झापा। झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैंमा ६९ लाख ६० हजार मूल्यबराबरको खसीबोका बिक्री गरेको छ।
संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए।
किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेरमात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ। उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो। यसपालि पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडौंसम्म लगेर बिक्री गरिएको थियो।
संस्थाको कृषि क्षेत्र प्रमुख डा। कमलेश्वर भाटले यसपालि दसैंमा औसत ३० किलोका ४ सय खसीबोका बिक्री भएको जानकारी दिए। ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए।
झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका बिक्री गरिएका थिए। खसीबोका जिउँदै तौलिएर प्रतिकिलो ५ सय ८० रुपैयाँमा बिक्री गरिएको उनले बताए।
‘हामी किसानलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बिमा प्रदान गरिदिन्छौं,’ उनले भने, ‘किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्ष सघाउँछौं। उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौं।’
संस्थाले ६ जिल्लामा ४ सयको संख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरू बेला किन्ने व्यवस्था मिलाइदिएको उनले बताए।
बाख्रापालक किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको समस्या नभएको उनको भनाइ छ।
बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग गर्न संस्थाले पशु चिकित्सकसहित १० कर्मचारी परिचालन गर्दै आएको छ। १ लाख ५७ हजार ९ सय २० सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार १ सय ३० ऋणी छन्। संस्थाबाट कृषि कर्जा लिनेको संख्यासमेत उल्लेख्य छ।