काठमाडौं। पछिल्लो तीन महिनामा २ हजारभन्दा बढी विद्युतीय सवारी (इभी) आयात भएका छन्।
भन्सार विभागको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा २ हजार १ सय ३५ थान विद्युतीय कार, जिप र भ्यान आयात भएको छ।
विभागका अनुसार यी गाडी आयात गर्दा ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ बहिरिएको छ भने २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
गत वर्ष सोही अवधिमा २ अर्ब ५० लाख ६५ हजारबराबरको ७ सय ५ थान विद्युतीय कार, जिप र भ्यान आयात भएको थियो। जसबाट ६२ करोड २२ लाख ६ हजार राजस्व संकलन भएको थियो।
त्यसैगरी चालू आर्थिक वर्ष तीन महिनामा १९ अर्बभन्दा धेरैको सबै प्रकारका सवारीसाधन आयात भएको छ। विभागका अनुसार यो अवधिमा १९ अर्ब ९ करोड ४५ लाख ३९ हजारको सवारीसाधन आयात भएको छ भने १५ अर्ब ५९ करोड १३ लाख २४ हजार राजस्व संकलन भएको छ।
योपटक व्यापार भएकामध्ये ५० प्रतिशत इभी बिक्री भएको टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका एक अधिकारीले बताए।
‘पछिल्लो समय शोरुम आउनेमध्ये ८० देखि ९० प्रतिशतले इभीबारे बुझ्छन् र गाडी किन्नेमध्ये ५० प्रतिशतले इभी किन्छन्,’ उनले क्यापिटल नेपालसँग भने।
गत भदौमा सम्पन्न ‘नाडा अटो शो’ बाट इभीमा ग्राहकको अत्यधिक लगाव देखिएको उनले बताए।
योपटक अघिल्लो वर्षभन्दा सोधपुछ (इन्क्वायरी) र बिक्री (सेल्स) दुवै राम्रो भएको बिवाइडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकका नेसनल सेल्स हेड आसुतोस गौतमले बताए।
‘अहिले हामीले गाडीको माग धन्नै गाह्रो छ। दसैंअघि करिब ७ सय ५० गाडी डेलिभरी गयौं। तिहारसम्म अरू करिब ५ सय गाडी आउँदै छ,’ उनले भने।
पछिल्लो समय विश्वव्यापीरूपमै इभी माग बढेका कारण त्यसको प्रभाव नेपालमा पनि देखिएको नाडा अटोमोबाइल एसाोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले बताए।
‘इभी आयात बढ्नुको मूख्य कारण त ग्लोबल ट्रेन्ड नै हो। त्यस्तै, नेपालमा इभीका लागि सहज फाइनान्स सुविधा छ,’ थापाले भने, ‘अघिल्लो वर्ष थोरै गाडी आएका कारण पनि यो वर्ष धेरै आयात भएको हो।’
योपटकको इभी व्यापार व्यवसायीले सोचेभन्दा राम्रो भएको उनी बताउँछन्। ‘नाडा अटो शोमा भएको इभी बुकिङ संख्या नै हाम्रा लागि ‘अनएक्सपेक्टेड’ थियो,’ उनले भने, ‘त्यो बेला बुकिङ भएका गाडी त आउनै बाँकी छ।’