काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदान सहयोग अन्तर्गत निर्माण हुने सवस्टेसनका लागि ४ देशका ७ कम्पनीले प्रस्ताव पेस गरेका छन्।
एमसिसीको नेपालस्थित सम्पर्क कार्यालय मिलेनिय च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) ले कात्तिक २ (अक्टोबर १९) मा खोलेको बोलपत्र खोलेको थियो।
बोलपत्रमा ३ वटा सवस्टेसन निर्माणका लागि आवेदन दिएको एमसिए नेपालले जनाएको छ। २०७९ चैत १० मा सबस्टेसन निर्माणका लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान भएको थियो।
प्राविधिक मूल्यांकनका लागि गरिएको ठेक्का आह्वानमा ७ कम्पनीले आवेदन दिएका हुन्। तर, प्राविधिक मूल्यांकनपछि मात्रै कुनै कम्पनी अयोग्य हुने वा ७ वटैले आर्थिक मूल्यांकनमा सहभागी हुन पाउने निश्चित हुन्छ।
एमसिए नेपालका अनुसार भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी, लिनसन इण्डिया प्रालि, टाटा इण्डिया प्रालि, साइमेन्स लिमिटेड र केइसी इन्टरनेसनल प्रालि रहेका छन्। त्यस्तै साउदी अरेबियाको ‘नेसनल कन्ट्रक्टिङ कम्पनी’ छ भने टर्की र अफगानिस्तानको जोइन्ट भेन्चर पाट्नर (जेभि) मा ‘बेतास एण्ड जेटएनसिसी’ गरी ७ कम्पनीले आवेदन दिएका हुन्।
पहिलो लटमा रातमाटे, दोस्रो लटमा न्यू बुटवल र तेस्रोमा न्यू दमौली सवस्टेसन निर्माण हुने छन्। ३ ठाउँमै ४ सय केभी क्षमताको सवस्टेसन निर्माण हुनेछ। ३ लटमा निर्माण गर्ने गरी आह्वान गरिएको ठेक्कामा एउटा कम्पनीले बढीमा २ वटा लट निर्माण गर्न पाउने एमसिए नेपालको भनाइ छ।
एमसिएका अनुसार एउटै कम्पनीलाई निर्माणको सबै जिम्मेवारी दिँदा सम्बन्धित कम्पनीले बीच समयमा काम गर्न नसक्दा वा अन्य समस्या हुँदा निर्माण कार्यमा असर पर्छ। सोही कारण सकेसम्म फरक–फरक कम्पनीलाई निर्माणको जिम्मेवारी दिने योजना बनाइएको हो।
यद्यपि एमसिए नेपालले आवेदन दिएका कम्पनीहरुको कहिलेसम्म प्राविधिक मुल्यांकन गरेर आर्थिक प्रस्ताव माग गर्ने? प्रष्ट पारेको छैन। एमसिए नेपालले प्राविधिकतर्फ ६० र आर्थिकतर्फ ४० प्रातिशत महत्व दिएर कम्पनीको मूल्यांकन गर्नेछ।
एमसिए नेपालले यस अघि प्रसारण लाइन निर्माणका लागि गरेको ठेक्का आह्वान रद्द गरेको छ। परियोजा कार्यालयको अनुमानभन्दा बढी लागत निर्माण कम्पनीले प्रस्ताव गरेपछि ठेक्का रद्द गरेर फेरि नयाँ ठेक्का आह्वान गर्न लागिएको एमसिए नेपालको भनाइ छ। तर, कहिलेसम्म पुनः ठेक्का आह्वान हुन्छ प्रष्ट पारिएको छैन।
यस्तै एमसिए नेपालले पूर्व–पश्चिम राजमार्गको १३० किलोमिटर सडक पनि बनाउने जनाएको छ। जसमध्य ४० किमीमा नयाँ प्रविधिको प्रयोग गर्ने र बाँकी ९० किमी सडक भने सामान्य मर्मत मात्रै गर्नेछ। तर, सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने समय पनि अझै निश्चित भएको छैन।
अमेरिकाको ५० करोड डलर अनुदान र नेपालको १९ करोड ७० लाख डलर गरी कुल ६९ करोड ७० लाख डलरमा एमसिसी परियोजना नेपालमा बन्नेछ। गत भदौ १३ बाट परियोजना कार्यान्वयनको चरणमा गइसकेको अर्थात् दिनगन्ति सुरु भएको छ। ५ वर्षे परियोजना २०८५ भदौ १४ सम्म निर्माण सम्पन्न नभए अमेरीकाले आफूले दिएको सहयोग रकम फिर्ता लाने सम्झौता गरेको छ।
तर, नेपालमा हालसम्म पूर्वतयारी कै काम पूरा नएकाले ५ वर्षमा निर्माण सम्पन्न हुन चुनौती बढ्दै गएको सरोकारवालाहरुको भनाइ छ।