काठमाडौं। हिमालयन बैंकको विवाद फेरि अदालत पुगेको छ। बैंकको सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्र बैंकको नियमअनुसार ३० प्रतिशत पुर्याएरमात्र साधारणसभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो।
हिमालयन बैंकको कुल सेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशतमात्रै छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण सेयरधनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हुने गरी बैंकको पुँजी संरचना व्यवस्थित गरेरमात्रै साधारणसभा गर्न र सर्वसाधारणबाट सञ्चालक चयन गर्न भन्दै हालका सञ्चालकमध्येका एकले मुद्दा दायर गरेका हुन्।
मुद्दामा बैंकका केही निहित स्वार्थ भएका सञ्चालकले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंक सञ्चालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोपसमेत लगाइएको छ।
अघिल्ला वर्षहरूमा पनि यस्तो विवाद सञ्चालकबीच हुने गरेको थियो। यस्तो विवाद अदालतमा मुद्दासँगै राष्ट्र बैंकमा समेत छिनोफानोका लागि पुग्ने गरेको छ।
राष्ट्र बैंकले भने विदेशी बैंकको लगानी भएको भन्दै छुट दिइरहेको राष्ट्र बैंककै एक अधिकारीले बताए। ‘साधारणसभा गर्न नियमअनुसार बैंक तथा वित्तीय संस्थाको ३० प्रतिशत पब्लिकमा सेयर गएको हुनुपर्ने हो, तर हिमालयन बैंकको सन्दर्भमा भने ज्वाइन्ट भेन्चर बैंक भएका कारण यसमा छुट पाइरहेको छ। सञ्चालकबीचको विवाद समय÷समयमा राष्ट्र बैंकसम्म आइपुग्ने गरेको छ। अबको नियमनमा के हुन्छ, यसै भन्ने ठाउँ छैन,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो।
हिमालयन बैंकमा स्थापना कालदेखि नै निजी क्षेत्रबाट चार समूह संस्थापक सेयरधनी मनोज बहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालयसमशेर राणा र हबिब बैंक अफ पाकिस्तानका प्रतिनिधि सलिम अम्लानी छन्। यी चार संस्थापक सेयरधनीबाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण सेयरधनीसमेत छन्।
हिमालयनको ठूलो लगानीकर्तामा हबिब बैंकको २० प्रतिशत, कर्मचारी सञ्चय कोष १४.८७, एन टे«डिङ १२.७७, आभा इन्टरनेसनल ११.३८, छाया इन्टरनेसनल ८.९४, शशिकान्त अग्रवाल २.६५, अनुज खेतान ०.७७ र शर्मा एन्ड कम्पनीको ०.६६ प्रतिशत सेयर स्वामित्व छ।