काठमाडौं। गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी, २०८० कात्तिक १४ देखि १८ सम्म आयोजना हुने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔं घरआँगन वरिपरि’ भन्ने मूलनारासाथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुर जावलाखेल खेल मैदानमामा हुनेछ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा हुने १६औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको सहआयोजकमा पुष्प विकास केन्द्र छ। तिहार नजिकिँदै गर्दा घर, आँगन सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन एवं गोदावरी फूलको व्यावसायीक प्रवर्द्धन गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हाे।
समयअनुकूल फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग गर्न यस किसिमका कार्यक्रम आयोजना गर्ने गरेको फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले बताए।
प्रदर्शनीमा व्यवसायिक स्टल ५५, प्रतियोगितात्मक २ र सूचनामूलक ५ गरी ६२ स्टल रहनेछन्। प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराइ पुरस्कृत गरिने कार्यक्रम छ।
यसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्मले उत्पादन गरेका गोदावरी फूलका ५ प्रजातीमा प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्म र गोदावरीको कट फ्लावर प्रजाती छन्।
त्यस्तै मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्न उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने छ। प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ।
नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन्। साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवासमेत प्रदर्शनीमा समावेश हुनेछन्।
विगतमा ४ दिन मेला हुने गरेकोमा यस वर्ष एक दिन थप गरी ५ दिन हुनेछ। गोदावरी फूल प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा आयोजकको छ।
मेलाका थप आकर्षणमा यो वर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नम्बरका आधारमा सोही दिन बेलुका लक्की ड्र गरी विजेता हुन सफल एक अवलोकनकर्तालाई गमलासहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गर्ने आयोजकले जनाएको छ।
मेला अवधिभरि अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीको शून्य मौज्दातमा खाता खोली ३ सय रुपैयाँ खातावालको नाममा कृषि विकास बैंकले जम्मा गरिदिने छ। साथै, खाता खोल्ने ग्राहकलाई मेलामा जुनसुकै फूल विरुवा खरिदमा १० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको छ।
फ्यानका अनुसार नेपालमा हाल ४८ जिल्लामा लगभग २ सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ। १ हजार १ सय १६ भन्दा बढी (नर्सरी–५०५, कट फ्लावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी– १३७, पुष्प थोक व्यवसायी–४, इनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक–३६५) पुष्प व्यवसायमा संलग्न छन्।
पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजारभन्दा बढीले रोजगारी पाएका छन्। आर्थिक वर्ष २०७५/७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रहेकोमा २०७६/७७ र २०७७/७८ मा वर्षभरि कोभिड–१९ महामारीका कारण भएको निषेधाज्ञा र लकडाउनले व्यावसायिक कारोबारमा कमी आई १ अर्ब ६३ करोडमात्र भएको थियो।
यसपछि २०७८/८९ मा २ अर्ब ३० करोडहाराहारीमा कारोबार भएको थियो भने २०७९/८० मा ३ अर्ब ७ करोडभन्दा बढीको कारोबार भएको थियो।