काठमाडौं। तिहारअघि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ सुरु नहुने भएको छ।
गत भदौदेखि नै स्मार्ट कार्ड सकिएपछि ठप्प रहेको लाइसेन्स छपाइ तत्काल सुरु नहुने यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले जानकारी दिए।
ठेक्का लागेको स्मार्ट कार्ड आइपुग्ने बित्तिकै छपाइ सुरु गरिने उनले बताए। विभागले २०७९ माघमा १२ लाखथान कार्डको ठेक्का लगाएको थियो।
जर्मन कम्पनी म्युहलबौयर आइडी सर्भिस जिएमबिएचले सम्झौताअनुसार तीन महिनामा कार्ड आपूर्ति गर्नुपर्नेमा आठ महिना पुग्दासम्म ठेकेदारले कार्ड उपलब्ध गराएको छैन।
विभागले कार्ड आपूर्ति गर्न ठेकेदार कम्पनीलाई एक महिनाअघि पत्राचार गरिसकेको पनेरुले जानकारी दिए। ‘कार्डका लागि एक महिनाअघि नै पत्राचार गरिसकेका छौं। पत्राचार गरेको ८५ दिनभित्र उनीहरूले कार्ड दिनुपर्छ। डेढ महिना भित्र कार्ड आइपुग्छ,’ उनले भने।
लाइसेन्स छपाइ नभए पनि सेवाग्राहीलाई समस्या नपरेको उनको दाबी छ। ‘सेवाग्राहीसँग रसिद भइहाल्छ। रसिद भएपछि नेपालभित्र केही समस्या पर्दैन। विदेश जानेका लागि हामीले दैनिक छपाइ गरिरहेका छौं,’ उनले भने।
हाल लाइसेन्स छपाइ रोकिँदा ‘ब्याकलग’ (छाप्न बाँकी) लाइसेन्स १२ लाखभन्दा धेरै पुगिसकेको छ। अहिले विभागमा भएको मास प्रिन्टरले दैनिक ४ हजारथान लाइसेन्समात्र छाप्न सक्छ। अवस्था सामान्य रहेको अवस्थामा पनि सम्पूर्ण ब्याकलग हट्न एक वर्षभन्दा धेरै लाग्ने अनुमान छ।
चौथोपटक प्रिन्टर ठेक्का निकालिँदै
यातायात व्यवस्था विभागले चौथोपटक लाइसेन्स छाप्ने प्रिन्टरको ठेक्का आह्वान गर्ने तयारी गरेको छ।
लाइसेन्स छपाइमा भएको ढिलासुस्ती हटाउन सरकारले यसअघि दुईपटक राष्ट्रिय र एकपटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। विभागले दुईपटक राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्दा एउटा पनि आवेदन परेको थिएन।
दुईपटक आह्वान गरिएको बोलपत्रमा कुनै पनि आवेदन नपरेपछि विभागले २०७९ चैत ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।
यसमा चार कम्पनीको आवेदन परे पनि सबै आवेदन अस्वीकृत भएका थिए। विभागले बनाएको स्पेसिफिकेसनअनुसार कुनै पनि कम्पनीको आवेदन नपरेको कारण चारवटै कम्पनी प्रविधिक प्रस्तावमा अस्वीकृत भएको विभागले जनाएको छ।
त्यसपछि विभाग महानिर्देशकविहीन भएपछि ठेक्का प्रक्रिया रोकिएको थियो। केही समयअघि विभाग महानिर्देशकमा उद्धवप्रसाद रिजाल आएपछि चौथोपटक बोलपत्र आह्वान गर्ने तयारी विभागको छ।
तिहारअघि नै प्रिन्टरका लागि बोलपत्र आह्वान गरिने पनेरुले बताए। ‘अघिल्ला बोलपत्र झैं योपटक नहोला भन्ने आशा छ। यसपटक कम्पनीहरूले आफ्ना कमजोरी सुधारेर ठेक्का हाल्छन् भन्ने विश्वास छ,’ उनले भने।