली बैंक र सिग्नचेर बैंक ढल्दा मे महिनामा रिपब्लिक बैक पनि ढल्यो।
प्रविधि र स्टार्टअप संसारमा सबैभन्दा प्रख्यात ऋणदातामध्येको सिलिकन भ्याली दुई दिनको अन्तरालमै टाट पल्टियो। लगत्तै ४० वर्ष पुरानो सिलिकन बैंकलाई फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले आफ्नो नियन्त्रणमा लियो। सिलिकन भ्याली बन्द भएको दुई दिनपछि सिग्नेचर बैंक पनि बन्द भयो।
क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैंकका रूपमा सिलिकन थियो। रिपब्लिकसँग अन्य वित्तीय संस्थाको तुलनामा धनाढ्य कारोबारी बढी थिए। बैंकको ऋण चुक्तामा विरलै समस्या आउने गथ्र्याे। त्यस्तै प्रविधि उद्योगमा लगानी गर्ने सिलिकन भ्याली बैंक पनि राम्रोभित्रै पथ्र्यो।
तर, २०२३ मा अमेरिकामा देखिएको आर्थिक मन्दीलाई उनीहरूले थेग्न सकेनन्। रिपब्लिक बैंकको सम्पूर्ण सम्पत्ति जेपी मोर्गन कर्पोरेसनले लिएर त्यसका निक्षेपकर्ता र लगानीकर्तालाई ढुक्क बनाए पनि अरू बैंकका निक्षेपकर्ता र लगानीकर्ता भने के हुने हो भन्ने दोधारमै छन्। यद्यपि, अमेरिकामा २ लाख ५० हजार डलरसम्मको निक्षेप सुरक्षण गरिएको हुन्छ।
स्विजरल्यान्डको क्रेडिट स्विस पनि २०२३ मार्चमा टाट पल्टियो। स्विस फेडेरल डिपार्टमेन्ट अफ फाइनान्स, स्विस नेसनल बैंक र ‘स्विस फाइनान्स मार्केट सुपरभाइजरी अथोरिटी’ (फिनमा) ले क्रेडिट स्विस र युबिएस बैंक मर्ज गर्न २०२३ मार्च १९ मा स्वीकृति दियो।
तर, स्विस बैंकको मर्ज २४ घन्टामा टुंगिएन। १४ दिनमा मर्जको टुंगो लाग्यो। युुबिएस र क्रेडिट स्विसबीच क्रेटी स्वीसमा २२.४८ कित्ता सेयर हुनेले युुबिएसको १ कित्ता सेयर पाउने गरी ३.३ अर्ब अमेरिकी डलरमा खरिद सम्झौता भयो। क्रेडिट स्विसको मूल्य धेरै ठूलो भए पनि बजार प्रक्रियामा सेयरधनी दण्डित हुनुपर्छ भन्ने मान्यताले काम गरेको देखिन्छ।
उता, २०२० मार्चमा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले ‘एस’ (वाइएस) बैंक व्यवस्थापन नियन्त्रणमा लिएको थियो। आरबिआईले बैंकिङ नियम उल्लंघन गरेको भेट्टाएपछि बैंक अफ राजस्थानलाई आइसिआइसिआईमा मर्ज हुन निर्देशन दिएको थियो। त्यसअघि आरबिआईले २०१० मा सहकारी केन्द्रित पिएमसी बैंक नियन्त्रणमा लिएको थियो।
व्यवसायहरू समस्यामा पर्दा वा बन्द हुँदा राष्ट्रिय चिन्ता र चासोको विषय बन्छ कि बन्दैन भन्ने हो। नयाँबानेश्वरमा चल्दै गरेको एउटा तरकारी पसल डुब्यो भने त्यति होहल्ला हुँदैन। एउटा तरकारी पसल डुब्छ। अर्को तरकारी पसल नजिकै खुल्छ। सबै तरकारी पसल डुब्लान्।
मान्छेहरूले मोटरसाइकलको वर्कसप व्यापार सुरु गर्लालन् वा रेस्टुरेन्ट चलाउलान्। क्रमिकरूपमा नयाँ–नयाँ बजारका रूपमा रूपान्तरण भइरहेको हुन्छ। २० वर्षअघि एउटा व्यवसाय भएको ठाउँमा अहिले अर्कै व्यवसाय चलिरहेको हुन सक्छ।
काठमाडौं नयाँसडकका मुख्य–मुख्य लाइनमा एक समय रेडियो, टेपरेकर्डरको व्यापार खुब हुन्थ्यो। त्यस्ता सामान किन्नुपरे सबै ठाउँबाट मानिस त्यहीँ जान्थे। तर, अहिले त्यसको व्यापार मोबाइलले लिएको छ। बजारमा एउटा व्यवसाय मर्ने र अर्काे व्यवसाय स्थापना हुने नियमित प्रक्रियाजस्तै हो।
तर, बैंक तथा वित्तीय संस्थाको व्यवसाय अरू व्यवसायजस्तो होइन, यो विशेष फरक हुन्छ। अरू व्यवसाय एउटा, दुइटा वा तीनवटा व्यवसाय डुब्दा पनि शृंखलाबद्ध असर पर्दैन। यसको अर्थ कुनै एउटा व्यवसाय वा उद्योग ढल्दा त्यसको कम्पनले अरू व्यवसाय ढल्छन् कि ढल्दैनन् भनेर हेर्नुुपर्छ।
जस्तो, नेपालमा कुनै सिमेन्ट उद्योग ढल्यो भने अन्य प्रतिस्पर्धीलाई फाइदा हुन्छ, तर ढल्दैनन्। किनभने, सिमेन्ट उद्योगहरू एकअर्कामा अन्तरआबद्धता हुुँदैन।
विगतमा जुत्ता उत्पादन क्षेत्रमा ‘माइलस्टोन’ बनेको शिखर सुज बन्द हुँदा जुत्ता उद्योग धर्मराएन, बरु अरू प्रतिस्पर्धी उद्योगलाई बजार विस्तार गर्न सजिलो भयो।
तर, कुनै एउटा बैंकमा संकट आयो भने बाँकी बैंकले ‘मेरो एउटा प्रतिस्पर्धी घट्यो, मेरो बजार बढ्यो’ भनेर कहिल्यै सोच्दैन। बरु किन यस्तो भयो? कतै मेरो बैंक पनि समस्यामा पर्छ कि भनेर आत्तिन्छ।
(क्यापिटल बिजनेस म्यागजिनबाट)