काठमाडौं। चालु आर्थिक वर्ष तेस्रो महिनामा आएर आयात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो।
असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ। गत वर्ष तीन महिनामा ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो।
चालु आर्थिक वर्ष साउनमा आयात १.५६ प्रतिशत र भदौसम्म ५.०६ प्रतिशतले आयात घटेको थियो। आयातमा संकुचनले राजस्व समेत घट्न पुगेको थियो।
आयात केही बढेका कारण सरकारले तीन महिनामा १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ।
असोजमा मात्र करिब १ खर्ब ४८ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ। आयात केही बढे पनि निर्यात भने घटेको छ। जसका कारण व्यापार घाटा बढेको छ। पहिलो ३ महिनामा २.१५ प्रतिशत व्यापार घाटा भएको विभागको तथ्यांक छ।
तीन महिनाको निर्यात ४० अर्ब ८७ करोड रुपैयाँमा सीमित छ।
आयातमा डिजेलको हिस्सा सबैभन्दा धेरै छ। तीन महिनामा २९ अर्ब ९२ करोड रुपैयाँको डिजेल आयात भएको छ। यस्तै पेट्रोलको आयातमा १७ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ। खाना पकाउने एलपी ग्यास ११ अर्ब ६२ करोड रुपैयाँको आयात गरिएको छ।
यस्तै तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँको स्मार्टफोन आयात गरिएको छ। यो अवधिमा ६ लाख ४२ हजार ४१५ वटा स्मार्टफोन आयात गरिएको विभागले जनाएको छ। सुन आयातमा ७ अर्ब ३५ करोड रुपैयाँ बाहिरिएको छ।